कस्तो किसिमका घटनाहरु घरेलु हिंसा हुन्?

बिहिबार, २७ चैत २०७६, १२ : ५५ शुक्रवार
कस्तो किसिमका घटनाहरु घरेलु हिंसा हुन्?

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हो। घरेलु हिंसा हुनका लागि हिंसाको पीडक र पीडित दुवै घरेलु सम्बन्ध भएको हुनुपर्छ। घरेलु सम्बन्ध भनेको वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध हो र सो शब्दले सँगै बसेका जोडी वा अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीको सम्बन्ध हो।

शारीरिक यातना, मानसिक यातना, यौनजन्य यातना र आर्थिक यातना घरेलु हिंसाअन्तर्गत पर्ने अपराध हुन्। कसैले यस किसिमका व्यवहार घरभित्र महसुस गर्नु भएको छ भने अन्याय सहेर नबसी न्यायका लागि उजुरी गर्न सक्नु हुन्छ।

कानुनले के के गरेमा शारीरिक यातना मान्ने भन्ने कुरा पनि स्पष्ट रुपमा व्याख्या गरेको छ। शारीरिक यातना भन्नाले कुटपिट गर्नु, गैर कानुनी थुनामा राख्नु, शारीरिक चोट पु-याउनु, तेजाव वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरुप पारिदिनु वा यस्तै अन्य कुनै काम गर्नु वा गराउनु हो।

त्यसैगरी कसैले कसैलाई मानसिक तनाव दिन पाइँदैन। प्रत्येक नागरिकको सम्मानका साथ निर्धक्क भएर बाँच्ने अधिकार हुन्छ। कसैले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने गरेको छ भने, त्रासपूर्ण व्यवहार गर्ने गरेको छ भने वा गालीगलोज गर्ने, झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक, साँस्कृतिक, प्रथा, परम्पराका आधारमा भेदभाव गर्ने, रुप, रंग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्ने, मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्य गरेको छ भने त्यस्तो कार्यलाई मानसिक यातना दिइएको सम्झनु पर्छ र सो शब्दले मानसिक वा भावनात्मक चोट पुग्न सक्ने अन्य कुनै कामसमेतलाई जनाउँछ।

यौनको कुरामा कसैले कसैलाई जबरजस्ती गर्न पाउँदैन। ‘‘यौनजन्य यातना” भन्नाले यौनजन्य प्रकृतिको दुव्र्यवहार, अपमान, हतोत्साह वा आत्म सम्मानमा चोट पु-याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने कुनै पनि कार्य र्हो। यौनजन्य यातना दिनु पनि घरेलु हिंसाअन्तर्गत पर्दछ। कसैले यस्तो किसिमको यातना झेलिरहनु भएको छ भने पनि घरेलु हिंसाअन्तर्गत उजुरी गर्न सक्नु हुन्छ।

आर्थिक यातना भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य हो। महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दबाब दिने वा दाइजो नल्याएको कारणबाट गरिने घृणा, हेला वा तिरस्कारसमेत घरेलु हिंसाअन्तर्गत पर्दछन्।

Leave A Comment