विस्थापित हुने डर छ

बुधबार, २६ चैत २०७६, ०२ : ०९ शुक्रवार
विस्थापित हुने डर छ

पेम्बा शेर्पा, नाइट ट्याक्सी चालक
                       
मैले ट्याक्सी चलाउन थालेको साढे तीन वर्ष भयो। योभन्दा पहिला म विदेशमै बसेर एक होटलमा काम गर्थेँ। केही वर्षको विदेशको कमाइ र केही पैसा ऋण लिएर आफ्नै देशमा केही काम गरौँ न भनी एउटा ट्याक्सी किनेँ। ट्याक्सी किनेर चलाउन थालेको यसमा त साहै्रै गाह्रो हुँदो रहेछ। सरकारले रोजगारी नदिएपछि आफैँ रोजगारी सिर्जना गरेर घर परिवार पाल्ने रहरलाई सरकारले नै विस्थावित गराउन लागि परेको छ। यस कारण यो ट्याक्सी बेचेर फेरि विदेश नै जाने योजनामा छु।

सरकारले भाडा समायोजन गर्ने कुरा गर्दैन। बत्तीस तेत्तीस लाखमा ट्याक्सी किनेर कति कमाउनु, कति ऋण तिर्नु र कति घर खर्च चलाउनु यसमा समस्या नै समस्या। यसले गर्दा विदेशका लागि भिसाको तयारीमा छु।

नेताको भाषण सुनेर फर्किएको
विदेशमा हुँदा नेताको भाषण सुनेर खासमा म नेपाल फर्किएको थिएँ। उहाँहरुले भाषणमा सबैलाई रोजगारी दिलाउँछु भन्ने कुरा अनलाइन, युट्युवतिर नि पढेँ सुनँे त्यसकारण अर्काको देशमा गुलामी गर्दिनँ भनेर नेपाल आएको हुँ तर यहाँ त नेताको बोली र गराइमा फरक पाएँ। नेपालमा त रोजगारीको के कुरा उल्टै दमन पो हुने रहेछ।  युएइमा रहेको राम्रो काम छोडेर परिवारसँग सँगै बसेर नेपालमा काम गरौँ भनेर फर्किएँ तर यहाँ मैले त्यस्तो वातावरण नै पाइनँ। टुटुल पठाओले व्यवसाय नै चौपट छ। ट्याक्सीलाई कुनै पार्किङको व्यवस्था छैन। ट्राफिक प्रहरीले पनि हामीलाइै नै लखेट्छ। सरकारले नै लुटेराको संज्ञा दिन्छ। विनागल्ती कसैले लुटेरा भन्छ भने किन बस्नु भनेर म फेरि युएइ नै जाने निधो गरेको छु।

नाइटमा चालकलाई जोखिम
मैले ट्याक्सी चलाउँदा त्यस्तो गाह्रो त केही भएको छैन। तर मेरा साथीलाई लुटेराहरूले कुटेका छन्। केही दिन अगाडि मात्र मेरा साथीलाई ठूलो भ-याङमा बाइकको समूह आएर ट्याक्सी तोडफोड गरिदिएका छन्। अहिलेसम्म ट्याक्सी चालकहरु कुटिने र मारिनेमा चालीस पचासजना पुगिसकेका छन्। जसको रेकर्ड प्रहरीमा छैन। केही दिन अगाडि दीपक तामाङमाथि छुरा प्रहार भएको छ, होलीको दिन राति साढे दस बजे गल्फुटारमा छुरा हानियो। नाइटमा ट्याक्सी चालकलाई यसरी हातपातका अलावा मार्नेसम्मका जोखिम त अत्यधिक छन्।

वैज्ञानिक भाडा दर खै
सरकारले हामीलाई वैज्ञानिक भाडादर लागू गरिदिएदेखि र सात वर्ष अगाडिदेखि नबढेको भाडा सरकारले बढाइदिए हाम्रो रोजीरोटी खोसिँदैन थियो होला। अहिले निजी सवारी साधनले यात्रु ओसारेपछि भाडाका सवारीले के गर्ने। हामीले नम्बर प्लेटका लागि भनेर आठ लाख तिर्नुपर्छ तर सरकारले टुटल पठओलाई सित्तैमा विनाकर चल्न दिइराखेको छ जसको कारण हामीलाई मार परेको छ। 

सरकारका सबैको तलब बढ्छ। हरेक चिजको भाडा बढ्छ तर ट्याक्सीको न भाडा बढ्छ न टुटल पठाओलाई सरकारले पनि करको दायरामा ल्याउँछ। कालो प्लेट राखेर यात्रु ओसारे यसमा हामी केही भन्देनौँ तर निजी सवारीलाई यात्रु ओसार्न दिँदैनाैं।
प्रस्तुति: भोला अधिकारी

Leave A Comment