ठग म्युजिक कम्पनीविरुद्ध प्रहरीमा जाहेरी

शनिबार, १० फागुन २०७६, ०१ : १६ शुक्रवार
ठग म्युजिक कम्पनीविरुद्ध प्रहरीमा जाहेरी

फागुन ५ गते गायक राजन ईशानले महानगरीय प्रहरी प्रभाग टेकुमा इन्द्रेणी क्यासेट सेन्टरका अर्जुन महर्जन र रञ्जना म्युजिक कम्पनीका भगवानकुमार श्रेष्ठ विरुद्ध आफ्नो गीत चोरी अनधिकृत रुपमा डिजिटल मध्यममा बेचेको आरोप लगाउँदै किटानी जाहेरी दिए। जाहेरी दिएको केही समयमै प्रहरीले आफ्नो प्रक्रिया अगाडि बढायो र दुवै कम्पनीलाई पत्र काटेर सत्यतथ्य के हो सोको विवरण दिई सघाउन आग्रह ग-यो।

यतिबेला रञ्जना म्युजिक कम्पनीका भगवानकुमार श्रेष्ठ र इन्द्रेणी क्यासेट सेन्टरका अर्जुन महर्जन जाहेरीसँगै आइपर्ने कानुनी अप्ठेराबारे सल्लाह लिन दौडधुपमा व्यस्त छन्।

गीतको लडाईं
राजन ईशानलाई एउटा चर्चित गायक तथा संगीतकारका रुपमा चिनाएको ‘वशमा छैन मेरो मन’को गीतिचक्का निकाल्ने जिम्मा सुरजमान जोशीले इन्द्रेणी क्यासेट सेन्टरलाई दिएका थिए। तर ईन्द्रेणीले सो गीत आफ्नै सिर्जनाजस्तै अन्तर्राष्ट्रिय बजार व्यवस्थापनको जिम्मा रञ्जना म्युजिक कम्पनीलाई दियो।

यहीँनेर गायक ईशानको आपत्ति छ। उनी भन्छन्, ‘मेरो गीत, मलाई नै थाहा नदिई मैले जिम्मेवारी नतोकेको व्यक्तिले अन्तर्राष्ट्रिय बजारमा बेच्ने ? मैले डिजिटल प्लेटफर्ममा बेच्ने अधिकार कसैलाई पनि दिएको छैन।’

डिजिटल प्लेटफर्ममा गीत बिक्री गरिरहेको रञ्जना म्युजिक कम्पनीका भगवानकुमार श्रेष्ठ भने आफूले ईन्द्रेणीसँग सहकार्यमा गीत बेचेको बताउँछन्। यसमा कसको अधिकार थियो, सोको जानकारी आफूलाई नभएको उनी बताउँछन्। अब यसमा मानवीय त्रुटि भयो भन्नु पर्ला।’

‘यसरी सर्जकको मिहिनेतलाई त्रुटिका नाममा यत्रो वर्षसम्म अनाधिकृत रुपमा बेच्न पाइन्छ ?’ ईशानको प्रश्न छ।

ईशानले आफ्नो गीत अनधिकृत रुपमा यसरी बिक्री भएको गीतका बारेमा जाहेरी दिएपछि महानगरीय प्रहरी प्रभाग टेकुका डिएसपी होबिन्द्र बोगटीले प्रहरीका तर्फबाट गरिने अनुसन्धानमा कुनै कमी नगर्ने बताए।

‘हामीले इन्द्रेणी क्यासेट सेन्टर र रञ्जना म्युजिक कम्पनीलाई पत्र काटिसकेका छौँ। उहाँहरुले हामीलाई अनुसन्धानमा सघाउँछौँ भन्नु भएको छ,’ डिएसपी बोगटीले भने।

कसरी सुरु भयो लडाईं ?
यसअघि सत्य–स्वरुपले आफ्नो फिल्म ‘साढे सात’का गीतहरु कता कता बेचिएका छन् भनेर खोजी गर्ने क्रममा आफ्ना पिता भक्तराज आचार्यका गीतहरु सन् १९९८ जनवरीदेखि डिजिटल माध्यममा बेच्न राखिएको पत्ता लगाए।

विश्वभरका ७० भन्दा बढी डिजिटल माध्यममा भक्तराज आचार्यका गीतहरु बेच्न राखिएको तथ्य फेला पारेपछि यस खोजी अभियानमा गीतकार यादव खरेल, अम्बर गुरुङ, प्रेमध्वज प्रधान लगायतका स्रष्टाहरुको गीतको खोज ीगर्न थालियो। यस खोजीका क्रममा रेडियो नेपालले उत्पादन गरेका तर कसैले डिजिटल अधिकार नपाएका गीतसमेत म्युजिक नेपालले आफ्नो लाइन्सेन्समा रहेको बताउँदै बेचेको तथ्य फेला प-यो।

यसपछि सत्य–स्वरुप कानुनी उपचारको खोजीमा दौडिरहेका छन्। आफ्नो अधिकारको लडाईं स्थापित गर्न यसबीचमा मिडियाबाजी पनि गरिए। जसका कारण पछिल्लो समय डिजिटल अधिकार खोज्ने कलाकारको संख्या बढ्न थालेको छ।

राजन ईशानको पछिल्लो कदम सोही जागरणको एउटा उदाहरण हो। गायक ईशानले आफ्नो गीत अनाधिकृत रुपमा ६५ भन्दा बढी डिजिटल माध्यममा व्यापार गरेको तथ्य भेट्टाएपछि प्रहरीलाई जाहेरी दिएका हुन्।

अन्य कलाकार पनि जाग्दैछन्
१७ वर्षदेखि आफ्नो गीत अनाधिकृत रुपमा बेचिएको दाबीका साथ उनले म्युजिकडटकमविरुद्ध पनि कानुनी उपचार खोज्ने सुर कसिरहेका छन्। (हेर्नुहोस्, अन्तरंग पेज नं. ६ र ७) तर म्युजिकडटकमका सञ्चालक राजेश बंशलले भने ‘अनील सिंह कन्फ्युजनमा रहेको’ प्रतिक्रिया दिएका छन्। आफूले ‘बकाइदाले सम्झौता नै गरेर गीतको डिजिटल अधिकार लिएको’ वंशलको भनाइ छ। यस किसिमको पछिल्लो सचेतनाले कलाकारमा जागृति बढेको सत्य–स्वरुपको धारणा छ।

भगवानकुमार श्रेष्ठ,
सञ्चालक, रञ्जना म्युजिक कम्पनी


राजन ईशानको ‘वशमा छैन मेरो मन’ बोलको गीत मानवीय त्रुटिका कारण सिडी कलेक्सनमा पर्न गएको रहेछ। फेरि त्यो गीत इन्द्रेणीसम्म आइपुगेको सुरजमान जोशीबाट हो। उहाँले इन्द्रेनीलाई राइट दिनु भएको हो। इन्द्रेनीले हामीलाई अन्तर्राष्ट्रिय मार्केटका लागि अडियो राइट दिएको हो। हामी पहिल्यैबाट सर्जक र स्रष्टाको हकका लागि लड्दै आएका छौँ। राजनजीलाई हामी रोयल्टी र लाभांश दिन तयार छौँ। त्यसमाथि हामीले इन्द्रेनीलाई अन्तर्राष्ट्रिय एक्सेस कोड दिएका छौँ। के कति व्यापार भएको छ, त्यसको हिसाब हामीले पनि गरेका छैनौँ। म फेरि भन्न चाहन्छौँ, राजन ईशानजीलाई उहाँको हक दिन हामी तयार छौँ। उहाँ हाम्रो प्लेटफर्ममा गीत राख्न चाहनु हुन्न र फिर्ता लैजान चाहनुहुन्छ भने पनि हामी दिन तयार छौँ। जहाँसम्म उजुरीको कुरा छ, प्रहरीले मलाई पक्राउ पुर्जी जारी नै गरिसकेको छ। म प्रहरीलाई सघाउन तयार छु। सर्जक स्रष्टा सन्तुष्ट भए न राम्रो गीतसंगीत जन्मिने हो ! अनि हामीले पनि व्यापार गर्ने हो ! त्यसैले कुनै सर्जकलाई उहाँहरुको अधिकार दिनलाई कुनै कञ्जुस्याइँ गरिने छैन।

 

राजेश वंशल
सञ्चालक, म्युजिक डट कम


अनील (सिंह)जीसँग हामीले ‘मेगाहर्ज’ एल्बम खरिद गरेका हौँ। त्यस बेलाको  सहमतिअनुरुप इन्द्रेणी क्यासेट सेन्टरबाट निस्किएको उहाँको पहिलो एल्बम ‘गायक’का दुई गीत (‘परी’ र ‘प्रेमपत्र’) सहित हामीले १ लाख ८५ हजारमा उहाँसँग किनेका हौँ। बकाइदा हामीसँग बिक्रीनामा गरेर उहाँले दिनुभएको छ। उहाँ कन्फ्युजनमा हुनुहुन्छ। जुन सम्झौता च्यातिएको कुरा छ, त्यो उहाँको कुरा भयो। अनीलजी जस्तो राम्रो प्रतिभाको सदैव म भलो चाहने मान्छे हुँ। उहाँलाई आफ्ना गीत प्रयोग गर्न र आफ्नो च्यानलमा हाल्न हामीले कुनै बाधा रोकावट गरेका छैनौँ। यो दाजुभाइ बीचको सानोतिनो कन्फ्युजन हो। उहाँले नबुझेर यो समस्या निस्किएको हो।

राजन ईशान
गायक तथा संगीतकार


मेरो गीत अनाधिकृत रुपमा डिजिटल माध्यममा बेचिएको छ। सत्य–स्वरुपको जागरणसँगै आफ्नो गीत खोजी गर्ने क्रममा ईन्द्रेणी क्यासेट सेन्टर र रञ्जना म्युजिकले मेरो गीत अनुमतिबिना नै डिजिटल माध्यममा बिक्री–वितरण गर्दै आएको रहेछ। एउटा सर्जकलाई उसको रचनाको बारेमा नै थाहा नदिई कुन सही नियतले व्यापार गरे होला ? कमसेकम जानकारी त दिनुपथ्र्यो नि ! यसरी अर्काको सृजना बेचेर सर्जकको अपमान गर्ने काम भयो। त्यसविरुद्ध कानुनी उपचार खोजेको हुँ। अब म कुनै हालतमा न्याय नपाई पछि हट्ने छैन।

सत्य–स्वरुप
गायक


फिल्म ‘साढे सात’को गीतहरु कहाँ कहाँ छन् भनेर खोजी गर्ने क्रममा हामीले बुबाका गीत म्युजिक नेपालले बेच्दै आएको देख्यौँ। रेडियोको सम्पत्ति  म्युजिक नेपालले अनधिकृत रुपमा बेच्दै आएको देखेपछि हामीले जागरण शुरु गरेका हौँ। हरेक सर्जक स्रष्टाले लाभांश र रोयल्टी पाउनुपर्छ भन्न हाम्रो माग हो। जुन कलाकार, सर्जक–स्रष्टाको भावनामाथि म्युजिक नेपालले कुठाराघात गरेर धोकामा राखी संसारभर बेचेको छ, यसरी कालो धन कमाउन पाइन्छ ? सरकारी सम्पत्तिमा यसरी रजाइँ गर्न पाइन्छ ? सर्जक स्रष्टा भोकभोकै मरिरहेका छन्, दुःखमा छन्। पसिनाको फाइदा स्रष्टाले पाउने कि नपाउने ? हिजोको दिनमा समस्यामा परेका बेला बाध्यतामा पारी सम्झौता गर्न बाध्य पार्ने, यता विश्वासमा चल्ने हाम्रो कलाकारको बानीलाई पनि हामीले सुधार गर्नुपर्ने अवस्था देखिएको छ। सम्झौता गर्दा शब्द–शब्द ख्याल गरेर मात्र सम्झौता गर्नुपर्छ। यहाँ त स्पष्ट रुपमा नबताई बडो शब्दको जालझेल गरेर प्रमाण बनाउनेहरुको कमी छैन। हामी मुद्दा हाल्ने अन्तिम तयारीमा छौँ। लगभग सबै चरणका छलफल र कानुनी शोध सकिन लागेको छ। हामी पछि हट्ने पक्षमा छैनौँ। यो सत्य–स्वरुपको होइन, सम्पूर्ण सर्जकको माग हो। हामी कसैको दुश्मन होइनौँ, बरु एउटा सिस्टम बसाउन चाहन्छौँ। नेपालमा पहिलो पटक यस्तो मुद्दा पर्दैछ। हाम्रो माग चाहिँ समयसापेक्ष पुनः करार हुनुपर्छ र अनाधिकृत रुपमा बेचिएका सम्पत्तिको छानबिन गरिनुपर्छ भन्ने नै हो।

Leave A Comment