‘प्रहरी र पत्रकारले थर्काएरै खान्थे’

मङ्गलबार, १३ फागुन २०७६, ११ : ५९ शुक्रवार
‘प्रहरी र पत्रकारले थर्काएरै खान्थे’

दरबारमार्गमा रहेको जुनकिरी रोधिक्लब र रोधिनाचघर जुनकिरी बसपार्कमा काम गरेका कलाकार हुन् निर्मल पुरी। दरबारमार्गमा रहेको डिलिकेटेसन बिप्पी रेस्टुरेन्टमा वेटर, किचनको कामसमेत गरेका उनीसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी:

नाइटमा किन छिरियो ?
घरको आर्थिक अवस्थाको कमजोरी र रहरले नै छिरेको भन्नु पर्ला। मैले  गजल र दोहोरीमै काम गरेर आफ्नो पढाइ खर्च जुटाई आइए, बीए उत्तीर्ण गरेको हुँ। खर्च धेरै नभए पनि काममा र पढाइमा फोकस गर्थेँ। मलाई काठे भाका गाउन आउने भएरै बार, रेस्टुरेन्टमा गीत गाउन दिएका हुन्। तर मेरो मन भने गजल लेख्नेमा थियो।

नाइटमा कहिलेदेखि काम गर्न थाल्नुभयो ?
७१ सालबाट सुरु गरेको हुँ। बिरामी भएर भर्खरै छोडेको छु। नाइटमा काम गर्दा नसा जस्तै हुने रहेछ। प्रायः गइरहन्थेँ। मलाई गजलतिरको प्रभाव थियो तर दोहोरीमा गाउनु प-थ्यो।

भनेपछि नाइटक्लबतिर नि हिडियो होला ?
मेरो त बासै आइ क्लबमा हुन्थ्यो। हाम्रो बार बन्द भएपछि कता जाने भन्ने हुन्थ्यो। अनि आइ क्लबतिर छिरिहाल्थेँ।

तपाईं पनि नाच्नुहुन्थ्यो ?
होइन, रमाइलोका लागि छिर्थे। अरु नाचेको मलाई मन प-थ्यो। त्यही हेर्न जान्थेँ। म प्रायः नेपाली ढाका टोपी लगाइरहेको हुन्छु। नेपाली टोपी लगाएर डिस्को नआइजा भन्थे। म भने मेरो पहिचान हो भन्दै छिर्थेँ।

तपाईंले अहिले काम गर्न छोड्नुभएको हो ?
मलाई आर्थिक हिनामिनाको आरोप लागेपछि अर्कोमा गएँ। जुनकिरीकै शाखा नयाँबसपार्कमा खुलेको थियो। पहिलाको साहुले मलाई नयाँ बसपार्कमा बोलाउनुभयो। दिदी भन्दा भेना अलिक ठिक लाग्थ्यो त्यसैले म त्यहाँ गएँ।

पैसा खानुभएको हो त ?
होइन, धेरै जसो क्रेडिटमा जान्थ्यो। राति दरबारमार्गबाट साहुनीकै भाइको बाइकमा हिँड्दा न्युरो हस्पिटल छेउमा पुग्न लाग्दा दुर्घटनामा परेँ। मेरो खुट्टा नै चिर्नु प¥यो त्यसैले रेस्टमा बसेँ। साहुनीले मलाई भाइ बनाएर राखेकी थिइन्। यो अवस्थामा भाइ भएर पनि तैँले डुबाइस् भन्ने आरोप आएको हो।

तपाईंले काम गरेको बारमा को–को आउँथे ?
प्रायः चलेकै कलाकारहरु गायक शिव परियार, दीपकराज गिरी, दीपा श्री, यम बराललगायत गेष्टका रुपमा आउनुहुन्थ्यो। उहाँहरुसँग चिनजान भएपछि मलाई गजल लेख्नमा रस पर्न थाल्यो।

प्रहरीहरु चाहिँ आउँदैनथे ?
प्रहरी त किन नआउनु नि ? आउट ड्रेसमा मात्र होइन ड्रेसमै आएर खाने गरेका थिए। चार पाँच हजारको बिल उठाएर खाने गरेका छन्। अहिले प्रहरी प्रशासन अलिक कडा भएका कारण ड्रेसमा भने आउँदैनथे। पैसा पनि तिर्दैनथे।

पैसा किन तिर्दैनथे ?
उनीहरुले केही प-यो भने हामीलाई खबर गर्नु भन्थे। ठूलो ठूलो पोष्टका प्रहरी आएर खान्थे अनि चेकिङ पर्दा या केही प-यो भने चेकिङमा यो मान्छे आउँदैछ भनेर सचेत गराउँथे।

प्रहरी बाहेक अरु नि ? नेता, पत्रकार, गुण्डा आउँदैनथे ?
चार वर्षको अवधिमा मैले धेरै थरिका गेष्ट देखेको छु।  ठूलै मिडियाको पत्रकार हुँ भन्दै धम्क्याउने, खाने ५४ सयको बिल बनाएको थियो। मैले चार सय छुट दिएको थिएँ। जहिले आउने यस्तो समाचार लेखिदिन्छु, छापिदिन्छु भनेर थर्काउँदै खाइरहन्थ्यो। पैसा नदिएकै कारण एकदिन मैले त्यो पत्रकारको प्रेस कार्ड नै खोसेर राखिदिएको थिएँ। त्यो प्रेस कार्ड अहिले पनि मसँग छ। नेता भनाउँदा पनि नारायणकाजी श्रेष्ठको नजिकको मान्छे हुँ भन्थे। कोही गुण्डा हुँ भाइ विचार पु-याएर दे भन्थे।

नाइटमा अझ यस्तो रेस्टुरेन्टबारमा त झगडा परिरहन्छ ? तपाईंकोमा प-यो कि परेन ?
हाम्रोमा पनि परिरहन्थ्यो। मैले पनि एकपटक एक मुक्का खाएको छु, जुनकिरीमा नै हो। खाइरहेकै बेला गेष्ट गेष्ट बीचमै सानोतिनो निहुँमा हानाहान पर्न थाल्यो, पछि हाम्रा स्टाफ साथीसँग डिस्कस परेछ। डिस्कस पर्दा गेष्टले वियरको बोतलले हानेको भित्ताको सिसामा लागेर फुट्यो। अनि सटर बन्द गरेर भकुरेका थिए। मलाई बाटोमा हिँड्दा धेरै पटक लखेटेका छन्।

कसले लखेट्थ्यो ? दोहोरीमा फाइट पर्ने कि अरुले ?
म वसन्तपुर पछाडिपट्टि बस्थेँ। राति १२ बजेतिर कोठामा जानुपर्ने, कोठा नजिक गाडी नजानाले अलिकति हिँड्नुप-थ्यो। हिँडेर जाँडा गुण्डा, गजेँडी र आवाराहरुले इँटा हान्दै लखेटेका छन्। म कति इँटा छल्दै कुदेर कोठामा पुगेको छु।

Leave A Comment