टाइगरको अव्यक्त प्रेम

बिहिबार, २९ फागुन २०७६, ०१ : ३१ शुक्रवार
टाइगरको अव्यक्त प्रेम

टाइगर श्राफ बलिउडका सबैभन्दा क्षमतावान् कलाकारहरु मध्येका एक हुन्। उनले छोटो समयावधिमा नै आफूलाई एक सफल एक्सन हिरोका रुपमा स्थापित गरिसकेका छन्। उनको सुगठित शरीर र नाच्ने कलाको हरकोही महिला वा पुरुष कायल छन्।

टाइगरप्रति आकर्षित हुने महिलाहरुको संख्या अनुमान पनि गर्न सकिँदैन। यस्तोमा टाइगर भने कुन महिलाप्रति बढी आकर्षित छन् त ? यो कुरा उनले ‘बागी ३’ चलचित्रको प्रमोसनका दौरान सिद्धार्थ कन्ननलाई दिएको अन्तरवार्तामा खुलाएका छन्।

अन्तरवार्तामा टाइगरले आफूलाई श्रद्धा कपुर मनपर्ने र ऊप्रति निकै आकर्षित रहेको बताएका थिए। यो क्रम स्कुल जीवनदेखि चलेको पनि बताए। त्यस अन्तरवार्तामा श्रद्धा कपुर पनि उपस्थित थिइन् र टाइगरको यस खाले अभिव्यक्तिमा चकित भइन्। यस अभिव्यक्तिको प्रतिक्रिया स्वरूप श्रद्धाले भनिन्, ‘मलाई यो कुरा त थाहै थिएन। त्यसबेला थाहा भएको भए केही गर्न सकिन्थ्यो !’

टाइगरले सो अन्तरवार्तामा श्रद्धालाई आफ्नो भावना व्यक्त नगर्नुको कारण पनि खुलाए। त्यही कारण स्पष्ट पार्ने क्रममा उनले भने, ‘स्कुलमा म निकै डरपोक थिएँ। अहिलेको जस्तो बागी थिइनँ। त्यसैले उसलाई केवल टाढाबाट हेर्थेँ। नकारात्मक दृष्टिले होइन नि ! जब ऊ मेरो नजिक आउँथिन्, उसको कपाल आकर्षक रुपमा हावाको वहावमा उड्थ्यो।’

टाइगरले श्रद्धाप्रति यो खालको प्रेम र प्रशंसा विगतका विभिन्न अन्तरवार्ता र प्रेस इभेन्टमा पनि व्यक्त गरेका छन्। श्रद्धाको सुन्दरता र कामप्रतिको प्रतिबद्धता पनि खुलेर तारिफ गरेका छन्।

Leave A Comment