‘सेन्टी भाइरस’को सेन्टी कुरा

शनिबार, १७ फागुन २०७६, ०१ : ०० पुष्पा थपलिया
‘सेन्टी भाइरस’को सेन्टी कुरा

‘फिल्म हेरियो, समाजसेवा पनि गरियो।’
‘अँ, यी दुई घण्टामा अरु काम गरिन्थ्यो पनि के र ? साथीभाइसँग भेटघाट भो, दुई–तीन सय त चिया पसलमा पनि खर्च हुन्थ्यो, यो त झनै रंगशाला निर्माणका लागि भनेका छन्, राम्रै भो।’

घटना, परिवेश माथिका संवादबाटै प्रष्ट हुन्छ। हो, यो त्यही ‘सेन्टी भाइरस’ फिल्मको कुरा हो, जसलाई हेरेर दर्शक खुशी छैनन्, न त दुःखी नै !

फिल्मका कथावस्तुमा के कुरा उठान गर्न खोजिएको हो भन्ने प्रष्ट छैन। जसका कारण दर्शक हलमा बोरिङ फिल गर्छन्। कमेडी कलाकारको जम्काभेट, कथा लेख्ने मान्छे पनि कमेडियन, निर्देशक पनि खत्रा फिल्म बनाइसकेका भनेर दर्शकहरु हल पुग्छन् तर फिल्म सोचेजस्तो नभेट्दा उनीहरु भट्कन्छन्। जब फिल्म सकिन्छ, दर्शक कुल बन्छन् किनभने उनीहरुको लगानी त्यसै खेर गएन भन्ने सन्देशसहित धुर्मुस–सुन्तली फिल्मको क्यारेक्टर धुव्रराम सत्याल र जुनेलीबाट बाहिर उत्रन्छन्।

फिल्मले राम्रै व्यापार गरेको भए पनि दर्शकलाई फिल्मले खासै छुन सकेन। तर स्वयं फिल्मका कलाकार तथा प्राविधिकलाई यो फिल्म कस्तो लाग्यो त भनी ‘शुक्रवार’ले बुझ्ने प्रयास ग-यो।

फिल्मको कथा लेख्नेमा कुमार कट्टेल र दीपक आचार्यको नाम छ तर सीताराम कट्टेलका भाइसमेत रहेका कुमार आफूले सल्लाह मात्रै दिएको र फिल्म सबै मिलेर लेखेको बताउँछन्। उनी आफूले फिल्म लेखेको मान्न तयार थिएनन् कुराकानीको क्रममा। उनले भने, ‘यो फिल्मभन्दा पनि अभियान हो, हामी सबैको अभियान।’

एउटा लेखकका हिसाबले तपाईंलाई फिल्म कस्तो लाग्यो भन्ने प्रश्नमा उनले यसबारे हलमा फिल्म चल्न छाडेपछि मात्रै कुरा गर्ने बताए। उनी यत्तिमै रोकिएनन्, भने, ‘फिल्म चलाउने दायित्व तपाईं (पत्रकार)को पनि हो।’ यो पंक्तिकारलाई सल्लाह पनि दिन भ्याए कुमारले। उनले भने, ‘यसलाई फिल्मको नजरले हैन, अभियानको नजरले हेर्नुस्।’

फिल्म ‘सेन्टी भाइरस’का मुख्य कलाकार सीताराम कट्टेललाई भने आफ्नो फिल्म राम्रो लागेको बताए। उनले सुरुमा राम्रै लाग्यो भने अनि फेरि सुधारेर ‘राम्रो लाग्यो’ भने। आफूलाई बचाउ गर्दै सीतारामले थपे, ‘फिल्ममा कमीकमजोरी छन्, यस्तो हुनुमा समय अभाव भयो।’

आफू रंगशाला बनाउने अभियानमा लागेकाले फिल्मलाई चाहिए जति समय दिन नसकेकाले उत्कृष्ट बन्न नसकेको उनको भनाइ छ। आफू व्यस्त भएकाले सबै जिम्मेवारी निर्देशकलाई दिएको पनि उनले बताए।

उनले आफूलाई गिराउने नै उद्देश्यले कोही लागिपरेको संकेत दिँदै भने, ‘फिल्मको पहिलो सो बिहान ६ बजेतिर थियो, नौ बजेसम्म त समीक्षा नै आइसकेछ !’

समीक्षा गर्नेलाई धन्यवाद दिँदै व्यक्तिगत रुपमा आफ्नो गोजी भर्न र पैसा कमाउने उद्देश्य नभएकाले खेदो नखनिदिन पनि उनले आग्रह गरे।

व्यक्तिगत पैसा कमाउने उद्देश्यले नै पछि फिल्म बनाउँदा अहिलेको देखेर दर्शक भड्केलान् नि भन्ने प्रश्नमा सीतारामले भने, ‘एकचोटी त सबैले माफी पाउँछन्, मलाई पनि अर्को मौका दिनुहोला नि ! अर्कोपल्ट त दर्शकलाई निराश नबनाउँला।’ थपे, ‘पहिलो फिल्म उत्कृष्ट बन्न सकेन होला तर नराम्रो भने छैन।’

रंगशालाको अभियानमा फिल्म नै किन भन्दा उनले आफ्नो काम देखाउन यसो गर्नुपरेको बताए। भने, ‘म र कुञ्जना दुवै कलाकार हौं, हाम्रो तर्फबाट रंगशाला निर्माणमा केही योगदान देखियोस् भनेर फिल्म बनायौं।’

यता निर्देशक रामबाबु गुरुङ भने फिल्मले दर्शक तानेको देखेर खुशी छन्। ‘पहिलेका काममा पनि समीक्षकले खेदो खनेका थिए, अहिले तिनै पुराना फिल्मलाई राम्रो भन्छन्,’ उनले थपे, ‘अर्को फिल्म बनाउँदा ‘सेन्टी भाइरस’जस्तो उत्कृष्ट फिल्म बनाउने तपाईं यहाँ कसरी चिप्लिनुभयो भन्न आउँछन्।’

कलामा संसारभर नै पूर्ण र राम्रो भन्ने कुरा नहुने भन्दै गुरुङले थपे, ‘यो फिल्म रंगशाला निर्माणका लागि हाम्रो अभियान हो। रंगशाला बनाउने अभियान भन्दा यी पत्रकारहरुको टाउको दुखाइ चाहिँ किन छ हँ ?’
रंगशाला बनाउन भिखका रुपमा फिल्म ‘सेन्टी भाइरस’लाई अघि सारिएको आलोचना भइरहेका बेला निर्देशक गुरुङ आफू आलोचना पचाउन तयार रहेको बताउँदै भने, ‘मलाई प्रशंसा मात्रै चाहिँदैन, जति आलोचना गरे पनि हुन्छ।’

निर्देशक गुरुङका अन्य फिल्मको तुलनामा सबैभन्दा कमजोर रहेको यो फिल्मले पहिलो दिनमा नै एक करोड १२ लाखको ग्रस बिजनेस गरेको छ। जसमध्ये काठमाडौँ उपत्यका भित्रबाट ५९ लाख र उपत्यका बाहिरबाट ५३ लाखको व्यापार गरेको छ। त्यस्तै दोस्रो दिन एक करोड ३५ लाखको ग्रस व्यापार गरेको छ।

Leave A Comment