डर कोरोनाको, संक्रमण इन्फ्लुएन्जाको

मङ्गलबार, २८ माघ २०७६, ०२ : ०० उपेन्द्र खड्का
डर कोरोनाको, संक्रमण इन्फ्लुएन्जाको

मंगलबार बिहान काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा बिरामीको चाप बाक्लै थियो। काठमाडौंको नारायनटारकी पवित्रा नेपाल १७ वर्षका छोरा अनीशको स्वास्थ्य जाँच गराउन लाइनमा बसेकी थिइन्। चार दिनअघिदेखि रुघाखोकी र ज्वरोले सताएपछि  छोरा अनीशलाई लिएर उनी टेकु अस्पताल पुगेकी हुन्। पवित्राले भनिन्, ‘नारायनटारमै दुईपटक जँचाएर छोरालाई औषधि खुवाउँदा पनि ठिक नभएपछि यहाँ आएका हौं।’

सामान्य रुघाखोकी लाग्दा पनि कतै कोरोना पो भयो कि ! भन्ने भयले आजकाल टेकु अस्पताल पुग्नेको संख्या बाक्लै छ। कोरोनाको यस्तो भयलाई चिकित्सकले ‘कोरोना फोबिया’को संकेत दिएका छन्। एकातर्फ कोरोना भाइरसको हल्लाको डर अर्कोतर्फ मौसमी इन्फ्लुएन्जाको मौसम पनि सुरु भएको छ।

त्यसैगरी गत बुधबार काठमाडौंको एउटा गुम्बामा बस्ने दस वर्षकी बालिका रुघा, खोकी, ज्वरोको लक्षणको समस्या भएर गुम्बाकै एक महिलाले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य जाँचका लागि लगेकी थिइन्। ती बालिकाको स्वास्थ्य परीक्षण गर्दा ‘इन्फ्लुएन्जा ए/पिडिएम ०९’को संक्रमण देखियो। ती बालिका उपचारपछि ठिक भई अस्पतालमा भर्ना गर्नुपरेन र खुसी भइन्।

अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार टेकु अस्पताल पुगेकी ती बालिका बस्ने गुम्बामा चीनका डाक्टरको आवत–जावत भइरहन्थ्यो। केही समय अघि पनि चिनियाँ डाक्टर गुम्बामा आएका थिए। एक्कासि गुम्बामा बस्ने बालबालिकामा रुघाखोकी लागेपछि कतै कोरोना भाइरसको पो संक्रमण भयो कि भन्ने शंका लागेर बालिकाको स्वास्थ्य जाँचका लागि टेकु लगियो। ‘कोरोनाको शंका लागेर अस्पताल आएकी बालिकामा इन्फ्लुएन्जा देखियो,’ डा. पुनले सुनाए, ‘उपचारपछि ठिक भयो र उनीहरु तनावमुक्त भए।’ सामान्यतः प्रत्येक मौसमको परिवर्तनसँगै ‘इन्फ्लुएन्जा ए÷पिडिएम ०९’को संक्रमण देखिने चिकित्सक बताउँछन्। यो मौसमको परिवर्तनसँगै देखिने इन्फ्लुएन्जा (फ्लु) हो। डा. पुनले टेकुअस्पतालमा चिकित्सकसमेत ‘कोरोना फोबिया’को संन्त्रास लिएर पुग्ने गरेको सुनाए। उनले भने, ‘एकजना बालरोग विशेषज्ञसमेत केही दिनअघि आफूलाई कोरोना पो भयो कि भन्ने डरले परामर्श लिन आएका थिए।’

मौसमी परिवर्तनमा आक्रामक
‘नेपालमा जाडो सकिएर गर्मी सुरु हुने समयमा र मनसुनको मध्यसमयमा मौसमी फ्लु बढी देखिन्छ,’ डा. पुनले भने।

त्यसो त टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे पनि अस्पतालमा गर्मी मौसम सुरु भएसँगै इन्फ्लुएन्जा संक्रमित बिरामीको संख्या बढ्ने गरेको बताउँछन्। निर्देशक डा. पाण्डेले भने, ‘अहिले अस्पतालमा रुघाखोकीजस्ता लक्षण लिएर आउने बिरामीको चाप बढ्न थालेको छ।’ टेकु अस्पतालमा अहिले दैनिक करिब दुई दर्जन बिरामी रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर पुग्ने गरेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक हेर्दा डा. पुन र पाण्डेको तर्क पुष्टि हुन्छ। तथ्यांकअनुसार मार्च (फागुन–चैत) र अगस्ट(साउन–भदौ) महिनामा इन्फ्लुएन्जा जाँच गराउनेको संख्या उच्च बिन्दुमा पुग्छ।

प्रयोगशालाको पाँच वर्षको तथ्यांकअनुसार जनवरीदेखि अप्रिल (माघ महिनाको अन्त्यदेखि वैशाख) महिनासम्म इन्फ्लुएन्जाको जाँच गराउनेको चाप बढी हुन्छ। नेपालमा यो मौसम जाडो सकिएर गर्मी हुने मौसम हो। त्यसैगरी जुलाईदेखि सेप्टेम्बर (असारदेखि भदौ) सम्ममा पनि इन्फ्लुएन्जाको संक्रमण बढ्ने गरेको देखिन्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको २०१४ देखि २०१८ सम्मको रिपोर्टअनुसार इन्फ्लुएन्जाको परीक्षण गराउन पुगेकामध्ये करिब २५ देखि ४० प्रतिशतमा इन्फ्लुएन्जाको संक्रमण देखिने गरेको छ। ०१७ र ०१८ मा भने यो संख्या केही कम देखिन्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको  २०२० को जनवरी एकदेखि २६ सम्मको रिपोर्ट हेर्ने हो भने एक सय ४८ इन्फ्लुएन्जा परीक्षण गरिएका व्यक्तिमध्ये ४३ जनामा इन्फ्लुएन्जाको संक्रमण देखियो। बाँकी एक सय पाँचजनामा देखिएन। यसरी हेर्दा परीक्षण गरिएकामध्ये जनवरी २६ सम्ममा ६४ प्रतिशतमा इन्फ्लुएन्जा (पोजेटिभ) भएको देखिन्छ। अमेरिकामा गएको चार महिनामा करिब दस हजार व्यक्तिको इन्फ्लुएन्जाका कारण मृत्यु भएको तथ्यांक पाइन्छ।

के हो इन्फ्लुएन्जा ?
एक प्रकारको भाइरस हो, ‘इन्फ्लुएन्जा’। इन्फ्लुएन्जालाई ‘फ्लु’का नामले समेत चिनिन्छ। ‘ए’,‘बी’,‘सी’ र ‘डी’ गरी चार किसिमका इन्फ्लुएन्जा हुन्छन्। ‘ए’,‘बी’,‘सी’ इन्फ्लुएन्जाले व्यक्तिमा संक्रमण गर्छ। कडा किसिमका ‘ए’ र ‘बी’ इन्फ्लुएन्जाको जोखिम प्रत्येक मौसमको परिवर्तनमा हुन्छ। ‘बी’को तुलनामा ‘ए’ विश्वव्यापीरुपमा फैलिने जोखिम हुने चिकित्सक बताउँछन्।  ‘सी’ भने कडा रुपमा देखिँदैन। इन्फ्लुएन्जा ‘ए’ भाइरसको स्वरुप छिटो परिवर्तन हुने भएकाले व्यक्तिको मृत्युको जोखिम बढी हुन्छ।

नेपलमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतका ‘एच वान एन वान पीडिएम—०९’ र ‘एच थ्रि एन टु’ भाइरस देखिँदै आएका छन्। ‘एच वान एन वान पीडिएम—०९’ लाई स्वाइन फ्लु र ‘एच थ्रि एन टु’ लाई हङकङ फ्लुका नामले चिनिन्छ। त्यसैगरी इन्फ्लुएन्जा ‘एच फाइफ एन वान’को जोखिम पनि त्यत्तिकै हुन्छ।

जोखिम
रुघाखोकी त हो नि भनेर हलचेक्र्याइँ गर्नु हुन्न। मौसमी फ्लुको संक्रमण भएको खण्डमा श्वासप्रश्वासमा जटिलता निम्तिएर व्यक्तिको मृत्युसमेत हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। निमोनियाको जोखिम त्यत्तिकै हुन्छ।

रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा संक्रमणको जोखिम बढी हुने चिकित्सक बताउँछन्। त्यसैगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिका र पाका उमेरका व्यक्तिमा इन्फ्लुएन्जाले छिटो आक्रमण गर्छ। डा. पुनले भने, ‘बालबालिका र ६० वर्ष उमेर नाघेका व्यक्ति बढी सचेत हुनुपर्छ।’

विभिन्न किसिमका दीर्घ रोगको समस्या भएका व्यक्तिमा इन्फ्लुएन्जाको संक्रमण छिटो हुन सक्छ। त्यसैगरी छातीको रोगसँग सम्बन्धित दम, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा इन्फ्लुएन्जाको संक्रमणको जोखिम बढी हुन्छ।

फ्लुको संक्रमण भएका बिरामीमध्ये करिब दुई प्रतिशत व्यक्तिको मृत्यु हुने चिकित्सक बताउँछन्। फ्लुको संक्रमणका कारण शरीरका विभिन्न अंगले काम गर्न नसक्दा व्यक्तिको ज्यान जान सक्नेतर्फ चिकित्सक सजग गराउँछन्।

लक्षण र परीक्षण
मौसमी ‘इन्फ्लुएन्जा’(फ्लु) र कोरोनाको लक्षण करिब उस्तै हुने चिकित्सक बताउँछन्। इन्फ्लुएन्जा र कोरोनाका लक्षण मिल्दाजुल्दा भएकाले लक्षणका आधारमा समस्या पहिचान गर्न मुस्किल पर्ने चिकित्सक बताउँछन्। तर स्वास्थ्य परीक्षणपछि एकिन गर्न सकिन्छ।

इन्फ्लुएन्जाको संक्रमण भएको अवस्थामा रुघाखोकी लाग्ने, ज्वरो आउने, छाती दुख्ने घाँटी दुख्नेजस्ता लक्षण देखिन्छन्। कतिपय संक्रमित व्यक्तिमा पातलो दिसा हुन सक्ने डा. पुनले बताए।

इन्फ्लुएन्जा भएको अवस्थामा शरीरका मांशपेशी तथा हाडजोर्नी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी, ख्याप्प बस्ने, आँखाका गेडी दुख्नेजस्ता लक्षण देखिने चिकित्सक बताउँछन्। पशुपक्षीबाट यस्तो भाइरस संक्रमणको जोखिम बढी हुन्छ।

कोरोना  वा फ्लुका लक्षण छुट्याउने केही आधार भने रहेको चिकित्सक बताउँछन्। व्यक्तिमा फ्लुको संक्रमण भएको अवस्थामा सामान्यतः सुरुवाती लक्षणको रुपमा रुघा लाग्छ। संक्रमण कडा बन्दै गएको अवस्थामा श्वासप्रश्वासमा समस्या बढ्दै जाने डा. पुन बताउँछन्। तर कोरोना भाइरसको संक्रमण भएको अवस्थामा सुरुमै श्वासप्रश्वासमा समस्या आउने, उच्च ज्वरो आउने त्यसपछि रुघा–खोकी लाग्नसक्ने उनी बताउँछन्।

नेपालमा सबै (११) किसिमका इन्फ्लुएन्जाको परीक्षण हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए। सूचना अधिकारी गुप्ताले भने, ‘इन्फ्लुएन्जाको परीक्षण निःशुल्क गरिन्छ।’ इन्फ्लुएन्जाको लक्षण देखिए चिकित्सकको सिफारिसमा बिरामीको ल्याब टेस्ट गर्न पाइन्छ। इन्फ्लुएन्जाको जाँच गर्ने किट पर्याप्त भएको गुप्ता बताउँछन्।

उपचार र सावधानी
मौसमी ‘इन्फ्लुएन्जा’(फ्लु) को संक्रमण भएको अवस्थामा लक्षणको आधारमा उपचार विधि अपनाइन्छ। विशेष औषधि हुँदैन। संक्रमण कडा भए ‘ओसेलटेमिभिर’ औषधि प्रयोग गरिने डा. पुनले बताए। यो ‘एन्टिभाइरल’ औषधि हो। यो एन्टि भाइरल औषधिको प्रयोगले भाइरस बढ्न नदिने चिकित्सक बताउँछन्। सबै भाइरलमा एन्टी भाइरल औषधि चलाउनु नै पर्छ भन्ने नहुने चिकित्सक बताउँछन्। कडा किसिमको इन्फ्लुएन्जामा भने औषधि चलाउनुपर्ने हुन सक्छ।

सामान्यतः यस्ता मौसमी इन्फ्लुएन्जाको संक्रमण भएको एक हप्तादेखि दस दिनमा ठिक हुन्छ। रुघाखोकी लागेको अवस्थामा पनि हेलचेक्र्याइँ गर्नु हुन्न। दस दिनसम्म पनि रुघाखोकी तथा ज्वरो कम नभए भाइरसको संक्रमण फैलिएर व्यक्तिको ज्यानै जाने जोखिम हुन्छ। इन्फ्लुएन्जाबाट बच्न पटक–पटक नाकमा हात लगाउनुहुन्न। भीडभाडमा बस्नु हुन्न। माक्स लगाउनुपर्छ।

चिकित्सकका अनुसार इन्फ्लुएन्जाबाट बच्न इन्फ्लुएन्जा हुनुपूर्व नै भ्याक्सिन लगाउन सकिन्छ। भ्याक्सिनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले इन्फ्लुएन्जाले सजिलै आक्रमण गर्न सक्दैन। भ्याक्सिनको प्रयोगले सतप्रतिशत इन्फ्लुएन्जाबाट नबचाउने भए पनि करिब ६० प्रतिशतसम्म बच्न सघाउने चिकित्सक बताउँछन्। डा. पुनले भने, ‘वर्षमा एक पटक फ्लु विरुद्धको खोप लगाउन सकिन्छ।’

इन्फ्लुएन्जाबाट बच्नका लागि राम्रोसँग हात धोएर खानापान गर्नुपर्छ। मासु ६० डिग्रीभन्दा बढी तापक्रममा पकाएर खानुपर्छ। यस्तो समस्या भएको अवस्थामा प्रशस्त मात्रामा झोलिलो तथा पोषिलो खानेकुरा खान डा. पुनको सुझाव छ। सरसफाइमा विशेष ध्यान दिनुपर्छ। इन्फ्लुएन्जाको लक्षण देखिए तुरुन्तै चिकित्सकको परामर्शमा जानुपर्छ।

Leave A Comment