काइलिनको आक्रोश

बिहिबार, ०६ चैत २०७६, १२ : १० शुक्रवार
काइलिनको आक्रोश

अमेरिकी रियालिटी टेलिभिजन स्टार काइलिन लोरी तीन सन्तानकी आमा हुन्। रोचक कुरा के छ भने ती तीनै बच्चाको बाबु भने फरक–फरक हुन्। यस्तोमा उनले फेरि चौथो सन्तानकी आमा हुन लागेकी खबर सार्वजनिक गरिन् तर हुनेवाला बच्चाको बुबाको नाम भने खुलाइनन्।

जसै काइलिन गर्भवती भएको खबर सार्वजनिक भयो, अधिकांश फ्यानहरु लगायत मानिसहरुबाट उनी आलोचित भइन्। कतिपयले त इन्स्टाग्राममा डिएम अर्थात् डिरेक्ट म्यासेज गरे। प्रायः म्यासेजको आशय धेरै पुरुषहरुको पछि नलाग्नु, अलगअलग पुरुषसँग सम्बन्ध नराख्नु भन्ने नै थियो।

फ्यानहरु र मानिसहरूको नकारात्मक प्रतिक्रिया र टिकाटिप्पणीले आजित काइलिनले सम्पूर्ण आक्रोश सामाजिक सञ्जालमा व्यक्त गरिन्। उनले लेखेकी छन्, ‘तपाईंहरुले मेरो बारेमा धारणा बनाउन स्वतन्त्र हुनुहुन्छ तर मलाई कुनै पनि नकारात्मक म्यासेज पठाउनु भन्दा अगाडि एकपटक आफ्नो आत्मा मूल्यांकन गरेर हेर्नुहोस्। यस्तो म्यासेज गर्नुको कारण के हो ? के यस्तो गतिविधि गरेर तपाईं खुसी हुन सक्नुहुन्छ ? के तपाईंको त्यस खाले नकारात्मक प्रतिक्रियाले ममा तात्विक परिवर्तन आउला ?’

काइलिन यतिमा मात्र सीमित भइनन्। उनले थप स्पष्टीकरण दिँदै लेखिन्, ‘तीन फरकफरक पुरुषहरुको बच्चाको आमा बन्नु राम्रो होइन। यो कुरा म राम्रोसँग बुझ्छु। अहिले चौथो पटक आमा बन्न जाँदा मेरो आचरणमा नै प्रश्न उठ्ने गरी नकारात्मक टिप्पणी गर्नु गलत हो। तपाईंहरुको अनुमानजस्तो पुरुषहरुको पछि म लाग्दिनँ। सम्बन्ध राख्ने त परको कुरा।  त्यसैले मेराबारे अनावश्यक अफवाह र भ्रमहरु फैलाउन बन्द गर्नोस्।’
आशा राखौँ, काइलिनको यस्तो जवाफी हमलाले आलोचकहरुको मुख थुनिने छ।

Leave A Comment