‘चक्कुले हान्दा च्याप्प समाएर बचेँ’

बिहिबार, ०६ चैत २०७६, ०१ : ०३ शुक्रवार
‘चक्कुले हान्दा च्याप्प समाएर बचेँ’

दीपक तामाङ, नाइट ट्याक्सी,  बा२ज २२७४

नुवाकोटबाट काठमाडौं आएको लामो समयपछि ट्याक्सी चलाउन थालेको हुँ। ट्याक्सी पेसामा हात हालेको नौ दस वर्ष भइसक्यो। अहिलेसम्म पनि ट्याक्सी चलाइरहेको छु। नाइटमा धेरै खालका घटना हुने गरेका छन्।

होलीको रात चक्कु खाएँ
यही होलीमा मलाई गल्फुटारमा एकजनाले चक्कु हानेको छ। यी हात हेर्नु त मेरो औंला छिन्न मात्र बाँकी छ। मेरो रुम गल्फुटार हो। रुमअगाडिपट्टि ट्याक्सी पार्क गरेर बसिरहेको थिएँ। राति त्यस्तै साढे दस बजेको थियो। रात पर्दै गएपछि ट्याक्सीको सिट हल्का कोल्ट्याएर सुतेको मात्र थिएँ। एउटा २८,२९ वर्ष उमेरको मान्छे आएर ठमेल जाऊँ भन्यो। अहिले म रुममा सुत्न जान लागेको भनेँ। किनभने  यसो हेर्दा मान्छे ठिक जस्तो लागेन। उसले किन जाँदैनस् रे भनेर मुक्का हानिहाल्यो। आफू ट्याक्सीभित्र भएको मान्छेले के गर्नु। उसले बाहिरबाट बजाको बजाइ ग-यो। मैले रोक्ने प्रयास गरेँ। उसले गोजीबाट चक्कु निकालेको मैले देखिहालेँ। उसले मेरो घाँटीमा सायद चक्कु हान्ने थियो मैले हत्त न पत्त उसले हानेको चक्कु च्याप्प समातेँ। मेरा हातमा चक्कुको धार थियो। तर पनि मैले त्यो चक्कु छोड्दै छोडिनँ। ट्याक्सीबाट बाहिर बल्ल बल्ल निस्केँ र उसलाई लात्तीले हानेँ। अनि उसले चक्कु छोड्यो र भाग्यो। यसरी मैले मेरो ज्यान बचाएँ। नाइटमा ट्याक्सी चलाउन सजिलो छैन। दिउँसोभन्दा राति त्रास नै त्रास हुन्छ।  कसले कतिबेला के गर्छ पत्तै हुँदैन।

प्रहरीमा निवेदन
त्यतिखेरसम्म त मैले मान्छे पनि चिन्न पाइनँ। उसले हानेको चक्कु रोक्ने प्रयास मात्रै गरिराखेँ। म काटेको हात लिएर रुममा गएँ। रुममा जाँदा त त्यो मान्छे पनि रुममै आइपुग्यो। अनि मात्र मान्छे चिनेँ। बेलुका नै प्रहरीलाई खबर गर्नुप¥यो भनेको त्यो केटालाई घरबेटीले चिन्नुहुँदो रहेछ। भोलि प्रहरीलाई खबर गर अहिले नगर भन्नु भएको कारण मंगलबार महानगरीय प्रहरी बिट गल्फुटारमा निवेदन हालेको छु। प्रहरीले पनि समात्छु भन्नु भएको छ। 

दोस्रो घटना  
मैले ट्याक्सी चलाउन थालेको यतिका वर्षमा यस्तो घटना दुईपटक भएको छ। आजभन्दा चार पाँच वर्ष अगाडि ठमेलबाट दुई तीनजना केटा चढेर ढुंगेधारा जाऊँ भने। मैले हुन्छ भनेर लगेँ। त्यहाँ पुगेर पैसा माग्दा तीनजना नै मिलेर मलाई पिट्न खोजे। तँलाई के को पैसा खुरुक्क हिँड्छस् कि बजाइदिऊँ भन्न थालेपछि हल्ला खल्ला मच्चियो। ठूलो–ठूलो स्वरमा उनीहरु कराउन थालेपछि घर घरका मान्छे रोडमा निस्केपछि उनीहरु भागेका थिए। कुट्न भने पाएनन्। केही समय अगाडि हाम्रै साथीलाई दुई तीनजनाको समूहले यही गल्फुटार चोकबाट माथि लगेर लुटेका छन्। प्रहरीले तिनीहरूलाई समाउन निकै समय लगायो। अर्को साथीलाई पनि त्यसरी नै लैजाँदै गर्दा शंका लागेर प्रहरीले समाएको थियो।

Leave A Comment