राजनीतिक भागबण्डाले विवाद

बुधबार, २४ असार २०७७, ०१ : ०६ शुक्रवार
राजनीतिक भागबण्डाले विवाद

कोरोना संक्रमणका कारण देश लकडाउनमा रहँदा मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु मापदण्ड उल्लङ्घन गर्दै डिन, कलेज प्रमुख तथा विभागीय प्रमुखहरु नियुक्ति हुन थालेको छ। यसबाट असन्तुष्ट त्रिविका प्राध्यापकहरुले यस्तो कार्य नरोकिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।  
यसअघि अभियन्ता डा.गोविन्द केसी र सरकारसँगको सम्झौतामा विश्वविद्यालयहरुको जुनसुकै निकायमा वरिष्ठता र क्षमताको आधारमा नियुक्त गरिने उल्लेख गरेको भए पनि राजनीति पहुँचकै आधारमा विश्वविद्यालयका विभिन्न निकायमा नियुक्ति दिइएपछि त्रिविकै प्राध्यापकहरुले त्यसको विरोध गरेका हुन्।

राजनीतिक भागबण्डाका आधारमा १५ निकायहरुमा प्रमुखहरुको नियुक्ति भइरहेको छ। असार २० मा २२ वटा त्रिविका आंगिक कलेजका प्रमुखहरुको पदावधि सकिँदैछ। गएका दुई सातामा त्रिविका उपकुलपतिले राजनीति दबाबमै त्रिवि कार्यकारी परिषद्को निर्णय गराई पूर्व एमाले र पूर्व माओवादीलाई नियुक्ति गरेका हुन्। 
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा वरिष्ठतालाई मिचेर ३३ औं स्थानमा रहेकी प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई प्रधानमन्त्रीकै दबाबमा नियुक्ति गरेलगत्तै त्रिविका विद्यार्थी तथा प्राध्यापकहरुको आन्दोलन चर्केको हो। प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिविको यस गलत नियुक्तिलाई नसच्याए सडक आन्दोलन गर्ने चेतावनी दिएको छ। यति मात्र होइन, सत्तापक्षकै विद्यार्थी संगठनले पनि डिन नियुक्तिको विरोध गर्दै अनेरास्ववियुले आईओएमको डिन कार्यालयमा तालाबन्दी गरेको थियो। 

विश्वविद्यालयका उपकुलपति प्राडा.धर्मकान्त बाँस्कोटाले क्याम्पसमा आर्थिक हिनामिना गरी कर्मचारी नियुक्ति गरेको आरोपमा कार्बाहीमा परेकालाई समेत दलको मान्छे भन्दै कलेज प्रमुखको नियुक्ति दिन भ्याएको आरोप छ। त्यस्तै सिराहामा रहेको सूर्य नारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा सहप्राध्यापक रामहित यादवको नियुक्ति उपकुलपति बाँस्कोटाले गरेका छन्। पूर्व माओवादी यादवले आठ वर्षअघि पनि चारवर्षे क्याम्पस प्रमुखको नियुक्ति पाएका थिए। त्यतिबेला उनले आफू कलेज प्रमुख भएलगत्तै आर्थिक प्रलोभनमा परी कर्मचारीहरु नियुक्ति गरेको छानबिन समितिकै रिपोर्टले ठहर गरेको छ। हाल लकडाउनको समयमा त्रिविका उपकुलपतिले सोही कलेजमा विवादित व्यक्तिलाई पुनः क्याम्पस प्रमुख बनाउँदा कलेज नै धराशायी हुने त्रिवि प्राध्यापक संघका पूर्व अध्यक्ष योगेन्द्रनारायण बडबडिया बताउँछन्। बडबडियाका अनुसार उक्त कलेजमा हाल यादवभन्दा आठ जना सिनियर सहप्राध्यापक कार्यरत छन्। 

हाल त्रिविका सबै निकायमा नव नियुक्तहरु पूर्व एमाले र माआवादीकै व्यक्तिहरु छन्। वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा हालै नियुक्त सहप्राध्यापक राजदेव कुशवाहा पूर्व एमालेका हुन्। हालको यस्तो अवस्थामा त्यस कलेजमा प्रमुख नियुक्तिको हतारोले सिधैँ दलका कार्यकर्ता भर्ना गर्न मात्र नियुक्ति गरिएको प्रजातन्त्रवादी  प्राध्यापक संघ नेपालका अध्यक्ष जगत् तिमिल्सिनाले बताए। उपकुलपति बाँस्कोटाले लकडाउनको अवधिमा हालसम्म तेह्रथुुुुुम कलेज प्रमुखमा पूर्व एमालेका उपप्राध्यापक निर्मल खरेललाई नियुक्ति गरेका छन्। खरेल चार वर्षे कार्यकाल समाप्त गरी दोस्रोपटक चार वर्षे प्रमुखको नियुक्ति पाएका छन्।
गोरखा क्याम्पस प्रमुख उपप्रा रामशरण बानियाँ पनि पूर्व माओवादी हुन्। उनी पनि चारवर्षे कार्यकाल सकाएर पुनः आएका हुन्। इन्जिनियरिङ अध्ययन संस्थानको सहायक डिनमा प्राध्यापक चिन्तामणि पोखरेललाई नियुक्ति दिएको छ। उनी पनि पूर्व माओवादी हुन्।

आर्थिक हिनामिना गरी कर्मचारी नियुक्ति गरेको आरोपमा कार्बाहीमा परेकालाई समेत दलको मान्छे भन्दै कलेज प्रमुखको नियुक्ति दिन भ्याएको आरोप छ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको सहायक डिन उपप्रा किशोरचन्द्र दहाललाई डिनको नियुक्ति दिइएको छ। वरिष्ठ उपप्रा अम्बिका चन्दलाई हटाएर उनीभन्दा कनिष्ठ पूर्व माओवादी उपप्रा तुलसा सुनारलाई नेपालगञ्ज नर्सिङ क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ। यसैगरी त्रिविका पदाधिकारीले शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा पूर्व माओवादी प्रा. सुरेन्द्र गिरीलाई नियुक्त गरिएको छ। 
रेनु दाहालको दबाबमा चितवन इन्जिनियरिङ क्याम्पस प्रमुखमा उपप्रा सुदीप शर्मालाई नियुक्त गरिएको त्रिविका प्राध्यापकहरुको आरोप छ। महेन्द्र विन्देश्वरी क्याम्पस प्रमुखमा प्रा. सर्वेशचन्द्र मिश्रलाई पनि दोस्रोपटक प्रमुखमा नियुक्ति गरिएको छ। यसैगरी  काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसको प्रमुखमा सहप्रा जीवनधर ज्ञवालीलाई नियुक्त गरिएको छ। यस कार्यले पूर्व एमालेका ज्ञवालीभन्दा क्याम्पसमा रहेका अन्य वरिष्ठ प्राध्यापकहरु निराश बनेका जानकार बताउँछन्। 

यसैगरी इन्जिनियरिङ अध्ययन संस्थानको डिन नियुक्तिमा नेकपाभित्र गुटउपगुटबीच विवाद आएपछि पूर्व एमाले सुशीलबहादुर बज्राचार्यलाई अर्को व्यवस्था नभएसम्मका लागि  निमित्त डिन नियुक्ति गरिएको छ। विश्वविद्यालयका निकायहरुमा १६ वर्षसम्म अर्थात् चार कार्यकालसम्म एउटै विचारधाराका व्यक्ति नियुक्ति हुँदै आएकोले क्याम्पस तथा संस्थानहरुले कोल्टो फेर्न नसकेको अध्यक्ष तिमल्सिनाको ठहर छ।

भ्रष्टाचारमा दोषी ठहरिएकालाई दलकै दबाबमा सफाइ 
यति मात्र होइन केही महिनाअघि त्रिवि कार्यकारी परिषद्कै छानबिनले आर्थिक हिनामिनामा ठहर गरेकालाई असार ५ गतेको कार्यकारीले राजनीतिक दबाबमै सफाईसमेत दिन भ्याएको छ। सानोठिमी क्याम्पस भक्तपुरका प्रमुख रामप्रसाद भट्टराईलाई क्याम्पसमा कर्मचारी नियुक्ति तथा क्याम्पसका जग्गा कौडीको भाउमा लिजमा दिएको भन्दै आर्थिक हिनामिना गरेको भनी त्रिवि कार्यकारी परिषद्ले दोषी ठहर गर्दै पदबाट निलम्बनै गरेको थियो। यसैगरी इलाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद गुरागाईंलाई समेत कार्यकारीले आर्थिक हिनामिना गरेको भन्दै कार्बाही गरेको थियो तर असार ५ गतेको कार्यकारी बैठकले फुकुवा गरेको छ। 

‘दलको दबाब थेग्न नसकेकै कारण आर्थिक हिनामिना गरेको ठहर भएकोलाई समेत कार्यकारीका पदाधिकारीले फुकुवा गरेर प्रमुखकै जिम्मेवारीमा फर्काउनु त्रिविकै मानमर्दन भएको छ,’ अध्यक्ष तिमल्सिनाको भनाइ छ। 
यता आएका आरोपमाथि त्रिविका शिक्षाअध्यक्ष शिव भूषालले डा. दिव्याको नाम सर्च कमिटीले समान हैसियतवालासँगै सिफारिस गरेको र त्यसमा उनी परेकाले डिन नियुक्ति पाएको स्पष्ट पारे। यसका साथै आर्थिक हिनामिनामा क्याम्पस प्रमुखहरुमाथि प्रश्न खडा भएकाले छानबिन गर्दासम्म रेक्टर कार्यालयमा हाजिर गराएको र पछि दोषी नदेखिएपछि सफाइ दिएको बताए। ‘डा. दिव्यासँगै नाम सिफारिस भएकामध्ये उनी उत्कृष्ट र महिला भएकोले डिनमा नियुक्ति गरियो। महिलाहरु यति  ठूलो पदमा कहिल्यै पुगेका थिएनन् र हाल हामीसँग महिला पुरुषसँग हैसियतमा समान देखिएपछि योग्यता र क्षमताकै आधारमा  डा. दिव्यालाई  नियुक्ति गरिएको हो,’ शिक्षाअध्यक्ष भूषालले भने। सानो ठिमीका प्रमुखको छानबिन गर्दा गम्भीर त्रुटि नदेखिएकाले उनलाई निरन्तरता दिइएको जनाइएको छ। भूषाले भने, ‘अबका नियुक्तिहरु विश्वविद्यालयले मापदण्ड बनाएर गर्नेछ।’ 

Leave A Comment