कमेडी च्याम्पियन: ‘जागिरै छाडेर च्याम्पियनमा’

शनिबार, १७ फागुन २०७६, १२ : ०६ शुक्रवार
कमेडी च्याम्पियन: ‘जागिरै छाडेर च्याम्पियनमा’

विष्णुप्रसाद गौडेल कमेडी च्याम्पियनको टप ४ बाट बाहिरिएका छन्। उनीसँग गरिएको कुराकानीः
 
के छ हाल खबर ?
ठीकै छ। अहिले काठमाडौँबाहिर जाने तयारीमा छु।

कार्यक्रमको लागि कि ?
हैन नि ! आफ्नै घर स्याङ्जा जान लागेको। निक्कै भयो च्याम्पियनमा छिरेपछि जान पाइएको थिएन नि त !
च्याम्पियनबाट बाहिरिए पछिको योजना के बनाउँदै हुनुहुन्छ ?
चाँडै नै टेलिभिजनमा नयाँ सो लिएर आउने योजना बनाइरहेको छु। रिजल्ट आउट भएको दुई–तीन दिन मात्रै भएको छ। जसका कारण कहाँ र कसरी आउने भन्ने एउटा योजना बनाइरहेको हो। ल्याउने त कमेडी सो नै हो।

पहिला पनि कुनै कमेडी सो गर्नुभएको थियो र ?
स्याङ्जाको वालिङ टेलिभिजनमा मैले कमेडी कार्यक्रम चलाउँथे।  त्यहीँको स्थानीय रेडियोमा पनि कमेडी कार्यक्रममा चलाउँदै आएको थिएँ। ब्याचलर पनि सकिएको समयमा कमेडी च्याम्पियनको हल्ला भयो। डिजिटल राउन्डमा एउटा भिडियो पठाएँ। पहिलो अडिसन पास गरेपछि खुसीले गद्गद् भएँ।

पहिला पनि काठमाडौँ आउनुभएको थियो कि ?
काठमाडाैँ त म पहिलो पटक यही कार्यक्रमका लागि भनेर आएको हुँ। च्याम्पियनका लागि जागिर लगायत सबै छोडेर आएको थिएँ।

के पाएँ या गुमाएँ जस्तो लागेको छ त ?
गुमाउन त केही गुमाएको छैन। फाइनलमै पुग्छु होला भनेर केही कन्टेन्ट क्रिएट गरेको थिएँ। अब काम लाग्ने भएन। त्यो एउटा गुम्यो। बाँकी त मैले धेरै कुरा पाएको छु। हिजो थोरैले गाउँठाउँमा चिन्नुहुन्थ्यो, अहिले देशविदेशमा चिन्न थाल्नुभएको छ।

जागिर गुमेकामा दुःख लागेको छैन ?
जागिर त भोलिका दिनमा पनि पाइहालिन्छ नि, हैन र ? मैले पहिले सामान्य हँसाउने कामलाई कसरी व्यवस्थित तरिकाले गर्ने, कसरी स्क्रिप्ट बनाउने, कसरी पर्फमेन्स गर्ने लगायत धेरै कुरा सिक्ने मौका पाएँ। यो त गज्जबको उपलब्धि हो नि त !

जागिर भन्नाले ?
म इन्स्युरेन्स कम्पनीमा काम गर्थें। टेलिभिजन, रेडियो र इन्स्युरेन्सको काम छोडेर कमेडी च्याम्पियनमा आएँ। अब ती सबै छाडेर कमेडीलाई नै निरन्तरता दिने हो।

च्याम्पियनमा टप ४ सम्म आइपुग्दा भोटमा कति खर्च गर्नुभयो त ?
यसका लागि मैले कत्ति पनि खर्च गरिनँ। स्याङ्जातिर साथीहरुले ग्रुप बनाएर मलाई भोट गर्नुभएको थियो। मेरो कमेडी मन पराउनेहरुले मेरा दर्शकहरुले भोट गर्नुभएर नै यो स्थानसम्म आइपुगेको हुँ। मेरो पर्सनल्ली खर्च भएन। नेपालभित्र र बाहिरबाट पनि गर्नुभएको थियो।

Leave A Comment