जड्याहाले विनागल्ती कुट्न थाल्यो

मङ्गलबार, २७ फागुन २०७६, ०१ : ३२ शुक्रवार
जड्याहाले विनागल्ती कुट्न थाल्यो

केदार गौतम, ट्याक्सी चालक,बा२ज ९४७

मैले ट्याक्सीमा काम गर्न थालेको एघार वर्ष जति भयो। एघार वर्षको अवधिमा ट्याक्सीमा धेरै फरक पाएँ। पहिला ट्याक्सीमा इज्जत हुन्थ्यो अहिले त्यो गुम्दै गएको देखिन्छ। आर्थिक हिसाबले हेर्ने हो भने पछिल्लो समय यो पेसा नै धराशयी जस्तो भइसक्यो। नेपालमा राज्यले नै जनतालाई गरिखान नदेला जस्तै भइसकेको छ। मैले त्यो बेलादेखि ट्याक्सी चलाइरहेको छु। आर्थिकको मामलामा अहिले र पहिलेमा केही फरक पाएको छैन। दस वर्ष अगाडिको र अहिलेको भाडा उति नै छ। तेल, पाटपुर्जाको भाडा बढ्यो तर ट्याक्सी भाडा बढेको छैन।

खाली छैनभन्दा जरिवाना
कहिलेकाहीँ आफ्नै काममा हिँड्नुपर्ने हुन्छ। यस्तो बेला खाली छैन आफ्नै काममा जानु छ भन्यो भने पनि चिट काटिदिने गरेको छ। सरकारले ट्याक्सीबाट मात्रै कर उठाएर देश चलाउन खोजेको हो कि जस्तो लाग्छ। प्रहरीकहाँ जाउँ ठग भन्छन्। हामीले कहाँ ठगेको छ। ट्याक्सी चालकले ठगेर कहाँ महल बनाएको छ। ट्याक्सी चालक मर्कामा परेका छन्। हामीले बिहान ट्याक्सी निकालेर दिनभरिको कमाइले छोराछोरी पढाएर रातभरिको कमाइले घर खर्च चलाउनु परेको छ। गाडीको पैसा किस्तामा तिर्नु परिहाल्यो। यो पेसा छोडेर अर्को पेसामा जान पनि सकिएन। विना बर्दीमा आएका प्रहरी आएर हामीलाई फसाइरहेका छन्। हामीले ठगेका छैनाैं। होला कोही कोही नियमभन्दा बाहिर गए होलान्। नियमभन्दा बाहिर गएको खण्डमा कारबाही गर्दा हामीलाई गुनासो छैन।

यात्रुको कम्प्लेन धेरै
मलाई यात्रुले हावाको भरमा यात्रु बोक्न मानेन भनेर प्रहरीमा गुनासो सुनाएका छन्। मैले मेरो काममा जानु छ अर्को ट्याक्सी खोजेर जानु न भन्दा यात्रु बोक्न मानेन भनेर प्रहरीलाई खबर गर्नुभएको छ। यसले मलाई बग्गीखानासम्म पु-याएको छ। एकपटक यस्तो गुनासोका कारण तीन हजारको चिट काट्यो भने अर्को दिन खाना खान जान लागेको थिएँ। त्यो बेला पाँच सयको चिट काट्यो। फेरि अर्को दिन मेरो काम छ भन्दा भन्दै सुकेधारा चोकमा तीन हजारको चिट काटे। विनागल्ती मैले धेरै  सजाय भोगिरहेको छु। म मेरो कामका लागि बाहिर निस्कन  लागेको छु भन्दा पनि सुख पाइनँ। यस्तो बेलामा ट्याक्सीलाई मात्र सरकारले हेपेको जस्तो लाग्यो। अनि अर्को हाम्रो माग भनेको वैज्ञानिक भाडादर लागू हुनुपर्छ।

जँड्याहाले हातपात ग-यो
ट्याक्सी चालकलाई गाडी मोटर साइकललगायतले धेरै हेप्ने गरेका छन्। बेलुका सुकेधाराबाट रुम फर्कँदै थिए। एकजना मापसे गरेका यात्रुले मिटरमा खै कता जाऊँ भने। म खाना खान जान लागेको भनें। उनले मैले भनेको नमान्ने भनेर ओए के हो तेरो पारा भन्दै कुट्न थाले। हामीले सहेर बसिरह्यौँ। साथीहरुले छुट्याएर पठाउनुभयो। उनीहरुसँग भिड्न पनि मिलेन। हामीले त सधैँभरि मर्यादित भएर नै काम गर्नुपर्ने हुन्छ। नाइटमा सुरक्षा छैन, धेरै साथीहरु पुलमुनि लगेर कुटेका छन्।

Leave A Comment