गुमनाम मृत्यु

सोमबार, १९ फागुन २०७६, ०१ : ०० भोला अधिकारी
गुमनाम मृत्यु

माघ २९ गते धादिङको गजुरीमा दुई युवतीको निधन भयो। यो समाचारले नेपाली अखबारमा सानो ठाउँ पायो तर त्यस दुर्घटनामा निधन हुने दुईमध्ये एक युवती भने नेपाली फिल्म उद्योगमा एक दर्जन फिल्मकी अभिनेत्री थिइन् र उनको नाम थियो, महिमा सिलवाल। मृत्यु हुने अर्की युवती महिमाकी बहिनी शर्मिला थिइन्।

उनै अभिनेत्रीको मृत्युको १३ औँ दिनमा गएको फागुन ११ गते नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली कार्यक्रम राख्यो। काठमाडौँको रातोपुलस्थित शैली थिएटरमा आयोजित सो श्रद्धाञ्जली कार्यक्रममा सबैजसो चलचित्रकर्मीहरुलाई उपस्थितिका लागि संघका अध्यक्ष रवीन्द्र खड्काले अनुरोध गरेका थिए तर कार्यक्रमस्थलमा चिनिएका कलाकार औँलामा गन्न सकिने मात्र उपस्थित थिए। श्रद्धाञ्जली सभामा उपस्थित भएका सबै व्यक्तिको संख्या ३० हाराहारी थियो।

६ वर्षअघि ‘कार्बाही’ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री महिमाले त्यसपछि कम नाम सुनिएका ‘अप्रिल फुल’ ‘चियर्स’, ‘नो स्मोकिङ’, ‘ढुङ्गे युग’जस्ता फिल्ममा अभिनय गरेकी थिइन्। यत्तिका फिल्ममा अभिनय गरे पनि उनले चर्चा भने कमाउन सकेकी थिइनन्।

उनको पछिल्लो अभिनय रहेको फिल्म ‘ब्वाइफ्रेन्ड’ गएको वर्ष प्रदर्शनमा आएको थियो। फिल्म मात्र होइन, उनले दर्जनौँ म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन्।  महिमाको विवाहको तयारीका लागि घर जाँदै गर्दा धादिङको गजुरीमा माघ २९ गते बेलुका ६ बजे सडक दुर्घटनामा परी निधन भएको थियो। महिमा र शर्मिला दुई जना बिहे तयारीका लागि काठमाडौँबाट स्कुटरमा चितवन जाँदै गर्दा गजुरीमा काठमाडौँ आइरहेको बसले ठक्कर दिएको थियो। स्कुटरले दायाँ लेनबाट ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आएको बसले ठक्कर हानेको प्रहरीको भनाइ छ।

उनीहरुको मृत्युको खबर तुरुन्तै सर्वत्र फैलियो। खबर कलाकार संघमा पनि आइपुग्यो। तत्कालै संघका निवर्तमान अध्यक्ष नवल खड्का, कलाकार उमा बेबी लगायतको पाँच जनाको टोली राति नै दुर्घटनास्थलमा पुग्यो। 

दुर्घटना स्थलमा पुगेर फर्किएकी कलाकार उमाले भनिन्, ‘हामी पुग्दा अवस्था दर्दनाक थियो। महिमाका बुबा–आमा खबर सुनेपछि बेहोस थिए। हामीले त्रिशूली नदीमै उनको सत्गत् ग-यौँ।’ कठिनतापूर्वक सत्गत् गरे पनि परिवारको अवस्था नाजुक भएकाले केही सहयोग गर्न सकिन्छ कि भनी संघले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा पनि चासो देखाउनेहरु थिएनन्।

‘घटनास्थलमा रातारात जाने त भएनन्, तेह्र दिने स्मृतिसभामा गएर सम्झिदिने पनि कोही भएनन्,’ निर्मातासमेत रहेका पूर्वअध्यक्ष खड्काले चित्त कुँडाए।

‘उनले चलचित्र क्षेत्रमा दिएको योगदानको कदरसमेत भएन। कलाकारहरु कति स्वार्थी र निर्दयी भएका हुन् हौ ?’ उमा बेबीको प्रश्न थियो।


रविन्द्र खड्का

श्रद्धाञ्जली कार्यक्रममा कलाकारको न्यून उपस्थिति देखेपछि कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको चित्त नदुख्ने कुरै भएन। उनले कलाकार मर्दा मलामी पाउनसमेत मुस्किल हुन थालेकोमा चित्त दुखाए। उनले भने, ‘कोही कलाकार मर्दा अहिले फिल्म क्षेत्रका लोकप्रिय अनुहार देखिन छोडेका छन्। कलाकारहरु पैसामुखी भएका हुन् कि !’

महिमा सिलवालको दर्दनाक अन्त्य त एउटा उदाहरण मात्र हो। यस्ता थुप्रै उदारहण छन्, जहाँ फिल्मका कलाकार मर्दा लाश उठाउने मान्छेको अभाव त हुन्छ नै सबैभन्दा बिजोग प्राविधिकहरुको मृत्युमा देखिन्छ।

दुई वर्षसम्म बिरामी भएर थलिएका हाँस्य कलाकार आनन्द थापाको निधन अघि पनि न कसैले उनको हालखबर सोधे न त मृत्युपछि दुःख व्यक्त गर्न कुनै कलाकार आर्यघाट पुगे !

निर्देशक मदन घिमिरे पछिल्लो समय नेपाली फिल्म उद्योगमा मानवता हराउँदै गएकोमा चुक्चुकाए। ‘ब्वाइफ्रेण्ड’मा महिमालाई निर्देशन गरेका घिमिरे महिमा मात्र नभएर आर्थिक अवस्था दयनीय भएका सबै प्राविधिक र कलाकारप्रति यस्तो व्यवहार पछिल्लो समय एउटा नियमितता भएको उनी बताउँछन्।


माेहन निराैला

महिमा मात्र होइन, दीपक क्षेत्रीको निधन हुँदा पनि यही प्रवृत्ति देखिएको थियो। लामो समय बिरामी परेका क्षेत्रीको मृत्यु हुँदा आर्यघाटमा उनका सहकर्मीहरुसमेत देखिएनन्।

एक समयका चर्चित कलाकार क्षेत्री पछिल्लो समय ‘छ माया छपक्कै’मा समेत देखिएका थिए। ‘चलेकै कलाकारमा मर्दा त नेपाली सेलीब्रटी देखिएनन् भने आर्थिक रुपमा कमजोर प्राविधिक के त के कुरा ?’ निर्देशक घिमिरेले भने।

यति मात्र होइन, गएको साउन ३२ गते ‘चिनो’, ‘भाउजू’जस्ता सुपरहिट फिल्मकी अभिनेत्री सुभद्रा अधिकारीको निधन हुँदासमेत सीमित कलाकार झुल्किएका थिए। अभिनेत्री अधिकारीको श्रद्धाञ्जली सभामा उनीसँगै खेलेका अनेकन् चर्चित कलाकारहरुको अनुपस्थिति देखेर निर्मल शर्मा चकित भए। उनले भने, ‘मैले सुभद्रा अधिकारी दिदीको निधनमा नेपालका चलेका कलाकारहरुको मुख देखिनँ। अधिकारी परिवारले यत्तिका वर्ष फिल्म क्षेत्रमा काम गरेर उसले जाबो मलामी पाइनँ, अरु त कुरै छाडौँ भनेको कुरा मेरो कानमा ठोक्किरहेको छ।’


निर्मल शर्मा

शर्माले भने, ‘फिल्म उद्योगका चल्तीका कलाकारहरु आफू अजम्मरी छुझैँ सोच्छन्, उदेक लाग्छ !’ ‘हाम्रा कलाकारमा मानवता हराउँदै गएको देखिन्छ,’ गैँडा उपनाम समेतले चिनिने शर्माले भने, ‘झन् आर्थिक अवस्था कमजोर भएका कलाकारकोमा त को नै पो पुगेका छन् र ?’

पुराना पुस्ताका लेखक तथा निर्देशक मोहन निरौला पनि कलाकारमा मपाइँत्व हावी भएको बताए। ‘चिनिने/नचिनिने सबै कलाकार हुन्,’ उनले भने, ‘कलाकारका लागि  कलाकार नै चाहिन्छ। आर्थिक अवस्थाले कमजोर भएका कलाकार मृत्यु हुँदासमेत अन्य सहयोगको कुरा त परै छाडौँ, उपस्थितिसमेत नदेखिनु उदेकलाग्दो पक्ष हो।’

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको गुनासो त अझ बढी छ। फिल्म निर्माणमा ठूलो भूमिका हुने प्राविधिकको मृत्युमा त कुनै पनि कलाकारको उपस्थिति नभएको लामो समय भइसकेको बताउँछन्।
‘कलाकारकै मृत्यु हुँदा त कलाकारहरु आउँदैनन् झन् प्राविधिक मर्दा त के आउँछन् र ?’ पुष्करले भने, ‘अनेक बहाना गरेर तर्किने गरेका छन्।’
 
प्राविधिकको झन् बिजोग
एउटा कलाकारलाई प्रख्यात बनाउने काम र भूमिका प्राविधिकहरुको अझ बढी हुन्छ। कलाकार र प्राविधिक एकअर्काका परिपूरक जस्तै हुन् तर कलाकारले प्राविधिकलाई मान्छे जस्तो नठान्ने गुनासो पुष्करको छ।

प्राविधिकहरु बिरामी परे अस्पतालमा हेर्न जाने कुरा त परै छाडौँ, फोनसमेत नगर्ने प्रवृत्ति छ। छ महिनाअघि कृष्ण लामाको उपचारको क्रममा मृत्युभयो। उनको मृत्युमा केही प्राविधिकबाहेक कोही देखिएनन्। प्राविधिक संघका अध्यक्ष पुष्करले भने, ‘कलाकारको निधनमा नजाने कलाकार हाम्रा प्राविधिक मर्दा आउने कुरै भएन। कृष्णले धेरैलाई कलाकार बनाए तर उनले कलाकारलाई भने आफ्नो बनाउन सकेका रहेनछन् भन्दै चित्त बुझायौँ।’

निधनअघि कृष्ण लामाले पुष्करलाई भनेका थिए, ‘बिरामी भएर यत्तिका महिना थलिएँ, कसैले सान्त्वना दिन नआए पनि एक कल फोन कसैले गरेनन्। यत्रो वर्ष फिल्ममा बित्थामा बिताएँ।’
यस्तै अवस्था सहायक छायाँकार मानन्धर चौधरी र वरिष्ठ द्वन्द्व निर्देशक गोपाल भुटानीको निधनका बेला पनि देखिएको थियो।

चल्तीका अनुहारमा भिड
त्यसो त सधैँ अवस्था त्यस्तो देखिदैन। मंसिर २९ मा अचानक निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको दाहसंस्कारमा ठूलो भिड देखिएको थियो।

फिल्म निर्माण गरेर घाटा नै बेहोरेका भए पनि उनी शक्तिमा रहेका कारण भट्टराईलाई श्रद्धाञ्जली दिनेको राम्रै भिड थियो।

पत्रकारहरुको पनि राम्रै उपस्थिति थियो। केशव पत्नी नीता भट्टराईलाई ‘आमा’ फिल्मको टोलीले भेटेर नगद १ लाख १ हजार आर्थिक सहयोग गरेका थिए।

त्यस्तै तत्कालीन चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा गत वर्ष असोज २३ मा निन हुँदा उनको निवासमा कलाकारको राम्रै चहलपहल थियो। आर्थिक रुपमा सम्पन्न बोगटीको फिल्म सुटिङ स्टुडियो सञ्चालनमा थियो।


Leave A Comment