मिस नेपाल प्रतियोगिता सर्‍यो

शुक्रबार, ०७ चैत २०७६, ११ : ४७ शुक्रवार
मिस नेपाल प्रतियोगिता सर्‍यो

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको मिति सारिएको छ। बिहीबार द हिडन ट्रेजरको बैठकले मिस नेपाल प्रतियोगिताका गतिविधिहरू आगामी वैशाख १८ सम्मको लागि स्थगित गर्ने निर्णय गरेको थियो।

‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको गतिविधि र फाइनलको मिति सारिएको छ,’ द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले भने, ‘आगामी वैशाख १८ पछि मिस नेपाल प्रतियोगिताको प्रतियोगी छनोट र फाइनलको मिति तोक्नेछौं।’

यसपटक मिस नेपालको फाईनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो। द हिडन ट्रेजरले मिस नेपालले धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन सिध्याइसकेको थियो। राजधानीको अडिसन बाँकी रहेको उनले बताए।

यसअघि मिस नेपाल २०२० को लागि आगामी चैत १४ सम्मको लागि आवेदन खुला गरिएको थियो। प्रतियोगितामा १८ देखि २६ वर्षका ५ फिट ४ इन्च उचाई भएका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरूले आवेदन दिनसक्ने मापदण्ड आयोजकले तोकेको थियो।

‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपालले प्रतिनिधित्व गरेरहेका ब्युटी प्याजेन्टहरूले फाइनल मितिहरू तोकेका छैनन्। हामीले मिस नेपालमा छनोट भएका उत्कृष्ट प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा सहभागी गराउँछौं, ’उनले थपे।

Leave A Comment