ट्याक्सीलाई प्रहरीको रुखो बोली

मङ्गलबार, १३ फागुन २०७६, १२ : २८ शुक्रवार
ट्याक्सीलाई प्रहरीको रुखो बोली

सुवास तामाङ,  ट्याक्सी चालक

मैले ट्याक्सी चलाउन थालेको धेरै भएको छैन। त्यस्तै सात आठ महिना जति भयो। नेपाल आर्मीबाट रिटायर भएपछि ट्याक्सी चलाउन थालेको हुँ। अरु रिटायर भएपछि विदेश लाग्छन् तर म भने नेपालमै केही गराैँ भनेर ट्याक्सी किनेर चलाउन थालेको हुँ। हिजो पनि जनताका लागि काम गरेँ अब पनि जनताकै लागि काम गरौँ भनेर ट्याक्सी चलाउन थालेको हुँ।

अहिले ठिकै छ। घरमा त्यत्तिकै बसेर दिन बिताउन गाह्रो हुने रहेछ। त्यसै कारण ट्याक्सी पेसालाई अँगालेको हुँ। सुरु सुरुमा वातावरण नबुझ्दा धेरै पटक हाउमचमा परेको छु। यसो आएर कतिमा जाने भन्थेँ। यतिमा भन्न परिहाल्यो अनि त च्याप्पै समातेर चिट काटिहाल्थ्यो। आर्मीमा मैले करिब साँढे १६ वर्ष काम गरेँ।

यात्रुको बार्गेनिङ
ट्याक्सी चलाएको थोरै समयमै यात्रुको धेरै बार्गेनिङ पाएँ। कोही मिटरमा जाऊँ भन्छन् भने कोही मिटरमा नजाने भन्छन्। अफिसमा जागिर खानेहरु भने मिटरमा जाऊँ अलिक बढी नै मिटर बढाइदिनु न भन्ने पाएँ। गाउँबाट भर्खर आएकाहरुले ठाउँ नचिनेर घुमाको घुमाइ पारेका छन्। यस्ता घटना प्रायः भइरहेका हुन्छन्। यहीँ नै भन्ने छैन। दिन रात गरेर धेरै यात्रु ओसारेको छु। एकपटक भैंसेपाटी जाँदा स्कुलका शिक्षक नै हुनुहुन्थ्यो। उहाँहरुले मिटरमै जाने भन्नुभयो। गन्तव्यमा पुगेपछि मिटरमा घटबढ गर्न मिल्छ कि मिल्दैन भन्नुभएको थियो।

ट्याक्सीमा राम्रा यात्रु पनि भेटिन्छन् नराम्रा यात्रु पनि भेटिन्छन्। एक पटक एयरपोर्टबाट एकजना यात्रु लिएर तिनचुली गएको थिएँ। ती यात्रु एकदमै रमाइलो लाग्यो। तिनी अरुको मर्म बुझ्ने खालका थिए। उनले भाइ काम मात्रै कति गर्नुहुन्छ आउनुस् खाजा खाएर जाऊँ भनेर क्याफेमा लगेर खानेकुरा खुवाएका थिए। मैले पैसा मागेकै थिइनँ उनले आफैँ राम्रै रकम दिएका थिए। मैले ट्याक्सी चलाउन थालेको दिनदेखि  अहिलेसम्म ट्याक्सीमा नराम्रो यात्रु फेला पारेको छैन।

प्रहरीको रुखो बोली
यात्रुबाट मैले नराम्रो शब्द सुनेको छैन। तर नेपाल प्रहरीबाट भने भोगेको छु र देखेको पनि छु। रोडमा ट्याक्सी चलाउनेलाई ओए ट्याक्सी उता जा, यता आइजजस्ता हेपाहा शब्द बोल्छन्। भोटाहिटी पछाडि यसो ट्याक्सी उभ्याएको थिएँ। यताबाट ट्राफिक प्रहरी आएर ओए ट्याक्सी ऊ त्यहाँ के लेखेको छ देखिनस् भने। यसलाई नै राम्रै मुखले बोले त भइहाल्यो नि। राम्रो वचनले बोल्दैमा के फरक पर्छ र हैन। अरु गाडीलाई भने यसो गर्नुस् उसो गनुस् भन्ने तर ट्याक्सीलाई प्रहरीबाट नै हेपिँदा नमज्जा लाग्छ।

लभ म्यारिज
मेरो कार्य क्षेत्र लगनखेलमा थियो। म त्यहाँ कार्यरत हुँदा मेरी उनी कलेज पढ्न जान्थिन्। उनको घर पूर्व धरान हो। त्यही बेलामा उनीसँग चिनजान भयो। चिनजानपछि लभ परे जस्तै भन्नुप¥यो। त्यसको केही समयपछि विवाह ग-यौँ। अहिले १० वर्षकी छोरी छिन्।

Leave A Comment