नेपाली भाषाका उत्कृष्ट साहित्यकारः भवानीप्रसाद गुप्ता

शनिबार, ०४ भदौ २०७३, ०८ : ५५ डा. बलदेव शर्मा अधिकारी , Kathmandu
नेपाली भाषाका उत्कृष्ट साहित्यकारः भवानीप्रसाद गुप्ता

आज म हाम्रा आदरणीय कथाकार भवानी भिक्षु अर्थात् भवानीप्रसाद गुप्ताज्यूका विषयमा कुरो गर्दै छु । भवानीप्रसाद गुप्ताको जन्म लुम्बिनीक्षेत्रमा भएको हो । उहाँकी आमाले उहाँलाई अवधको भाषा अर्थात् अवधी भाषा बोल्न सिकाउनुभयो । भवानीप्रसाद गुप्ताको मातृभाषा अवधी भयो । तराई–मधेशमा जन्मनुभएको भवानीप्रसाद गुप्ताले सिङ्गो नेपाललाई आफ्नो मातृभूमि मान्नुभयो । सम्पूर्ण नेपालीलाई आफन्त ठान्नुभयो । विश्वकै सर्वमान्य शान्तिदूत तथा हाम्रा राष्ट्रिय विभूति गौतम बुद्धप्रति गौरव गरेरै उहाँले पैतृक थर गुप्ता हटाउनुभयो र भिक्षु राख्नुभयो । शान्तिका अग्रदूत गौतम बुद्धका शिष्यलाई भिक्षु भन्दछन् । शाक्य वंशका गौतम बुद्धसँग साइनो जोड्दै भवानीप्रसाद गुप्ता ‘भवानी भिक्षु’ नामले प्रसिद्ध हुनुभयो ।
    भिक्षा माग्नेलाई पनि भिक्षु वा भिक्षुक भन्दछन् । मध्यम वर्गीय परिवारका सदस्य उहाँले सगौरव भिक्षु उपनाम अर्थात् थर राख्नुको पछाडि विभिन्न कारणहरू होलान् मलाई चाहिँ उहाँलाई नेपाली भाषाका उपन्यासकार तथा कथाकार कुन कुराले बनायो भन्ने जिज्ञासा रह्यो । प्रारम्भिक अनुसन्धानबाटै जिज्ञासा शान्त भयो । अवधी भाषा  लुम्बिनीक्षेत्रभन्दा वरपरको तराईमा पनि बोलिन्छ । यो भाषा र नेपाली भाषा संस्कृतकै सन्तति भाषा हुन् । व्याकरण भिन्न हुनाले नेपाली र अवधी भिन्न भाषा हुन् । पैतृक वा मातृक शब्दभण्डारकै प्रयोग गर्ने हो भने यी दुई भाषाका बीचमा व्याकरणगत केही भिन्नता पाउन सकिन्छ । पैतृक वा मातृक शब्दभण्डार भनेकै संस्कृत भाषाको शब्दभण्डार हो । पैतृक शब्दभण्डार साझा हुन्छ ।
    नेपाली भाषा जान्नेले नेपालभित्रका अन्य विभिन्न भाषाका शब्दहरूको अर्थभन्दा मैथिली, भोजपुरी, थारू, अवधी आदि भाषाका शब्दहरूको अर्थ सजिलोसँग बुझ्नुको कारण ती भाषाहरू र नेपाली भाषाका बीचमा रहेको निकटतम सम्बन्ध नै हो । नेपाली भाषा संस्कृतबाट बनेको भाषा हो र उपर्युक्त भाषाहरू पनि संस्कृतबाटै बनेका हुन् । एकाक्षरी भई बनेका नेवारी भाषाका शब्दहरू पनि प्रायः संस्कृतकै शब्दहरूबाट बनेका छन् भन्ने कुरा नेवारी शब्दकोशकार कृष्णचन्द्रसिंह प्रधानले स्वीकार गर्नुभएको छ । लिच्छविकालीन नेपालको राजकीय भाषा संस्कृत थियो । मल्लकालकै अधिकांश अभिलेखहरू संस्कृत भाषामा पाइनुले पनि नेपालमा संस्कृत भाषाको प्रभाव प्रशस्त रहेको पुष्टि हुन्छ । नेपालका गुरुङ, मगर आदि भाषामा संस्कृतको प्रभाव रहेको दृष्टान्त भाषाशास्त्री डा. टीकाराम पन्थीबाट प्रस्तुत भएको छ । नेपालमा अन्य मातृभाषी नेपालीहरूका पनि प्रायः व्यक्तिवाचक नामहरू संस्कृतमै राखिएका छन् । शेर्पाली मातृभाषी एक जना  भिक्षुले केही वर्षअगाडि संस्कृत भाषालाई नेपालको सम्पर्क भाषा बनाउनुपर्ने स्पष्ट धारणा राख्नुभएको यथार्थ स्मरणीय छ ।
    नेपाली, मैथिली, भोजपुरी, थारू, अवधी आदि भाषा संस्कृतबाटै बनेको भन्ने कुरामा भाषाशास्त्रीहरूको एक मत छ । राष्ट्रिय जनगणनाको पछिल्लो तथ्याङ्क हेर्दा पनि संस्कृतबाट प्रभावित भाषा बोल्ने नेपालीहरूको सङ्ख्या ७५ प्रतिशतभन्दा बढी पुग्छ । अवधी मातृभाषी भवानी भिक्षु अर्थात् भवानीप्रसाद गुप्तालाई नेपाली भाषामा कथा तथा उपन्यास लेख्न सक्ने आँट संस्कृतकै शब्दहरूले दिएका हुन् । भवानीप्रसाद भिक्षुबाट रचित उत्कृष्ट कथा तथा उपन्यासबाट नेपाली भाषा र साहित्यलाई समृद्ध बन्न उल्लेख्य रूपमा सघाएको तथ्य बिर्सन सकिँदैन । नेपालमा भाषिक एकरूपता ल्याउनु छ भने संस्कृत भाषाका शब्दहरूको पठनपाठन हुनु अनिवार्य छ ।

 

Leave A Comment