निर्माता संघले बुझायो अति प्रभावित फिल्मको सूची

शनिबार, १० साउन २०७७, ०१ : ३९ शुक्रवार
निर्माता संघले बुझायो अति प्रभावित फिल्मको सूची

कोरोना भाइरसबाट अति प्रभावित क्षेत्रमध्ये एक चलचित्र क्षेत्र पनि हो। सरकार केही समयअघि सार्वजनिक गरेको बजेटमा पर्यटन, ट्राभल एजेन्सी लगायतलाई कोरोनाबाट अति प्रभावित क्षेत्रअन्तर्गत राखे पनि चलचित्रलाई त्यसमा समेट्न सकेको थिएन।

यसैलाई मध्यनजर गर्दै चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डमा अति प्रभावित चलचित्रहरुको सूची पेश गरेको छ। संघले अति प्रभावित फिल्मको सूचीसँगै अन्य बुँदाहरुसमेत समावेश गरेर बोर्डका अध्यक्ष दयाराम दाहाललाई ज्ञापनपत्र बुझाएको हो। 

अति प्रभावित ६३ ओटा फिल्मको नाम बोर्डलाई बुझाइएको छ। पत्र बुझाउन निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ उपाध्यक्ष उदय सुब्बा, उपाध्यक्ष माधव वाग्ले, वितरण तथा प्रदर्शन सभापति एवम् कार्यसमिति सदस्यहरु करण श्रेष्ठ, दीपेन्द्र के खनाल, ज्योतिराज राई, किसान पोखरेलका साथै निर्माता तथा अभिनेत्री रेखा थापा, निर्माता तथा निर्देशक शोभित बस्नेत, निर्देशक दीपेन्द्र लामा लगायत बोर्ड पुगेका थिए।

ज्ञापनपत्रमा उल्लेख गरिएका ६३ ओटा फिल्ममा वास्तविक पीडित फिल्म आधाभन्दा कम रहेको भन्दै आलोचना पनि भइरहेको छ। सामाजिक सञ्जालहरुमा पाँच वर्षअघि घोषणा गरिएका र अहिलेसम्म छायाँकनमा नगएका फिल्मको नाम पनि सूचीमा समावेश गरिएको आरोप लागेको हो।

फिल्म क्षेत्रका मानिसहरुको नजरमा अति प्रभावित फिल्म ११ ओटा मात्रै छ। जसमा प्रदर्शन मिति तोकिएका, नीरफूल, म यस्तो गीत गाउँछु २, चपली हाइट ३ र प्रेम गीत ३ छन् भने छायाँकनमा गएका ए मेरो हजुर ४, २ नम्बरी, तीन जन्तु, परदेशी २, गुञ्जन, देशान र विच्छेद रहेका छन्। 

 

Leave A Comment