आकाशमा कोरोना सन्देश

सोमबार, १२ साउन २०७७, १२ : ४८ शुक्रवार
आकाशमा कोरोना सन्देश

कोरोना भाइरसबाट संसारभरि धेरै मानिसको ज्यान गइरहेको सन्दर्भमा कोरियामा भने यसबाट ज्यान जानेको संख्या निकै कम छ। किन त? यसको एउटा कारण त यसअघि देखिएको खतरनाक सार्स भाइरस नियन्त्रणमा कोरियाले निकै महत्वपूर्ण भूमिका खेलेको अनुभवले यसलाई नियन्त्रण गर्न उसलाई गाह्रो भएन। यतिबेला यहाँका शासकहरुको अर्को एउटा कदमको पनि चर्चा भइरहेको छ।

कोरोना भाइरसको कम प्रभाव र मृत्यु दर पनि कम हुँदा उनीहरु मख्ख परिरहेका छैनन्, बरु सर्वसाधारणलाई बेलाबेलामा झक्झक्याउने कार्य गरिरहेका छन्। गएको साता राजधानी सोलमा सर्वसाधारणलाई सचेत बनाउन र उत्प्रेरित गर्न सयौँ ड्रोनहरुलाई आकाशमा उडाइएको थियो। संसारभर कोविद १९ रोगसँग लडिरहेका र कोरियालीले यस रोगसँग सकारात्मक ढंगले जुझेर जित हासिल गरेको भनी बधाइ दिइएको थियो।

तीन सयभन्दा बढी ड्रोनलाई कोरियाको हान नदीमाथि उडाइएको थियो। ड्रोनले आकर्षक दृश्य सिर्जना गरेको हजारौँ सर्वसाधारणले हेरेका थिए।

ड्रोनले रमाइलो मात्र गराएनन्, मास्क लगाउन, हात धुन र दुई मिटर दुरी कायम राखी हिँडडुल गर्न समेत सुझाइएको थियो।
ड्रोनले कसरी मास्क नलगाउँदा एकअर्काबाट भाइरस सर्छ भनी दृश्यसमेत बनाएर देखाएका थिए। १० मिनेट लामो यो सोमा अस्पतालका चिकित्सक, नर्स र अन्य कर्मचारीप्रति कृतज्ञता ज्ञापन गर्ने अवसरका रुपमा समेत लिइएको थियो।

सोको अन्त्यमा ‘थ्याङ्क्यु’ लेख्दै गणतान्त्रिक कोरियालाई ‘खुसीयालीपूर्वक जीवन बिताउन’ सन्देश दिइएको थियो।
यस सोका बारेमा यसअघि कसैलाई पनि बताइएको थिएन। बताइएको भए मानिसको ओइरो लाग्ने डरका कारण यातायात मन्त्रालयले बिना सूचना नै यो कार्यक्रम आयोजना गरेको थियो।

Leave A Comment