मीटूको पटाक्षेप

शनिबार, १७ फागुन २०७६, ०१ : ४८ शुक्रवार
मीटूको पटाक्षेप

हलिउडका चर्चित फिल्म निर्माता हार्भे वाइन्स्टिनलाई यौन उत्पीडन र बलात्कारको मुद्दामा दोषी पाइएको छ। उनीमाथि ८० जनाभन्दा बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए।

तीमध्ये पाँच महिला र सात पुरुषहरुको न्यायाधीशहरुको समूहले पाँच दिनसम्म गहन छलफल तथा विचार–विमर्शपछि वाइन्स्टिनमाथि थर्ड डिग्रीको बलात्कार केस र फस्र्ट डिग्री आपराधिक यौन गतिविधिको मामिलामा दोषी करार गरेको थियो।

यस मामिलामा उनलाई २५ वर्षसम्म सजाय हुनसक्छ। ठ्याक्कै यति वर्षसम्म वाइन्स्टिनलाई कैद हुनेछ भन्ने तोकिएको भने छैन।

उनीमाथि यसबाहेक पनि अन्य दुई महिलामाथि बलात्कार र यौन आक्रमण गरेको अभियोगमा अमेरिकाको लस एन्जल्स राज्यमा मुद्दा चलिरहेको छ।

तर ६७ वर्षे वाइन्स्टिनमाथि फस्र्ट डिग्री रेप अर्थात् बलात्कारजस्तो कुनै गम्भीर मामिलामा दोषी पाइएको भने छैन।

८० भन्दा बढी महिलाको आरोप
चर्चित अभिनेत्री एन्जेलिना जोली र गेनेथ पाल्ट्रोसमेत हलिउडका चर्चित महिलाले हार्भे वाइन्स्टिनमाथि यौन उत्पीडनको आरोप लगाएका थिए।

जोली र पाल्ट्रो दुवैले आफूमाथि घटेको यो घटना उनीहरुको फिल्म उद्योगमा आउँदाका शुरुवाती दिनको रहेको बताएका थिए।

एन्जेलिना जोलीले ‘न्युयोर्क टाइम्स’ पत्रिकामा लेखेकी थिइन्, ‘युवावस्थामा हार्भे वाइन्स्टिनसँग मेरो अनुभव साँच्चिकै नराम्रो रह्यो। यही कारण मैले ऊसित कहिल्यै फिल्म नगर्ने निर्णय गरेकी थिएँ र मसँग भेट भएका अन्यलाई पनि ऊसित काम नगर नै भनेर प्रचार गरेकी थिएँ।’

यस्तै ‘सेक्सपियर इन लभ’जस्तो फिल्मका लागि अस्कर अवार्ड पाउने गेनेथ पाल्ट्रोले सो अवार्ड पाइसकेपछि ‘एम्मा’ फिल्ममा लिन्छु भनेर होटलमा बोलाई वाइन्स्टिनले मालिस गर्न आदेश दिएको बताएकी थिइन्।

‘त्यो बेला म निकै सानी थिएँ,’ गेनेथले भनेकी छन्, ‘मलाई फिल्ममा लिइसकिएको थियो तर उसले मलाई होटलमा बोलाएर जताततै छुने मात्र होइन, बेडरुममा गएर मालिस गरिदे भनेर आदेश दियो।’

सो घटनाले आफू अवाक् भएको उनको बयान थियो। यसअघि पनि अन्य कयौँ अभिनेत्रीले वाइन्स्टिनमाथि यौन उत्पीडनको आरोप लगाएका थिए। सो खबर शुरुमा ‘द न्युयोर्कर’मा प्रकाशित भएको थियो भने पछि ‘न्युयोर्क टाइम्स’ले छापेको थियो। वाइन्स्टिनले समाचार प्रकाशित भएलगत्तै आरोपको खण्डन गरेका थिए।

सो वक्तव्यपछि हार्भे वाइन्स्टिनका विरुद्ध कयौँ महिला अघिल्तिर आउन थाले र मीटूले आन्दोलनको रुप लिन थाल्यो। यसपछि त संसारभरि नै महिलामाथि भएका यौन उत्पीडनका अनुभवलाई सामाजिक सञ्जालमा लेख्न थाले।

कति शक्तिशाली ?
वाइनस्टिनलाई हलिउडको सबैभन्दा शक्तिशाली हस्तीमध्येमा गनिन्छ। ‘द न्युयोर्कर’को रिपोर्टमा उनीसँग जोडिएका १६ जना भूतपूर्व र बहालवाला कर्मचारीले सामूहिक रुपमा मौकाको फाइदा उठाएर सेक्सका लागि पहल गर्ने बताएका थिए भने कयौँले आफूहरुले त्यस्तो कुरा हल्लाका रुपमा सुनिरहेकोसमेत बताएका थिए।

१९९६ मा अस्कर अवार्ड जित्ने मीरा सार्विनोले पनि वाइन्स्टिनले आफूलाई ‘सुत्न’का लागि दबाब दिने प्रयास गरेको आरोप लगाएकी थिइन्।

वाइन्स्टिन राजनीतिक रुपमा पनि निकै शक्तिशाली व्यक्ति थिए। डेमोक्र्याटिक पार्टीका चर्चित उम्मेदवारहरु हिलारी क्लिन्टन र बाराक ओबामालाई आफ्नै घरमा निम्त्याएर चन्दा भेला पारिदिने र आफैँले पनि करोडौँ रुपैयाँ दिने गरेका थिए।

गएको आम चुनावमा पनि हिलारी क्लिन्टनलाई कुस्त रकम चन्दा दिएका वाइन्स्टिनको बलात्कार काण्डको पर्दाफासपछि उनकी पत्नीले पारपाचुके दिएकी थिइन्।

Leave A Comment