प्रेम गर्न कानुनले छेक्दैन

सोमबार, ०५ फागुन २०७६, १२ : ०५ स्वीकृति बराल
प्रेम गर्न कानुनले छेक्दैन

प्रेम परिभाषामा उतार्न नसकिने भावना हो। प्रेम के हो भनेर परिभाषा गर्न खोज्नु पनि दुष्प्रयास हो। परिभाषित गर्न नसके पनि प्रेम अत्यन्त शक्तिशाली भाव हो, व्यक्त गर्न नसकिने आभाष हो। प्रेम सर्वत्र पुजिन्छ त्यसैले त कृष्ण र राधाको रुपमा प्रेमलाई पूजा कोठामा राखेर पुजिन्छ। राधा कृष्ण, रोमियो जुलियट, लैलामज्नु, मुनामदन प्रेमकै कारणले प्रख्यात छन्। संसार प्रेमको कारणले चलेको छ। जहाँ प्रेम हुन्छ त्यहाँ शान्ति हुन्छ, समृद्धि हुन्छ। जहाँ प्रेम हुन्छ स्वर्ग त्यहीँ हुन्छ।

जति पाए पनि नअघाइने र जति दिए पनि नसकिने प्रेम साँच्चै अद्भूत हुन्छ। प्रेम आफैँमा धेरै समस्याको समाधान पनि हो किनभने प्रेमले आफू हारेर अरुलाई जिताउन सिकाउँछ। जहाँ प्रेम हुन्छ त्यहाँ प्रतिस्पर्धा हुँदैन, स्वार्थ हुँदैन। प्रेमले आफ्नोभन्दा बढी अरुका लागि बाँच्न सिकाउँछ, अरुको खुसीमा पनि हाँस्न सिकाउँछ। त्यसैले त प्रेम पवित्र भावना हो जसलाई अनुभव त गर्न सकिन्छ तर शब्दमा व्याख्या गर्न सकिँदैन। प्रेम हरेकको चाहना हो। सबैलाई खुसी दिने प्रेमको विभिन्न रुप हुन्छन्। प्रेमीप्रेमिका बीचको प्रेम, अभिभावक र  बच्चाबीचको प्रेम, शिक्षक र विद्यार्थीबीचको प्रेम आदि इत्यादि। सबै प्रेमको आफ्नै बेग्लै विशेषता हुन्छ र छुट्टै शैली हुन्छ। भिन्दाभिन्दै अवस्थामा प्रेम व्यक्त गर्ने भिन्दाभिन्दै तरिका हुन्छन्।

मान्छे सामाजिक प्राणी हो त्यसैले समाजमा बस्दा समाजभित्रका नियम कानुनहरु मानेर बस्न ऊ सधैँ बाध्य हुन्छ। समाजको विपरीत कुनै काम गर्नु भनेको समाजको विरुद्धमा उभिनु हो, समाजको शान्ति विरुद्धको काम गर्नु हो र शान्ति भङ्ग गर्नु कानुनको नजरमा अपराध हो। कानुन हरेक नागरिकको खुसी चाहन्छ त्यसैले सधैँ पीडितका लागि उपचार बनेर उभिन्छ। जसरी चिनी पनि धेरै खाए तीतो हुन्छ त्यसरी नै प्रेम पनि मात्रा नमिलाएर गरेमा हानिकारक हुन सक्छ। प्रेम गर्नु राम्रो कुरा हो तर प्रेम गर्दा पनि नियममा बसेर गर्नुपर्छ। जब प्रेम हृदयबाट निस्किएर बाहिर प्रकट हुन्छ तब समाजको पनि विचार पु¥याउनु पर्छ। भित्रका भावना बाहिर प्रकट गर्दा संयमित भएर प्रकट गर्नु अति आवश्यक हुन्छ। प्रेम गर्दा पनि आफू बाँचेको समाजअनुरुप गर्न आवश्यक हुन्छ । हरेक समाजको आफ्नै किसिमका मर्यादा हुन्छन् त्यसैले प्रेम गर्दा पनि मर्यादामा बसेर गर्नुपर्छ। अझै भनौँ प्रेम गर्ने तरिका पनि समाजसापेक्ष हुनुपर्छ।

आफ्नो रमाइलोले गर्दा अरुलाई नकारात्मक असर पर्छ भने त्यस्तो काम पक्कै पनि राम्रो हैन र प्रेम नै किन नहोस् त्यसले कसैलाई हानि गर्दैछ भने त्यो अपराध हो। मुलुकी अपराध संहिताको दफा ११८ अनुसार कसैले पनि सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यसैगरी दफा १२३ अनुसार कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न हुँदैन। यस्ता क्रियाकलाप समाजमा नकारात्मक असर पार्ने हुनाले यस्ता कार्य कानुनको नजरमा अपराध हो र दण्डनीय हुन्छ। सार्वजनिक नैतिकता प्रतिकूल हुने कार्य, उत्शृंखल क्रियाकलापले समाजमा नकारात्मक प्रभाव पार्ने र सार्वजनिक शान्ति खलल पार्ने हुनाले यस्ता क्रियाकलाप कानुनद्वारा निषेधित हुन्छन् त्यसैले प्रेम गर्दा मर्यादामा बसेर गर्नुपर्छ। हरेकले आफूले गरेको प्रेमको कारण अरुलाई कुनै पनि प्रकारको नकारात्मक मानसिक वा शारीरिक असर पर्न हुँदैन। सबैको भलो हुन्छ भने प्रेम जायज हो तर प्रेमकै कारण हानि हुनु र कोही पिडक र कोही पीडित हुनु गलत कुरा हो र त्यस्तो प्रेम प्रेम नभएर विकृति हो। परपिडकता हावी हुनु भनेको प्रेम हराएर विकृति मात्र बाँकी हुनु हो। कानुन प्रेम र प्रेमीहरुको बीचमा तबसम्म आउँदैन जबसम्म कसैको प्रेमले कसैलाई कुनै पनि किसिमको हानि नोक्सानी गर्दैन। प्रेम गर्न कानुनले छेक्दैन तर प्रेम कानुनी दायराभित्र बसेर गर्न जरुरी हुन्छ किनभने कुनै पनि कुरा सीमाभन्दा बढी हुनु न समाजका लागि राम्रो हो न स्वयंका लागि।

Leave A Comment