‘गेष्ट गेष्टबीच झगडा हुँदा डर लाग्छ’

मङ्गलबार, २० फागुन २०७६, १२ : ४८ शुक्रवार
‘गेष्ट गेष्टबीच झगडा हुँदा डर लाग्छ’

भ्वाइस अफ नेपालको सिजन २ मा नकआउटसम्म आएर आउट भएका मधु लामा चार वर्षदेखि चितवनको मोमेन्ट्स गजलबारमा गीत गाउँदै आएका छन् भने काठमाडौंको दरबार मार्गमा रहेको केही गजलबारमा पनि गाएका छन्। बारमा गाउँदागाउँदै भ्वाइसमा गाएका उनीसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी:

गजलबारमा कहिलेबाट गाउन थाल्नुभयो ?
चार वर्षदेखि गजलमा गाइरहेको छु।

त्योभन्दा अगाडि के गर्नुहुन्थ्यो ?
कतारमा थिएँ। कतारमा आठ वर्ष जति काम गरेर म नेपाल फर्किएको हुँ। एल्बम निकाल्छु भनेर गएको थिएँ।  तर, कतार गएको दुई महिनामै राम्रो काम गरेको देखेर हो कि के हो मलाई सुपर भाइजर बनाइदियो। त्यसै कारण उतै आठ वर्ष बिताएर नेपाल आएँ। नेपाल आएपछि बेरोजगार भइयो अनि गजलबार खोजेर गाउन थालेको हुँ।

कहाँ कहाँ गाउनुभएको छ ?
व्यावसायिक हिसाबले चितवनको नारायणघाटको लायन्स चोकमा एउटा मोमेन्ट्स गजलबार छ। यसमा काम गर्न थालेको हुँ। काठमाडौंमा मैले व्यावसायिक हिसाबले काम गरेको छैन। कहिलेकाहीँ दरबारमार्गको ‘किङ्स लाउन्ज एण्ड बारमा अनि उड्ल्याण्डमा पनि गाएको छु। यहाँ  साथीभाइसँगको चिनजानमा गाएको हुँ।

काठमाडाैं र चितवनमा के फरक पाउनुभयो ?
धेरै फरक त पाइनँ। एउटा क्राउनको कुरा गर्ने हो भने निकै फरक छ। यता अलिक बढी गेष्ट आउनुहुन्छ भने उता अलिक कम। शहरको हिसाबले हेर्ने हो भने काठमाडांै ठूलो भयो तर पनि चितवनमा कम छैनन्।

तपाईं गजल बाहेक अरुमा पनि गाउनुहुन्छ कि ?
चितवनमा धेरै गजलबार खुलेका छन्। अरुकोमा सबै खाले गीत बजाइन्छ गाइन्छ तर हाम्रोमा विशुद्ध गजल मात्र हो। मैले गजल मात्र गाउने गरेको छु।

गजलमै गाउनुको कारण के होला ?
मलाई गाउनमा सानैदेखि रहर थियो। बेलाबेलामा गाइरहेको पनि हुन्थेँ। श्रीमतीले पनि गायनमा एकदमै सपोर्ट गर्छिन्। जसका कारण नाइटमा काम गर्छु। काम नगरिकन गाह्रो छ नि। घरबाट नजिकै छ रमाइलो छ।

काठमाडाैंमा यात्रा गजलबार छ। यहाँ आएर गाउन सघंर्ष गरौँ भन्ने लागेन ?
काठमाडौंमा २०,२५ वर्ष बिताउँदा यहाँको धेरै रहनसहन बुझेको छु। काठमाडौंमा यति धेरै संघर्ष गर्दा पनि केही गर्न सकिएन। केही सीप नलागेपछि आफ्नै ठाउँतिर लागेको हुँ।

काठमाडौंभन्दा बाहिर त तलब पनि थोरै होला ?
तलबको त के आस हुन्छ र ? तलब भनेको २०, २२ हजार त हुन्छ। त्यो भन्दा पनि टिप्सको आस बढी हुन्छ। टिप्स नै राम्रै आउँछ। कहिले पाँच दस हजार कहिले त्यही पनि हुँदैन। भ्वाइस अफ नेपालमा गएदेखि मलाई धेरैले चिन्छन्। मधु लामाले गीत गाउने ठाउँ भन्दै धेरै गेष्टहरु आउनुहुन्छ। जे होस् खुसी लाग्छ।

गजलबारमा गाउदागाउदै भ्वाइस अफ नेपालमा जानुभएको हैन ?
हो, म गजलबारमा गीत गाइरहेको थिएँ। मेरै बुढीले भ्वाइस खुलेको छ जानु न भनिन्। उनको सपोर्टका कारण डिजिटल राउण्ड पार गरेँ। नकराउण्डमा पो आउट भएको हो त। मलाई पहिलो सिजनमै भ्वाइसमा जाने मन थियो। तर के–के गर्दा गर्दै अडिसन छुटेको थियो। दोस्रो सिजनमा भने भिडेँ।

गजलबारमा गाएकोले भ्वाइसमा कत्तिको सपोर्ट ग-यो ?
धेरै नै सपोर्ट गर्छ नि। घरमा कहिले रियाज गर्न पाएको हुँदैन। के हुँदैन तर गजलबारमा बेलुका सात बजेदेखि राति बाह्र बजेसम्म गीत गाउदा रियाज गरेको पनि भयो। आर्थिक पनि भयो। गायनमा मलाई एकदमै सपोर्ट गरेको थियो।

नाइटमा गाउदाको नमिठो अनुभव के छ ?
त्यस्तो नमिठो अनुभव भन्नाले कहिलेकाहीँ गेष्ट गेष्टबीच झगडा परिरहेको हुन्छ। यस्तो बेलामा भने डर लाग्छ।

Leave A Comment