मनदेखि बनाइएको फिल्म ‘आमा’

शनिबार, १७ फागुन २०७६, ०१ : ०९ ईश्वरकुमार
मनदेखि बनाइएको फिल्म ‘आमा’

संसारमा केही शब्दहरु आफैँमा वजनदार, गहिरो र अर्थपूर्ण लाग्ने गर्छन्। त्यस्तैमध्येको एक शब्द हो, आमा। यसै शब्दलाई टिपेर दीपेन्द्र के खनालले चलचित्र बनाएका छन्। देशभरका सिनेमा घरमा गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘आमा’मा भएका गल्ती कमजोरीलाई दर्शकले खासै ख्याल गर्नै पाउँदैनन्। किनकि चलचित्र फरक–फरक पुस्ताका आमाको कथासँग जोडिएको छ। श्रीमतीको श्रीमान्सँगको प्रेम, एउटी बुहारीको छोरी हुनुको कर्तव्य, एउटा ज्वाइँको सहनशीलताको सीमाजस्ता कुरा यो फिल्मले देखाउन खोजेको छ।

मध्यम वर्गीय परिवारका ज्येष्ठ सदस्य बिरामी हुँदा तिनका आफन्त र नातेदारले भोग्नुपरेको आर्थिक, भौतिक, मानसिक पीडा चलचित्रले राम्रोसँग देखाएको छ। हाम्रो स्वास्थ्यसँग जोडिएका हामीले भगवान् मानिरहेकाहरुले कसरी कालो धन्दा चलाइरहेका छन् चलचित्रले प्रस्ट पारेको छ। अझ उपचारको क्रममा कसरी बिरामीका आफन्तले कस्ता कस्ता सास्ती भोगिरहेका छन्, उनीहरु कसरी ठगिएका छन् भन्ने कुरामा चलचित्रले मज्जैले भण्डाफोर गरेको छ।

पछिल्लो समय नेपालमा विकृतिको रुपमा फैलिँदै गएको धर्म प्रचारको सन्दर्भलाई पनि चलचित्रले उठाएको छ। कतिसम्म भने चलचित्रमा देखिएका पासिङ क्यारेक्टरहरुको समेत अर्थपूर्ण उपस्थितिले निर्देशनको सबल पक्षलाई झल्काउँछ। त्यस्तै चलचित्रका लामा दृश्यको प्रयोग पनि त्यत्ति बोझिल देखिदैनन्।

चलचित्रका अधिकांश दृश्य पानी परेको बेला खिचिनुलाई चलचित्रको थिमसँग जोडेर हेर्न सकिन्छ। पानी परिरहेको मौसमलाई लक्षणका रुपमा बुझाउन खोजेको देखिन्छ।

चलचित्रमा प्रयोग भएको स्थलगत आवाजहरुले कलाकारको मिहिनेतलाई अझ जीवन्त बनाउन सहयोग पु-याएको छ।
हरेक चलचित्रको आफ्नै  कलरट्युुन हुने  गर्दछ। त्यस्तै दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ले शीर्षक सार्थकताका साथ समग्र कथाको रंगलाई चलचित्रमा बोक्न सफल भएको छ। खिचाइका दृष्टिकोणले चलचित्रमा नयाँ प्रयोगहरु छैनन् भन्दा पनि हुन्छ। तर लामा दृश्यहरुलाई कम्पोज गर्न गरिएको मिहिनेतलाई भने कदर गर्नु पर्दछ। नेपाली चलचित्रको दीर्घ रोग (क्लिक्से)हरु बाट निर्देशक खनाल बच्न खोजेको चलचित्र हेरिरहँदा प्रस्ट हुन्छ।

नेपाली समाजमा एउटा महिलाको स्थिति फरक–फरक भूमिकामा कस्तो कस्तो छ भन्ने कुरा पनि चलचित्रले मज्जैले देखाएको छ। एउटी आमाले नवजात सन्तानलाई स्तन चुसाउन नपाएर दूध निचोरेर फालेको दृश्यले सबैको मन रुवाउँछ। चलचित्रमा देखाइएका धेरैजसो दृश्य पत्यारिला छन् तर केही दृश्यहरुको भने अर्थ खोज्न मुस्किल पर्दछ। निर्देशकले बुझाउनु जरुरी नठानेर हो वा भुलबस हो  आमाको मृत्युको कारण चलचित्रमा राम्रोसँग देखिँदैन।

उसो त नेपालका चर्चित फिल्म पण्डितहरु तथा फिल्मकर्मीले आमा चलचित्रमाथि  धेरै खोट देखाउन सक्ने ठाउँ प्रशस्तै छन् र पनि फिल्मले आफ्नो ठाउँमा बलियोसँग उभिन कोसिस गरेको देखिन्छ।

सपनाको पछाडि लागेर विदेसिएको पात्रको नियति उसलाई नदेखाई पनि प्रस्टै पारेर निर्देशकले दर्शकलाई बुझाउन सक्नु उनको कुशलता र खुबी हो। ‘आमा’को छोरोको नियति निर्देशकले मज्जाले देखाएका छन्। चलचित्रमा विभिन्न बिम्ब, प्रतीकको प्रयोगले धेरै कुरा सांकेतिक रुपमा बुझाउन पनि खोजिएको छ। तर एकाध दृश्यहरुमा अनावश्यक संवादहरुले दर्शकको ध्यान भंग गराउन सक्छ। तर निर्देशक खनालले दर्शकलाई हँसाउन विकृतिलाई सकभर व्यंग्य गर्न भने कतै छाडेका छैनन्।

कमेडी भनेर भद्दा मजाकमा रमाउने नेपाली दर्शकहरुलाई आफ्नै आँखा अघि देखिएका भोगिएका सभ्य, शालीन पात्रहरुसँग ठोकिन पाउँदा पक्कै पनि अपनत्व महसुस हुनेछ।

चलचित्रको प्राविधिक पक्ष समग्रमा सन्तुलित नै देखिएको छ। चलचित्रमा जति पनि पात्रहरु देखिएका छन् सबैले पात्रलाई न्याय गर्न भरमग्दुर कोसिस गरेका छन्। मिथिला शर्माको यो भूमिका उनका सर्वोत्कृष्ट पाँच फिल्ममध्ये शीर्षमै पर्ने देखिन्छ। उनको मिहिनेतलाई प्रशंसा गर्न कन्जुस्याइँ गर्नु पर्दैन।

साना कुरालाई ध्यानमा राखेर साना–साना विषयवस्तु जोडी नेपाली चलचित्र आमा निर्माण गरेका खनालबाट भोलिका दिनमा नेपाली अनुहारको मौलिक फिल्म आश गर्न भने सकिन्छ। दर्शकहरुको रोजाइमा यो चलचित्र पर्न सक्ला, नसक्ला तर पनि नेपाली चलचित्रको सुखद् इतिहास बनाउन भने यस्ता चलचित्रहरु आउनु जरुरी छ।
चलचित्र:   ‘आमा’
निर्देशक: दीपेन्द्र के खनाल
समयावधि: ११५ मिनेट       

Leave A Comment