‘भ्वाइस’को किचलो : राम लिम्बुलाई गरियो पाखा, काठमाडौँमा टिक्नै गाह्रो !

शनिबार, २५ माघ २०७६, ०१ : २३ शुक्रवार
‘भ्वाइस’को किचलो : राम लिम्बुलाई गरियो पाखा, काठमाडौँमा टिक्नै गाह्रो !

भर्खरै सकिएको ‘भ्वाइस अफ नेपाल सिजन २’ मा लफडा सुरु भएको छ। फिनालेबाट छानिएकाहरु टप चारलाई विदेश यात्रा गराउने घोषणा गरिए पनि सो कार्यान्वयन नहुँदा विवाद उत्पन्न भएको छ।

सिजन २ का विजेता राम लिम्बुका अलवा आरिफ राउफ, सनीश श्रेष्ठ कार्यक्रमका लागि युरोप टुरमा जाने तयारीमा थिए। टप ४ मध्येका विकास लिम्बुलाई युरोप टुरमा नपठाएपछि विवाद चर्किएको हो।

उनलाई आयोजकले युरोप टुरमा नलगेपछि विकास लिम्बुले भ्वाइससँग असन्तुष्टि पोख्दै आएका थिए। उनले आफूलाई भ्वाइसबाट विदेश यात्राको टुरमा एकाएक हटाइएपछि चित्त दुखेको उनको भनाइ छ।

हालै कोरियाबाट नेपाल फर्किएका विकास पूर्वको कार्यक्रममा व्यस्त छन्। नेपालमा उनको यात्रा नरोकिए पनि विदेश कन्सर्ट कटौती गरिएको छ। आयोजकले विदेशको कन्सर्टमा विकासलाई कटौती गरेपछि विवाद छताछुल्ल भएको हो।

भ्वाइसका प्रस्तुतकर्तामध्ये एक सुशील नेपालले विदेश कसलाई लैजाने भन्ने कुरा आयोजकको विवेकमा भर पर्ने हुनाले यसमा भ्वाइसको कुनै हात नहुने बताए।

‘भ्वाइसका प्रतिस्पर्धीमध्ये जस–जसलाई आयोजकहरुले बोलाउनुहुन्छ, उहाँहरुलाई भ्वाइसले पठाउने हो,’ सुशीलले स्पष्टीकरण दिँदै भने, ‘यसमा हाम्रो कुनै पनि हात हुँदैन। यस पटक विकासलाई आयोजकले निमन्त्रणा नगरेको हुनाले उनी छुटेका हुन्। देशभित्र त हामीले उनलाई कुनै पनि कार्यक्रममा छुटाएका छैनौँ।’

भ्वाइसका विजेता राम लिम्बु पनि कसरी विकास वर्ल्ड टुरमा परेनन् भनेर छक्क परेका छन्। उनले भने, ‘अमेरिका, बेलायत, क्यानडा र इजरायलतजस्ता देशमा टुर छ। यसमा भ्वाइसका चारै जना जानुपर्ने हो तर विकास कसरी परेनन्, मलाई अचम्म लागेको छ।’ उनले यस विषयमा छानविनको माग गरेका छन्।

यसरी कुनै एक प्रतियोगीलाई कन्सर्टमा नलगिनु भेदभावपूर्ण व्यवहार भएको गायक राजेश पायल राईले प्रतिक्रिया दिएका छन्। ‘प्रतिभाशाली गायकलाई यसरी बन्धक बनाउन पाइँदैन,’ उनले भनेका छन्, ‘सुशील तिमी मेरो साथी हौ, अझ संगीतलाई माया र श्रद्धा गर्ने कलाप्रेमी हौ तर विकास भाइको कुराले मन कटक्क भयो। ऊसँगको सम्झौता अब उप्रान्त च्यातिदेऊ। यसरी नयाँलाई या कुनै पनि कलाकारलाई मनोमौजी बन्धक बनाउनु अपराध हो।’

कसरी निस्कियो विवाद
भ्वाइस अफ नेपालले आफ्ना प्रतिस्पर्धीहरुसँग एकै चोटी संवाद गर्न सजिलो होस् भनेर फेसबुक म्यासेन्जरमा ग्रुप बनाएको थियो। यसको डिजाइनर सुशील नेपाल नै हुन् र उनले नै सबैलाई ग्रुपमा ज्वाइन गराएका थिए। कसले के काम गर्ने, कस्तो गर्ने सबै किसिमका म्यासेज पठाइन्थ्यो र त्यसले भ्वाइसका सदस्यहरुलाई सजिलो पनि भएको थियो।

पछिल्लो समय युरोप जाने तयारी भइरहँदा विकासलाई भ्वाइसको ग्रुपबाट एक्कासि आउट गरियो। फेसबुक ग्रुपबाट एक्कासि आउट हुँदा दुःख लागेको बताएका थिए।

विकासले भने, ‘वल्र्ड टुरको विषयमा आफूलाई अलिक दुःख लागेको हो। युकेको पोस्टरमा मेरो पनि नाम र फोटो थियो। फेसबुकको ग्रुप च्याटबाट मेरो नाम हटाइएपछि आफूले त्यस्तो कुनै ख्याल गरिनँ किनभने टप चारमा परेको मान्छे विदेश जानेमा ढुक्क छु।’

त्यही दिन हिमायलय टेलिभिजनमा एक अन्तरवार्ताको क्रममा द भ्वाइसका सदस्यभन्दा बाहिरबाट नै युरोप टुरमा आफू नपरेको जानकारी पाउँदा विकास छाँगाबाट खसेझैँ भएका थिए।

लगत्तै उनले भ्वाइस अफ नेपालका सुशीललाई फोन गरेर युरोप यात्राको विषयमा के भएको हो भनी सोधे। सुशीलले ‘तिमीलाई  युकेका लागि डिमान्ड नै आएन’ भनी जानकारी दिएका थिए। एक दिनअघिसम्म वल्र्ड टुरमा छु भनेर मख्ख परेका विकास अर्को दिन म्याजेन्जरबाट मात्र हटाइएनन्, टूरबाटै हटाइएको चाल पाए।

प्रेस मिटबाट पनि आउट
केही समय अगाडि भ्वाइसका केही प्रतिस्पर्धी राखेर गरिएको प्रेस मिटबाट विकासलाई पनि आउट गरिएको थियो। जस–जसलाई आयोजकले युके र युरोप लाने भनेको छ उनीहरुलाई मात्रै बोलाइएको जानकारी सुशीलले दिएका थिए।

सुशीलले भने भ्वाइसले कार्यक्रम आयोजना नगरेको र आयोजकले खोजेका टप थ्रीलाई लैजान लागेको बताए। उनले भने, ‘हामीले कुनै कार्यक्रमको आयोजना गरेका छैनौँ। गरेको भए विकासलाई छुटाउने कुरै हुँदैनथ्यो। अब अरुले गर्ने कार्यक्रममा हामीले थोपर्ने कुरै भएन नि !’

युकेमा आफ्नो राम्रै डिमान्ड रहेको विकास बताउँछन्। कतिपय प्रशंसकले भ्वाइसले नबोलाए, स्वतन्त्र रुपमा बोलाउन आफूहरु तयार रहेको बताइरहेका छन्। यस्तो अवस्थामा आयोजकले विकासको माग छैन भनेर भन्नु गलत रहेको उनको भनाइ छ। यस्तो व्यवहारले आफ्नो म्युजिकल करियर नै धराशायी बनाउन सक्ने उनको गुनासो छ।

सम्झौताले अड्कायो
‘भ्वाइस’सँगको सम्झौताले कतिपय ठाउँमा बोलाए पनि जान नपाएको बताउँदै विकासले सम्झौता सकिने दिन कुरिरहेको बताए। उनले भने, ‘सम्झौताका कारण बाँधिएको छु। उहाँहरुले लैजान्न भन्न पाउनु हुन्छ। तर माग हुँदाहुँदै पनि जान नपाउँदा भने खिन्न भएको छु।’

अर्को पीडा आर्थिक
भ्वाइसले टप फोरलाई एक वर्षसम्म आफूले चाहेको बेला उपस्थित हुनुपर्ने सम्झौताका कारण सो अवधिभर काठमाडौँमा रहनुपर्ने बाध्यता छ। सम्झौता मात्र रहेको तर सुविधा भने केही नरहेकाले काठमाडौँमा टिक्न गाह्रो भएको उनको भनाइ  छ।

‘अन्य गजल बारमा गाएर टिक्न सकिन्थ्यो होला तर सम्झौताका कारण गीत गाउन पनि पाइँदैन,’ उनले गुनासो गरे, ‘त्यहाँबाट मलाई दुईचार पैसा आउँथ्यो होला। मेरो खानलाउन समस्या पर्थेन। भएको कार्यक्रममा पनि यसरी सहभागिता रद्द गरेपछि मलाई त टिक्नै गाह्रो भयो।’

Leave A Comment