पछिल्लो समय विश्वमा मानसिक समस्या बढ्दै गइरहेको छ। कतिसम्मभने एउटा अध्ययनअनुसार नेपालमै पनि प्रत्येक चारमध्ये तीन जना मानसिक रोगका शिकार छन्। समस्यासँगै यससम्बन्धी सचेतना पनि बढ्दै गइरहेको छ। यसै बेला मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर निर्देशक कृष्ण खड्काले नाटक ‘सब ठीक छ’ तयार गरेका छन्।
‘सब ठीक छ’ इम्प्रोभाइजेसनबाट तयार भएको नाटक हो। यस नाटकले मानसिक समस्या झेलिरहेका बिरामी, बिरामीको उपचारका क्रममा अस्पतालमा देखिने समस्या साथै समाजले उनीहरुलाई हेर्ने नजरिया देखाउने प्रयास गरेको छ। अस्पतालभित्रका बिरामी, मनोचिकित्सक, मनोविश्लेषकको वरिपरि समग्र नाटक घुमेको छ।
फरक भूगोलबाट जम्मा भएका मानसिक बिरामीहरु उपचारार्थ समाज अस्पताल जम्मा भएका छन्। उपचारको क्रममा मासिक बिरामीहरुले देखाउने आत्मियता, रिस, राग अनि उनीहरुकै सम्झनाको कथाले समग्र नाटकको कथा बुनिएको छ।
अस्पतालको पर्खाल नाघेर स्वतन्त्र भएर बाँच्न चाहने गोपाललाई डाक्टर विनोदले उपचारका लागि भनेर बाँधेर राख्छन्। आफू ठीक भएको दाबी गर्ने गोपाल घर नै फर्कन जोड गर्छ। पहिलो पटक सफल उपचारपछि घर फर्किएका सफल कथामा बारबार आइरहन्छन् तर, स्टेजमा भने उनी देखिदैन्। उनको आत्महत्याले नाटकमा नयाँ मोड सिर्जना गर्छ।
त्यस्तै अर्को पात्र शंकर, जो प्रशव अवस्थामा स्वर्गारोहण भएकी श्रीमती र नाबालक सन्तानको माया भुल्न सक्दैन। बल्लतल्ल पूधर्ण निको भएर घर फर्किएका शंकर फेरी समाजबाट अस्पतालमा नै फर्कन चाहान्छ। त्यस्तै समलैंगिक प्रेम सम्बन्धका कारण मानसिक समस्यामा परेकी सुर्बिना केसीजस्ता पात्रहरु नाटकमा छन्।
केही कुरा ठीक नभएको अवस्था दर्शाउन नाटकको नाम नै ‘सब ठीक छ’ राखिएको छ। तर कथा बुनाइमा समस्यै समस्या भएकाले नाटकको नाम ‘सब ठीक छ’को ठाउँमा ‘क्यै ठीक छैन’ भन्ने राखेको भए उत्तम हुन्थ्यो।
नाटकमा प्रयोग गरिएको प्रप्सको दोहोरो प्रयोगले नाटकको ब्लकिङमा सघाउ पु¥याएको छ। त्यस्तै ध्वनि संयोजन पनि नाटकलाई राम्रो बनाउन मद्दत गरेको छ। नाटकमा सीमित बिम्ब प्रयोग भए पनि तिनको अर्थ स्पष्ट छन्। स–साना कुरालाई ध्यान दिन खोज्नु नाटक निर्देशकको सबल पक्ष हो।
लामो समयको अध्ययनपछि तयार पारिएको भनिएको यस नाटकको मूल समस्या कथा स्पष्ट नहुनु हो। मानसिक रोगीका बारेमा बुनिएको नाटक भए पनि हाम्रै वरिपरि देखिने पात्रका अनुहार नाटकमा देख्न पाइदैन। हाम्रो समाज नै मानसिक रोगको जड हो भन्ने निष्कर्ष नाटकले निकाले पनि ती पात्रको पृष्ठभूमि र कथा स्पष्ट रुपमा नखुल्दा दर्शक सहमत हुन सक्तैनन्। आरोपका लागि मात्र समाजलाई आरोप लगाइएको बोध हुन्छ।
मानसिक रोग जो कसलाई पनि हुनसक्छ र उपचारपछि यो ठीक हुन्छ भन्ने सन्देश नाटकले दिन खोजे पनि नाटकले विषयको गहनता झल्काउन सकेको छैन।
विषय गहिरो र त्यसलाई बुझाउन कथानकमा ढङ्ग नपु-याइएको भए पनि नाटक अवधि भर पर्खालमा नीलो बत्ती दिइरहनुले जतासुकै बन्धन नै बन्धन छ भन्ने दर्शाउन खोजिएको छ। नाटकमा फिजिकल प्रस्तुतिको प्रयोग राम्रो देखिएको छ।
नाटकमा दृश्य–दृश्य बीचको अन्तरसम्बन्धलाई राम्रोसँग महसुस गर्न सकिँदैन। पात्रहरुले आफ्नो चरित्रलाई न्याय गर्न खोजेका छन्। मानसिक बिरामीको उपचारार्थ खटिएका साइकोलोजिस्ट आफैँ मानसिक समस्याको शिकार हुन खोज्नुले मानसिक रोग जो कोहीलाई हुनसक्ने तर्कमा बल पु-याएको छ।
मानसिक स्वास्थ्य बिग्रिएर उपचारका लागि अस्पताल पुग्ने बिरामीलाई अस्पतालले कस्ता सास्ती, यातना र पीडा दिन्छ भन्ने पनि नाटकले देखाउन खोजेको छ। मानसिक स्वास्थ्य सबल बनाउन दिइने औषधिको प्रयोगले बिरामीमा पारेको नकारात्मक प्रभावलाई मेडिकल माफियाहरुको प्रयोगको रुपमा पनि लिन सकिन्छ। त्यस्तै नाटकमा देखिएका पात्र–पात्र बीचको अन्तरसम्बन्ध के थियो भनेर दर्शकलाई थाहा पाउन भने गाह्रो पर्छ।
सफल मानसिक उपचारपश्चात् बिरामी निको भएर घर फर्किए पनि पुनः अस्पतालमै भर्ना गर भन्न आउनुले हाम्रो समाजको अनुदार चरित्र देखाउँछ तर पागल, साइको लगायतका नामहरु समाजले दियो भन्दैमा पात्र विचलित नै भएर फर्की आउनुपर्ने कारण भने भेटिन्न। त्यस्तै स्टेजमा नदेखिएको तर नाटकमा महŒवपूर्ण पात्र सफलको आत्महत्या लेखोटले केही हदसम्म उपचारपछि समाजले स्वीकार गर्न नसकेको अवस्थालाई देखाए पनि सफलको कथा पूर्ण भने छैन। त्यस्तै अन्य पात्रहरुको उद्देश्य र लक्ष्य पनि नाटकमा प्रस्ट देखिएको छैन।
अस्पतालको सेटअपभित्र नै सकिएको नाटक हेरिरहँदा अस्पताल नभएर कुनै कोठा हो जस्तो मात्र झल्को दिन्छ। पात्रहरुले बोकिराखेका सामग्रीसँग तिनीहरुको सम्बन्ध पनि खुलेको देखिँदैन। तर नाटक अवधिभर दर्शकलाई कौतुहल उब्जाउन विभिन्न पात्रहरुबाट गराउने गतिविधिमार्फत् निर्देशकले भरमग्दुर कोसिस गरेको देखिन्छ।
मानसिक स्वास्थ्यजस्तो गम्भीर विषयमा इम्प्रोभाइजबाट तयार गरिएको नाटक ‘सब ठीक छ !’ सब ठीक नहुँदानहुँदै पनि ठीक हुने कोसिस गरिरहेको छ। सही सन्देश सही तरिकाले दिन आवश्यक कागजी मिहिनेतको अभाव देखिन्छ।
सर्वनामका पूर्व विद्यार्थीहरुको प्रस्तुति भएकाले विद्यार्थीहरुबाटै यत्तिको सिर्जना आउनु भने यसको निकै सबल पक्ष हो। नाटकमा धीरज थापा, बिन्दु बिएम, नवीन पौडेल, मुकेश हमाल, क्षितिज पराजुली, आशीष काफ्ले र कृष्ण खड्काको अभिनय रहेको छ भने यस नाटकलाई कृष्ण खड्काले नै निर्देशन गरेका छन्।
नाटक सर्वनाम नाटकघर, कालिकास्थानमा फागुन १६ देखि ३० सम्म मञ्चन हुनेछ।
Leave A Comment