श्रीमतीलाई अंश दिनैपर्छ र ?

मङ्गलबार, २८ माघ २०७६, ०२ : २३ स्वीकृति बराल
श्रीमतीलाई अंश दिनैपर्छ र ?

श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने आधारहरु के–के हुन् ? के श्रीमतीलाई अंश दिनु अनिवार्य हो ?

सम्बन्धविच्छेदको अर्थ कुनै पुरुष र महिलाबीच भएको वैवाहिक सम्बन्ध कायम नरहनु वा टुट्नु हो। पति र पत्नीबीच आपसी प्रेम र सद्भाव नभए वा पतिपत्नीले एक अर्कालाई सहयोग र संरक्षण नगरे वा पतिपत्नीले एक अर्कालाई इज्जत र क्षमताअनुसार खानलगाउन तथा स्वास्थ्योपचारको व्यवस्था नगरे वा अन्य कुनै किसिमको मनमुटाव भए पति/पत्नीलाई एक अर्काबाट छुट्कारा दिलाउनका लागि सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था मुलुकी देवानी (संहिता) ऐन २०७४ मा गरिएको छ।

संहिताको परिच्छेद ३ को दफा ९३ मा पति र पत्नी दुवैले चाहेमा जहिले पनि सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान रहेको छ भने दफा ९४ मा पतिले पत्नीको मन्जुरीविना पनि कुन–कुन सर्तमा सम्बन्धविच्छेद गर्न पाउने भन्ने व्यवस्था गरिएको छ। पत्नीले कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको  अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा वा पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरेमा वा पत्नीले पतिलाई अंगभंग हुने गरी वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जालप्रपञ्च गरेमा पतिले पत्नीको मञ्जुरी विना नै सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था मुलुकी देवानी (संहिता) ऐन, २०७४ मा रहेको छ। त्यस्तै परपुरुषसँग पत्नीले यौन सम्बन्ध राखेको ठहरेमा पनिपत्नीको मन्जुरीविना नै सम्बन्धविच्छेद गर्ने प्रावधान रहेको छ। यसरी सम्बन्धविच्छेद हुने अवस्थामा पत्नीलाई अंश दिन वा मानाचामल भर्न अर्थात् कुनै पनि खर्च भराउन पति बाध्य नहुने व्यवस्था दफा ९९ को उपदफा ६ ले गरेको छ। सम्बन्ध विच्छेदको मुद्दामा पहिलो प्राथमिकता मेलमिलापलाई दिइएको छ। यस्तो मुद्दामा निवेदन परे पछि अदालतले सकेसम्म दुवै पक्षलाई सम्झाइबुझाइ मेलमिलाप गराउनुपर्ने प्रावधान दफा ९७ मा गरिएको छ। मेलमिलाप हुनै नसक्ने अवस्था रहेमा मात्र अदालतले १ वर्षपछि  सम्बन्धविच्छेद गरिदिनु पर्ने व्यवस्था दफा ९८ ले स्पष्ट गरेको छ।

पति र पत्नीबीच सम्बन्धविच्छेद गर्दा सगोलको सम्पत्ति पतिपत्नी दुवैको नाममा वा पति÷पत्नीमध्ये कुनै एकको नाममा रहेछ भने निजहरुबीच त्यस्तो सम्पत्तिको अंशबण्डा गर्नुपर्छ। यदि पतिले अंश लिइनसकेको अवस्था रहेछ भने अदालतले नै दुवै पक्षबाट अंशियार खुलाउन लगाई पतिपत्नीको अंश छुट्याई अंशबण्डा गरिदिनु पर्ने व्यवस्था यस ऐनमा स्पष्ट रुपमा व्यवस्था गरिएको छ तर अंशबण्डा नहुँदै पत्नीले अर्को विवाह गरेमा अंश नपाउने व्यवस्था दफा ९९ को उपदफा ५ को प्रतिवन्धात्मक वाक्यले गरेको छ। यति मात्र हैन पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि पतिले खर्च दिनु नपर्ने व्यवस्था मुलुकी देवानी (संहिता) ऐन २०७४ ले गरेको छ। सम्बन्धविच्छेद गरेकी महिलाले पाएको अंशबापतको सम्पत्ति निजको मृत्यु भए सन्तान भए सन्तानले र सन्तान नभए पूर्व पतिले नै पाउने व्यवस्था दफा १०३ ले गरेको छ।

Leave A Comment