'लुटेराबाट धन्न ज्यान जोगाएँ'

मङ्गलबार, २० फागुन २०७६, १२ : ५७ शुक्रवार
'लुटेराबाट धन्न ज्यान जोगाएँ'

शिवराज खड्का, नाइट ट्याक्सी चालक

ट्याक्सी चलाउन थालेको नौ महिना जति भयो। विदेशमा सात आठ वर्ष जति काम गरेपछि आफ्नै देशमा केही गरौँ भन्ने लागेर यस पेसामा लागेको हुँ। नेपालमा काम गरेर खान निकै कठिन रहेछ। ट्याक्सी भनेपछि जसले पनि हेपाहा प्रवृत्ति देखाउने ठग्ने काम हुने रहेछ। घरभाडा, अरु सवारी साधनको भाडा अरु सामान सबैको भाउ बढ्यो तर टयाक्सीको भाडा ज्यूँका त्युँ रहनुले हामी ट्याक्सीवाला समस्यामा परेका छौँ। सरकारी तवरबाट ट्याक्सी भाडा बढाइदिएको छैन। यसको कमाइले खान लाउनसमेत समस्या पर्न थालेको छ।

हाउमचमा धेरै परेँ
ट्यापेहरुको भेषमा मुख थुनेर आएका हुन्छन्। यो ठाउँमा जाँदा कति लिने हो भन्दा झ्याप्पै हाउमचमा परिस् भनेर तीन हजारको चिट थमाइदिन्छन्। मलाई सुन्धारामा एक चोटी, चाबहिलको धोवी खोला पुलमा एक चोटी यस्ता त धेरै चोटी परियो। कति लिने भनेपछि यति लिने त भन्नै प-यो। अनि यसमा अलिक समस्या आउँछ। अरुले दाम बढाएर राख्दा कारबाही भएको थाहा छैन। तर हामीले पचास रुपैयाँ बढी भनियो भने तीन हजारको चिट थमाइदिने कामले साहै्र मर्कामा परेका छौँ। उच्च अदालतले टुटल पठाओ बन्द गर्न आग्रह गर्दा पनि सरकार निराधार देखिएको छ। सरकारले हामीलाई नागरिक नै होइनजस्तो व्यवहार देखाउँछ।

महिलाबाट नै ठगिएँ
यात्रुले मलाई दुईपटक ठगेका छन्। एकपटक गैरीधाराबाट एकजना दिदीले बिगमार्क जाने भन्नुभयो। मैले हुन्छ भनेर चक्रपथ नजिकै रहेको बिगमार्क अगाडि लगेर रोकेँ। उहाँले मलाई आधा घण्टा कुर्नुस् म आउँछु अनि मलाई सामाखुसीतिर पु-यादिनुस् भन्नुभयो। मैले पनि यात्रु राम्रै फेला पारे कतै कुदिरहनु परेन भन्ने लागेर बसेँ तर उहाँ एक घण्टासम्म पनि आउनुभएन। नआएपछि खोज्न भित्र गएको कतै देखिनँ। त्यस्तै अर्को घटना गत सातातिरको हो। सुकेधाराबाट एकजना चेलीले  एकता बस्ती जाऊँ अनि त्यहाँबाट चाबहिल जानुपर्छ भन्नुभयो। मैले हुन्छ भनेर ट्याक्सी चढाएँ। उहाँ एकता बस्तीभित्र यसो छिर्नुभएको थियो। आधा घण्टाभन्दा धेरै भइसक्यो आउनु नै भएन। यसरी ठग्नेको त बिगबिगी नै छ।

लुटेराले लखेटे
दुई तीनजना यात्रु बौद्धगेटबाट बोकेर गोकर्णभन्दा माथि फुलबारी गुम्बा गएको थिएँ। यात्रुलाई मैले आरामले नै पु-याएर फर्कन तरखर गर्दै थिएँ। चारजना केटा एकआपसमा के गफ गरिररहेका थिए। मैले विचार गरिरहेको थिएँ। रातिको करिब एघार बजेको थियो। मलाई उनीहरुले आक्रमण गर्ने योजना बनाएको जस्तो संकेत पाएँ। हत्त न पत्त ट्याक्सी कुँदाएर ओरालो लागेँ। उनीहरुले मलाई दुईवटा मोटरसाइकलबाट चारजनाले लखेटेर नेपाल मेडिकल कलेजसम्म ल्याइ पु-याए। नेपाल मेडिकल कलेज अगाडि एउटा ट्याक्सी देखेर त्यसकै अगाडि  मेरो ट्याक्सी झ्याप्प रोकेँ अनि त्यो साथीलाई मेरो सबै कुरा बताएँ र उसले र मैले ट्याक्सीको हतो निकालेर अब जाइ लाग्नुपर्छ भनेर हान्नलाई तयार भएको उनीहरुले देखेपछि बल्ल भागे। पहिलो कुरा नाइटमा सुरक्षा नै छैन।

हामीले प्रहरीलाई खबर गर्ने अवस्था नै रहेन। आत्तिएको बेला कता प्रहरी कता मान्छे होस नै नहुने रहेछ।  नेपालमा नाइटमा सुरक्षा नै छैन। सुरक्षा नभएपछि भित्रभित्र जान पनि डर हुन्छ।

Leave A Comment