प्रेमको अनुराग

शुक्रबार, ०२ फागुन २०७६, ११ : ५७ गिरिराज बाँस्कोटा
प्रेमको अनुराग

जब आँखाले चुम्बन गर्छ लालित्य साँझलाई
सम्झना यसरी भड्किन्छ कि
मानौँ,
आगोले प्रेम गर्छ
हिमालले  अँगालो हाल्छ
नदीले आँसु बगाउँछ
रुमानी सम्झना भनौँ या तस्बिर हेरेर कोरेको यात्रा चित्र।

बेसी सम्झनाको सवाल प्रेमको बाटोमा दौडिएको देखिन्छ। मौनता देखियोस् तर मुस्कानको राज होस्, चञ्चलाता रहोस् तर गम्भिरता कायम रहोस, यही बीचबाट दुई ढुकढुकीबीच संवाद स्थापित होस्। यहीँनेर प्रेमको मिठो अनुराग प्राप्त हुन्छ। दुई हृदयको कोमल स्पर्स जहाँ भावनाको राज हुन्छ। प्रेमिलताको गहिराइ मनको अन्तरस्कन्दबाट प्राप्त हुन्छ, जो अग्र्यानिक हुन्छ, स्वछन्द हुन्छ।

अनुभूतिको हदमा भावनाको प्रिय स्वकल्पना र प्राप्तिभन्दा पनि त्यागको चेतनशील गहिराइ जो क्षितिजभन्दा फराकिलो बन्न सकोस्। प्रेममा न प्राप्तिको कुरा हुन्छ ? न मूल्यको हिसाब नै। हुन्छ त केवल अनुभूति। सस्तो चाहना स्वार्थ बन्छ जसले गर्दा प्रेमको सत्यलाई कमजोर बनाउँछ। प्रेम मनबाट निस्कन्छ, भावनमा जोडिन्छ, पवित्र हुन्छ र स्वतन्त्र पनि। प्रेमले कुनै बन्दन रुचाउँदैन। तर विवाह दिमाखबाट हुन्छ, जो निर्देशनात्मक हुन्छ। जबर्जस्त हुन्छ। सम्झौतावादी हुन्छ। प्रेममा विवाह जरुरी छैन। प्रेम छ त सबै थोक छ, प्रेमविना कायावत प्रयास, सम्बन्ध केवल भोग विलासिताका हुन्छन्। मनबाट जे निस्कन्छ त्यो जोगाइ राख्न सक्यो भने सच्चा प्रेम बन्छ। जब–जब मिसावट हुन थाल्छ तब कुरो बिग्रँदै जान्छ, स्वार्थ हावि हुँदै जान्छ।

मनको भावलाई जस्ताको तस्तै ओकलौँ साँचो प्रेम भएर स्थापित हुन्छ। प्रेमले कुनै बन्धन स्विकार्दैन र कुनै सिमानाको हद हुँदैन। कतिपयले यी कुरा आदर्श मान्छ, वास्तवमा प्रेम आफैं आदर्श हो, भलाद्मी रुपको प्रस्तुति। कहिलेकाहीँ भ्रमले सत्यलाई थिचिदिन्छ। भ्रममा रमाउन निक्कै मज्जा हुन्छ। तर सत्य त सत्य नै हो। प्रेमलाई सत्यको समिपमा स्विकार्नु जरुरी छ।

प्रेमको नाममा चेहरा, सुख अन्य विलासिताले खोजियो भने असत्य हावि हुन्छ। त्यो केवल स्वार्थ न हो। प्रेमले खुसी पक्कै सञ्चार गर्छ। प्रेम भावनाको तह हो, परिभाषा गर्न कठिन। केवल भोगाइको तहले निर्धारण गरेको छ। भावनाको कञ्चनता प्रेमको आभाषको प्रिय चित्र हो। प्रेमलाई अकासझैँ अनन्त, क्षिजितझैँ फराकिलो, पहाडझैँ अटल, हिमालझैँ कञ्चन मान्न पर्छ। सम्झनाको प्रिय, अप्रिय शृंखला, आफ्नो पनको चिटिक्क परेको आभाष तन्द्रादेखि सपनीहरुका प्रिय भएर चलखेल गर्छन्। जीवन हुनुको अर्थले, जीवन भोग्नुको साध्यले प्रेमको रेखाहरु कोरिन्छन्। रहरले होइन, बाध्यताले पनि होइन संयोगले बाँच्छ प्रेमको शृंखलित लय।

सँगै शिर जोडाएर, केशराशि चुमेको पवनसँग लुकामारी खेल्दै दुर क्षितिज निहालेर जीवनको सार्थकताको चित्र कोर्ने कसलाई रहर हुँदैन। प्रेम प्राकृतिक छ। जरुवाको मूलमा उम्रिएको पानी, पहाडका उचाइमा बगेको पवन, मनबाट निस्किएको भावना उत्तिकै कञ्चन छ। यो कञ्चन पनालाई बिगारेको छ त केवल हाम्रो बानी, व्यवहारले । प्रेम सत्य, सार्थक र कञ्चन छ, बुझाईको भ्रम सत्य होइन। प्रेम गर्छु भनेर हुने होइन, चाहनाको रंग भन्दा पनि अनुभूतिको शृंखला हो। मुस्कानको आभा होस् या चुम्बनको प्रतिछायाँ प्रेम जो प्रतित भएर प्रेमको जीवन्नता स्थापित हुन्छ। न देख्न सकिन्छ, लेख्नलाई शब्द नै पर्याप्त हुँदैँन, नचाहेर पनि हुँदैन, चाहेर मात्र पनि सम्भव छैन। यही भन्ने र भन्ने भन्दा पनि भोगाइको गहनता, भावनाको हृदयता ठानौँ। प्रेम साटिनु जरुरी छ, नसाटिँदैमा भेटिने भन्ने होइन। प्रेम आदर्श हो भन्नै पर्छ, साट्नै पर्छ जरुर छैन। आदर्शको आत्मासम्मान कोकिल बन्छ। आफैँ निस्कने हृदयको त्यो भाव हो जसले धनीगरिब, जाति, रंग, वर्ण केलाउँदैन। नाराहरु होलान्, कथ्यहरु होलान् सबै सत्य हुन्छ भन्ने कहाँ छ र ? प्रेममा प्रियताको सत्यता हुन्छ। जो अजम्बरी भनेर विश्वास गरिँदै छ। हाम्रा आँखाहरु जसले देख्छ, जहाँ भ्रमहरु हुन्छन्, हाम्रो दिमाख सोच्छ, त्यहाँ स्वार्थहरु हुन सक्छन्, मन जो छ जहाँबाट स्वच्छ प्रेमको आभाको उदय हुन्छ जो यथार्थताको प्रतीक हो। बुझाइले अन्तर पार्ला, कथाहरुले फरक बनाउला, शब्दहरुले बेमेल गर्ला तर सत्य प्रेम आदर्श हो। जिन्दगीका फजितीहरु गहिराइमा पुग्ने हो भने फगत हुन, फजितीबाट जोगिएको प्रेम जो युगौँको प्रतिनिधित्व गर्छ। प्रेम गरेर हाँस्नेप्रति सम्मान छ। प्रेममा दुःख हुँदैन, त्यही भएर प्रेमलाई प्रेम हुन दिउँ, जीवनलाई जीवन हुन दिऔँ।

Leave A Comment