ट्वाइलेट पेपर चोर्ने पक्राउ

मङ्गलबार, २० फागुन २०७६, ११ : २३ शुक्रवार
ट्वाइलेट पेपर चोर्ने पक्राउ

हतियारधारी एउटा समूहले हङकङमा ट्वाइलेट पेपर डकैती गरेका छन्। उनीहरुले डकैती गरेको पेपर सयौँको संख्यामा रहेको एएफपीले जनाएको छ। पछिल्लो समय कोरोनाभाइरसको आतंक मच्चिएका बेला सरसफाईमा बढी नै ध्यान दिनुपर्ने सल्लाह सरकारले दिइरहेका बेला हङकङबासीमा सबैजसो सामग्री थुपार्ने चलन ह्वात्तै बढेका कारण यहाँ सरसामग्रीको अभाव बढ्दै जान थालेपछि ट्वाइलेट पेपरको डकैती भएको समाचारमा जनाइएको छ।

भाइरसले जतिसुकै सताए पनि सामग्री ठाउँमा पु-याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताइरहेको भए पनि सर्वसाधारणले भने सामग्री थुपार्ने चलन ह्वात्तै बढेपछि सामग्री अभाव चुलिन थालेको हो। सामग्री अभाव हुन थालेको चाल पाएपछि डकैतीमा रुचि राख्नेहरुले अलि बढी संख्यामा जे सामग्री पाइन्छ, त्यसलाई थुपार्न थालेका छन्। यही मारमा ट्वाइलेट पेपर पनि परेको केहीको भनाइ छ।

सामग्री नै तुरुन्तातुरुन्तै बिक्री हुने र कतिपय त डकैती नै हुन थालेपछि सुपरमार्केटलाई पनि तत्काल सामग्री भेला पार्न र पु-याउन सकस भइरहेको जनाइएको छ।

यसअघि नै चामल, पास्ता लगायतका वस्तुको अभाव भएको थियो। सबैभन्दा बढी अभाव त हात धुने स्यानिटाइजर र अन्य साबुनकै अभाव बढी देखिएको थियो।

गएको सोमबार ट्वाइलेट पेपर डकैती भएपछि प्रहरीले सक्रियतापूर्वक खोजी गरेको र यस कार्यमा संलग्न तीन जनालाई पक्राउ गरिसकेको जनाइएको छ। संगठित अपराधमा संलग्नहरुले यस्तो लूट मच्चाएको प्रहरीको भनाइ छ।

ट्वाइलेट पेपर ल्याइरहेको डेलिभरी म्यानलाइृ धम्क्याएर तीन जनाले चक्कु देखाई गाडी लिएर चम्पट ठोकेका थिए। सो ट्वाइलेट पेपरको मूल्य जम्माजम्मी १३ सय रुपैयाँ मात्र रहेको जनाइएको छ।

यस डकैतीमाथि सर्वसाधारणको मिश्रित प्रतिक्रिया आएको छ। ‘चोर्ने नै भए त मास्क चोरेको भए भइहाल्थ्यो नि, यो ट्वाइलेट पेपर चोरेर मुर्दारहरुले के गर्न खोज्या हुन् ?’ स्थानीय आइकेबलमा एक महिलाले प्रतिक्रिया दिएकी थिइन्।

हङकङमा यतिबेला ५८ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। यसलगत्तै यहाँ मास्कको चर्को अभाव सुरु भएको छ।

त्यसो त हरेक पटक ठूला भाइरसको आक्रमणले हङकङलाई पनि सताउने गर्छ। सन् २००३ मा पनि सार्सका कारण यहाँको अर्थतन्त्र ध्वस्त भएको थियो।

अरुभन्दा पनि यहाँ हरेक पटक अनलाइन हल्लाका कारण अधिकांशले दुःख पाउने गरेका छन्। अझ यो भाइरसको आक्रमणअघि यहाँ प्रजातन्त्रका पक्षधरहरुको आन्दोलन चलिरहेको थियो। कोरोनाको आक्रमणपछि भने आन्दोलन छिन्नभिन्न भएको छ।

सामग्रीको अभाव चुलिँदै जाँदा केही मानिसहरुले भने सामाजिक सञ्जालमा आफूले कुस्त भेला पारको सामग्री प्रदर्शन गर्ने भद्दा शैली पनि भित्रिएको छ।

आइतबार मात्रै पनि सहरी उपभोक्ता परिषदका अधिकारीहरुले कुनै पनि सामग्री अन्धाधुन्ध नथुपार्न सचेत गराएका छन्। कुहिएर जाने सामग्री त झनै जम्मा नगर्न भनेका छन्।

वेकलम सुपरमार्केट, जसको ट्वाइलेट पेपर चोरिएको हो, त्यस किसिमको कार्यलाई ‘वाहियात कार्य’ भनेको छ। उसले भनेको छ, ‘यसरी वाहियात कुरा थुपार्ने हो भने हाम्रो प्रयास निरर्थक हुन्छ। त्यसैले थुपार्ने होइन, आवश्यकताअनुसारका सामग्री मात्र जम्मा गर्नुहोस्।’

Leave A Comment