प्रणय दिवसमा विदेशी गुलाब

शुक्रबार, ०२ फागुन २०७६, ०१ : २२ दिलीप पौडेल
प्रणय दिवसमा विदेशी गुलाब

कमलादीमा फूल व्यापार गर्ने प्रमिला डंगोल गुलाफको फूलको गिफ्ट बनाउन व्यस्त छिन्। ‘भ्यालेन्टाइन डे’ नजिकिँदै जाँदा डंगोलको व्यस्तता बढेको छ।

फेब्रुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसलाई लक्षित गरेर उनले गुलाफको फूल खरिद गरेकी छिन्। ‘हाम्रा लागि प्रणय दिवस अवसर हो,’ उनले भनिन्, ‘प्रणय दिवसलाई भारतबाट गुलाफका फूल ल्याएका छौं।’

‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर बजारमा गुलाफको कारोबार बढेको छ। यो सिजनमा प्रेमको प्रतीक मानिने रातो गुलाफको कारोबार बढ्छ। पछिल्लो समयमा नेपालमा पनि युवायुवती तथा प्रेमिल जोडीले यस दिवसलाई ठूलो महत्व दिएपछि यसको कारोबार बढेको हो। रातो गुलाफ प्रेमको प्रतीक मानिने भएकाले युवायुवतीले आफ्ना पे्रमीप्रेमिकालाई उपहारस्वरुप गुलाफको फूल दिने गर्छन्। प्रेमीप्रेमिकाले एक आपसमा माया साटासाट गर्ने माध्यम गुलाफको फूल बनाएका छन्।

नेपाल फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार ‘भ्यालेन्टाइन डे’मा करिब एक लाख ५० हजार (स्टिम ) गुलाफको फूल खपत हुन्छ। एक लाख ३० हजार गुलाफका फूल भारतबाट आयात गरेको फ्यानका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए। ‘स्वदेशी उत्पादनले नपुगेर विदेशबाट आयात गर्नु परेको हो,’ उनले भने, ‘८०प्रतिशत गुलाफको फूल विदेशबाट आउँछ।’ करिब २० हजार फूल स्वदेशमै उत्पादन हुने बताए। कागजका गुलाफका फूल पनि बिक्री हुन्छ। अहिले बजारमा फूलको कारोबार बढेको छ। ‘भ्यालेन्टाइन डे’मा करिब एक करोड रुपैयाँको फूल आयात भएको छ,’ उनले भने। ८० प्रतिशत भारतबाट ल्याउनुपर्ने व्यवसायी बताउँछन्। प्रविधिमा लगानी नहुँदा उत्पादन बढ्न सकेको छैन। जाडोमा फूल उत्पादन गर्न सकिँदैन।

रातो गुलाफ विदेशबाट आयात गरिन्छ। बढ्दो सहरीकरणसँगै युवायुवतीले ‘भ्यालेन्टाइन डे’ मनाउने क्रम बढेकाले पनि फूलको कारोबार पनि बढेको हो। गुलाफको फूल उपहार  दिएर माया साटासाट गर्ने गरेको शंकरदेव क्याम्पसमा पढ्ने अच्युत गिरीले बताए। ‘गुलाफ मायाको प्रतीक हो,’ उनले भने, ‘भ्यालेन्टाइन डे’का लागि फूल रोजिसकेको छु।’

युवायुवतीहरु फेब्रुअरी ७ देखि १४ सम्म ‘भ्यालेन्टाइन सप्ताह’का रुपमा मनाउँछन्। फेब्रुअरी ७ लाई ‘रोज डे’, ८ मा ‘प्रपोज डे’, ९ मा ‘चकलेट डे’, १० मा ‘टेडी डे’, ११ मा ‘प्रमिश डे’, १२ मा ‘हग डे’ १३ मा ‘किस डे’ र फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ मनाउने गरिएको छ।

गुलाफ मात्र नभएर नेपालमा फूलको कारोबार बढ्दै गएको छ। फ्यानका अनुसार गत आर्थिक वर्ष दुई अर्ब ४१ करोड रुपैयाँ फूल किनबेच भएको थियो। ‘११ करोडको फूल आयात भएको थियो,’ अध्यक्ष श्रेष्ठले भने, ‘स्वदेशी उत्पादन पनि बढ्दै गएको छ।’ देशभर एक सय ५३ हेक्टरमा पुष्प खेती भएको छ। ४३ जिल्लामा पुष्प खेती हुँदै आएको छ। मुख्य गरी सहरी क्षेत्र काठमाडौं, पोखरा, विराटनगर, चितवन, नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा दिवस मनाउँछन्। फूल उत्पादन बढाउन स्थानीय, प्रदेश सरकारले लगानी गरेको छ। काठमाडौंको एभरेस्ट फ्लोरिकल्चर प्राइभेट लिमिटेडले उन्नत जातको गुलाफ हाइटेक प्रविधिमा खेती गर्दै आएको छ।

गुलाफको फूललाई फूलको रानी मानिन्छ। उपहार मात्र नभएर घर तथा बगैँचामा गुलाफ फुलाएर सुन्दरता प्रदान गरिन्छ। नेपालमा रैथाने जंगली गुलाफहरु पाइने विज्ञ बताउँछन्। स्थानीय रोजा म्याक्रोफिला, रोजा सेरिसिया, रोजा बारुनानीलगायत जातका गुलाफ पाइन्छ। गुलाफलाई कट भेराइटी र पट भेराइटी दुई किसिमले विभाजन गरिएको छ। कट भेराइटीमा गुलाफको फूलको थुँगा सजाइन्छ। 

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि अझ पनि विदेशको भर पर्नुपर्ने अवस्था छ। फूल ७० देखि एक सय रुपैयाँमा बिक्री गरिरहेको श्रेष्ठले बताए।

पुष्प व्यवसायमा नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन्। नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा छ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ। व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ।

Leave A Comment