लकडाउनले छताछुल्ल कलाकार !

शनिबार, १० साउन २०७७, ०१ : ५५ पुष्पा थपलिया
लकडाउनले छताछुल्ल कलाकार !

वर्षा राउत

नेपाली फिल्म क्षेत्रमा रुचाइएकी नायिका वर्षा राउतले एक अन्तर्वार्तामा नेपाल–भारत सीमा समस्याका बारेमा प्रतिक्रिया दिइन्। सिनेपाटी अनलाइनमा करिब २७ मिनेट गरिएको कुराकानीमा उनको ३० सेकेण्डको भिडियो आलोचित बन्यो। 

नायिका प्रियंका कार्कीसँगै डिजिटल रुपमा लिइएको अन्तर्वार्तामा वर्षा आलोचित बनेकी हुन्। अहिले उक्त युट्युब च्यानलमा कमेन्ट हेर्न नमिल्ने बनाइएको छ। भाइरल भएको ३० सेकेण्डको भिडियोमा वर्षाले भनेकी छन्, ‘आवेशमा नेपालको माया लाग्छ भन्दैमा ए हैन यो त हाम्रै हो, तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन नि ! त यो त टेबुल टक गरेर उताको गभरमेन्ट र यताको गभरमेन्ट मिलेर पो कुरा गर्ने हो नि त। यहाँ त झगडा पारिरहेको छ, दुवै पट्टिको जर्नालिस्ट मिलेर। अब इन्डियन फ्यानसँग मैले कसरी फेस गर्ने ? अनि इन्डियन फ्रेण्डस्हरुले मसँग कसरी फेस गर्ने भइरहेको छ, अहिलेको सिचुएसन चैं।’

टिप्पणीः नेपाल भारतको नक्सा विवादका सम्बन्धमा भारतीय फ्यानसँग कसरी फेस गर्ने
प्रतिटिप्प्णी स्भारतमा करोडौं फ्यान हुने मनिषा कोइरालाभन्दा धेरै फ्यान भएकी नायिका

पूजा शर्मा
नायिका पूजा शर्माको भिडियो भने लकडाउन भन्दा अगाडिको थियो। उनी फिल्मको प्रचार–प्रसारका क्रममा एक टेलिभिजनमा अन्तर्वार्ताका लागि पुगिन्। कार्यक्रम सञ्चालकले नेपालको नक्साबारे प्रश्न गरे, नेपालमा कतिओटा जिल्ला छन्। नायिकाले हाँस्दै १४ ओटा होला भनिन्। लगत्तै कार्यक्रम सञ्चालकले सोधे, त्यसो भए प्रदेश चैं कतिओटा छ। उनले कन्फिडेन्ट हुँदै भनिन्, ७२ ओटा त हो नि ! पछि खै मलाई त यस्तो कुरा थाहा छैन पनि भनेकी छन्।

यहि २६ सेकेण्डको भिडियो तीन महिनापछि टिकटकमा भाइरल हुनपुग्यो र सबैको नजरमा उक्त भिडियो क्लिप प¥यो। सामान्य ज्ञानसमेत नभएकी भनेर उनले निकै आलोचना खेप्नुप-यो।

टिप्पणीः नेपालमा १४ जिल्ला र ७२ प्रदेश छन्।
प्रतिटिप्पणीः सामान्य ज्ञानसमेत नभएकी नायिका।

साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन के.सी.
बोल्ड क्यारेक्टर, मनमगन स्वभावकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि अचानक चर्चामा आइन्। सामाजिक सञ्जालमार्फत आफू फिल्म क्षेत्रका मान्छेहरुबाट दुव्र्यवहारमा परेको भिडियो सार्वजनिक गरेपछि उनी सबैको नजरमा परिन्। त्यसलगत्तै नायक तथा निर्माता भुवन केसीले जुन थालमा खाएको, त्यसैमा दुलो पारेको स्ट्याटस फेसबुकमार्फत लेखे। 

त्यसपछि उनले फेरि भुवनले यौन दुव्यर्वहार गरेको भन्दै अर्का भिडियो बनाइन्। भुवन पनि के कम, फेसबुकमा स्टाटस लेख्न नपुगेर कलाकार संघमै बेइज्जतीको मुद्दा गराउन पुगे।

टिप्पणीः फिल्म क्षेत्रका मान्छेले दुव्र्यवहार ग-यो
प्रतिटिप्पणीः पहिले किन नबोलेको त? 
जवाफको टिप्पणी : जुन थालमा खायौ त्यसैमा दुलो पा-यौ
जवाफको प्रतिटिप्पणीः चोरको खुट्टा काट् भन्दा खुट्टा उचाल्यो

दीपाश्री निरौला
सफल निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला यतिखेर साइबर बुलिङ सिकारको मध्ये शीर्षमा छिन्। उनले एक टेलिभिजन सोमा राजेश हमाललाई महानायक हुन् र भन्ने प्रश्न उठाएपछि सबै मानिसहरु उनको पछि हात धोएर लागेका हुन्। अन्तर्वार्ता युट्युबमा आइसकेपछि आलोचना खेप्न सुरु गरेकी उनले माफीसमेत मागिन् तर उनलाई अहिलेसम्म कसैले बक्सेका छैनन्। घटना साम्य हुनुको सट्टा झनै दन्किरहेको छ। दीपाको पक्षमा कसैले चुईँक्क गरे मात्रै पनि त्यो निशानामा परिहाल्ने अवस्था छ।

टिप्पणीः राजेश हमाल महानायक हुन् र ?
प्रतिटिप्पणीः एउटा फिल्म सफल भएकाले बोसो उम्ल्यो कि क्या होे बूढीकन्या ?

दीपकराज गिरी
प्रायः आफ्ना अभिव्यक्तिले विवादमा आइरहने कलाकार हुन्, दीपकराज गिरी। त्यसैले यस्ता पंगा उनका लागि नौलो हैन। यस पटक भने हद भएको छ। उनले सबै कलाकारलाई अन्तर्वार्तादेखि होसियार रहन आग्रह गरेसँगै हुल बाँधेर मानिसहरु उनलाई गाली गर्न अघिसरेका छन्। उनीसँग दीपाको कुरा जोड्दै घरपरिवारका सदस्यमाथि पनि छेडछाड गरिएको छ। त्यसपछि प्रतिक्रियामा दीपक पनि भड्किन सुरु गरेका छन्। उनले आफूहरु सफल भएकाले रिस गर्नेहरुले यो सब गरेको, राम्रो फिल्म बनाउने ग्रुप र महानायकको ग्रुपमा वार चलिरहेको जस्ता अभिव्यक्तिले उनी झन् विवादमा तानिइरहेका छन्।

टिप्पणीः अन्तर्वार्तादेखि होसियार
प्रतिटिप्पणीः महानालायक

इन्टरनेटको सुरु हुनुभन्दा अघि मानिसको भँडास पोख्ने विकल्प केवल गाली थियो। गाली अर्थात् बोलेर गरिने अपराध। अहिले इन्टरनेट सुरु हुनेबित्तिकै सामाजिक सञ्जालमा लेखेर बेइज्जत गर्ने चलन बढेको छ।

यसैलाई जोड दिँदै सामाजिक सञ्जालमा लेखेर गरिने बेइज्जती सबैभन्दा धेरै राजनीतिक क्षेत्र र कला क्षेत्रमा हुने गरेको महानगरीय अपराध महाशाखाका साइबर सेल प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले बताइन्। उनले भनिन्, ‘हामीले सामाजिक सञ्जाल चियाउँदा देखिएका कुराहरु हुन् तर बेइज्जतीका मुद्दा यो दुई क्षेत्रका मुद्दा भने हामीसम्म निकै कम आइपुग्छ।’ धेरैजसो बाहिर देखिने भन्दा नदेखिने बेइज्जतीका मुद्दा धेरै दर्ता हुने पनि उनको अनुभव छ। 

के भन्छन् मनोविद् ?
मनोविद् गोपाल ढकाल भन्छन्, ‘डिप्रेसनको पहिलो सुरुवात निराशापन हो। जब मानिस निराश हुन्छ, ऊ रिसाउँछ, चिड्चिड गर्छ अनि अरुको बेइज्जत गर्न, गाली दिन हात धोएर पछि लाग्न थाल्छ। त्यसरी गाली दिँदा उसलाई आनन्द आउन सुरु गर्छ र हल्का महसुस पनि गर्न थाल्छ। एकपटक गाली बेइज्जती गर्दा पाएको आनन्दका कारण त्यस्तै सुखका लागि हरेक तरिकाले गाली बेइज्जतीमा उत्रन थाल्छ।

लकडाउनका बेला यस्ता समस्या पहिलेभन्दा अझै बढेको हो भन्ने प्रश्नमा मनोविद् ढकाल भन्छन्, ‘खाली दिमाग भनेको शैतानको खाल हो। जब मानिसहरु बेरोजगार हुन्छन्, उनीहरु गाली बेइज्जतीलाई रमाइलोका रुपमा प्रयोग गर्छन्।’ यस्ता मानिसहरुले विभिन्न फेक आइडी बनाएर लुकेर प्रहार गर्ने र बिस्तारै यो बानीमा परिणत हुन थाल्ने उनको भनाइ छ। 
त्यसो त गालीको सकारात्मक पाटो पनि भएको उनको भनाइ छ। भन्छन्, ‘जो मानिस मुखमा आएको बोल्छ, ऊ हत्तपत्त हात उठाउँदैन। तर सामाजिक सञ्जालमा हुने बेइज्जती भने कुण्ठा हो, त्यो कहिल्यै सकिँदैन।’

कानुनी कार्बाही
नेपालको मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २ मा गाली बेइज्जतीसम्बन्धी कसूरबारे उल्लेख गरिएको छ। जहाँ कसैले कसैलाई गाली वा बेइज्जती गर्न नपाइने कुरा उल्लेख छ।

अपराध संहिताको परिच्छेद (२) उपदफा (१) को (क) बेइज्जतीको बारेमा लेखिएको छ, अरुको इज्जतमा धक्का पु-याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तोे व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार, प्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रुपमा प्रयोग गरिएको कुनै चिज जानीजानी बिक्री वा बितरण गरेमा त्यो बेइज्जती ठहरिने छ।

यदि बेइज्जती गरेमा हुने सजायका सम्बन्धमा लेखिएको छ, कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुनेछ। तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिबाना हुनेछ।

त्यस्तै उपदफा (२) मा कसैले कसैलाई बेइज्जती गरे वा गराएकोे ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरेको भएमा त्यस्तो कुरा समेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्च समेत भराउनु पर्नेछ।

यदि यस्ता अपराध भएमा पीडितले तीन महिनाभित्र नै रिपोर्ट लेखाउनुपर्ने अन्यथा कार्बाही नहुने कुरा पनि उल्लेख गरिएको छ।

Leave A Comment