ओलीको पेटमा नेपालको प्रतिमा

शनिबार, १७ फागुन २०७६, ०९ : ५३ शुक्रवार
ओलीको पेटमा नेपालको प्रतिमा

मान्छेको शौख पनि विचित्र ! न नेपाली संस्कार, न त आवश्यकता नै ! पश्चिमा मुलुकबाट भित्रिएको ‘बर्थ डे’ संस्कारले हाम्रा प्रधानमन्त्रीलाई छपक्कै छोप्यो।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली राजसी शैलीमा तेह्रथुमको आठराई गाउँपालिकामा ६८ वर्षअघि आफू जन्मिएको घरमा ६९औं जन्मोत्सव मनाउन पुगेछन्। ११ गते आइतबार उनी त्यही पाको घरमा जन्मोत्सव मनाउन पुगे। चिटिक्क सिँगारिएको घरमा विराजमान हुँदा गाउँलेहरु त ओलीलाई हेर्न पुग्ने नै भए।

लावालस्करसहित जन्मोत्सव मनाउन जन्मघर पुगेका ओलीले आफ्नी धर्मपत्नी राधिका शाक्यलाई बायाँ र पिता मोहनप्रसाद ओलीलाई दायाँतर्फको सोफामा बसाएर आफू बीचमा विराजमान भएछन्। त्यसपछि गलामा सेता, पहेँँला खादा लगाएका प्रधानमन्त्री ओलीले टेबलमा राखिएको नेपालको नक्सा आकृति केकलाई टुक्राउन थाले। केकमा तराई, पहाड, हिमाल र प्रतीकात्मक रङ तथा स्वरुपको आकृति थियो।

नेपालको नक्सा आकृति केक काटेको साक्षीका रुपमा उनका पिताका छेउमा पूर्वसभामुख सुवास नेम्वाङ पनि थिए। अन्य मान्नेगुन्ने लावालस्कर, व्यापारी तथा कार्यकर्ता साक्षीका लागि काफी थिए। विचरा जनता त टाढैबाट नियालिरहेका थिए।

सामाजिक सञ्जालमा भाइरल भइरहेको केकवाला तस्बिरमा एक महिलाको भूमिका भने अग्रणी देखिन्छ। नेपाल नक्से केक ओलीले छियाछिया पारेर लुछ्दै उपस्थितलाई खुवाए।

हेलिकप्टरबाट सवारी भएका उनको केक पनि काठमाडौंबाट हेलिकप्टरमै विराजमान भएछ। हेलिकप्टरमा केक पु-याउने जिम्मा भने विवादित यती समूहले पाएको रहेछ।

४० पाउण्डको भनिएको करिब ३२ हजार पर्ने केक यती समूहकै सौजन्यमा उनको जन्मघर पु-याइएको सञ्चार माध्यममा समाचार छ। काठमाडौंबाट हेलिकप्टर चार्टर गरी उनको जन्मघर केक पु-याउँदा अढाई लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान छ। यत्रो खर्च गरेर बिना स्वार्थ यतिले कसरी केक पु-यायो भन्ने ओली सरकारप्रति प्रश्न त तेर्सिएको छ नै।

प्रधानमन्त्रीको नेपालको नक्सा आकृत वर्थडे केकलाई लिएर चर्को असन्तुष्टि देखिएको छ। सामाजिक सञ्जालमा नेपालको नक्सा आकृत केक काटेकोप्रति विरोधको ओइरो देखिन्छ।

मुलुकी अपराध संहिता,२०७४ को दफा १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नपाइने व्यवस्था रहेको छ। यो कानुनअनुसार सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न पाइँदैन।  यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीन हजार रुपैयँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

ओलीले कुदृष्टिले नेपालको नक्सा बनाएरै त केक काटेका हैनन्  तर यस्तो संवेदनशील विषयमा जति विचार पु-याउनुपथ्र्यो, त्यसबारे विचार पुग्न नसकेको स्पष्ट देखिन्छ।

समग्रमा ओली सरकारका यी दुई वर्षे शासनकालमा केही अप्रिय घटनामध्ये यस केक काण्डलाई पनि लिइनेछ।

Leave A Comment