नेपाल आइडल: ‘अहिले त नर्मल भइसकेँ’

शनिबार, १७ फागुन २०७६, १२ : ५० शुक्रवार
नेपाल आइडल: ‘अहिले त नर्मल भइसकेँ’

नेपाल आइडल सिजन ३ मा टप नौबाट पोखराकी ममता गुरुङ आउट भएकी छन्। कक्षा ११ मा पढ्दै गरेकी ममतालाई आइडलमा जान आफन्त र साथीहरुले उक्साएपछि आइडलको टप नौसम्म पुगेर बाहिरिइन्। उनीसँग गरिएको आइडल अनुभवः

के गर्दै हुनुहुन्छ ?
अहिले त पढाइलाई नै निरन्तरता दिइरहेकी छु। नेपाल आइडल सिजन ३ बाट आउट भएपछि पोखरा आइसकेँ। पढाइ छोडेर नेपाल आइडलमा भिडेकी थिएँ, अब त पढाइमा भिड्नु प-यो नि, हैन ?

कतिमा पढ्नुहुन्छ ?
एघारमा।

भनेपछि पढाइ छोडेर आइडलमा लाग्नुभयो ?
त्यस्तै भन्नुप-यो। अहिले त आउट भइहालेँ। त्यै भएर पढाइतिर नै ध्यान दिइरहेकी छु।

संगीतमा कसरी तानिनुभयो त ?
मलाई बाबाले सानैदेखि म्युजिक सिकाइरहनुभएको हो। त्यस कारण पनि म्युजिकबाट नै केही गरौँ भनेर बाबाको हौसलाले पनि आइडलमा गएकी थिएँ।

यति छिट्टै आउट हुन्छु भन्ने थियो त ?
मैले सोचे अनुसारको नै भयो। मैले आइडल नै पुग्छु भनेर गएकी थिइनँ। म त टप टेनसम्मको अपेक्षा राखेर भिडेकी थिएँ। टप टेन भित्रमा नै परेँ। फेरि पहिलाको सोच टप टेनमा पुगेपछि पनि चेन्ज हुँदोरहेछ। अलिक माथि नै पुगौँ भन्ने नभएको त होइन तर हाम्रो सोचले मात्र नहुँदोरहेछ। भोट कम आयो। के गर्नु ?

आइडलमा भोट गर्न कति खर्च गर्नुभयो ?
आफ्नो त खर्च गरिएन। स्कुल, पोखराबासी र मलाई मन पराइदिनुहुने स्रोता दर्शकले नै स्वस्फूर्त भोट गरिदिनुभएको हो। घरबाट त खै खर्च गरेको जस्तो लाग्दैन।

कतैबाट गीत गाइदिन अफर आएको छ कि छैन ?
धेरै जनाले तपाईको आवाज मन प-यो गीत गाइदिनु न भन्ने कुराकानी त भइरहेको छ।

अब गीत निकाल्ने तयारी होला नि ?
केही समय अगाडि एउटा गीत गाएकी थिएँ। त्यो गीत सार्वजनिक भएको छैन। अरु रेकर्ड हुने तयारीमा पनि छ। गायनमा लागेपछि गीत ननिकाल्ने भन्ने त कुरै भएन नि, हैन र ?

आइडलबाट आउट भएपछि साथीभाइको प्रतिक्रिया कस्तो आयो त ?
जति गरिस् बेस्ट गरिस् भन्नुहुन्थ्यो। आमा–बुवा र स्कुलका साथीहरुले आइडलमा रहँदा धेरै सपोर्ट गर्नुभएको थियो। उहाँहरुले अवश्य पनि सुझाव त दिइहाल्नुहुन्छ नि ! म आउट भए नि खुसी लागेको छ। सुरुसुरुमा मन कस्तो कस्तो भएको थियो। अहिले त नर्मल भइसकेँ।

Leave A Comment