चितुवा पाल्ने सेना प्रहरी हिरासतमा

सोमबार, १२ साउन २०७७, १२ : ५४ शुक्रवार
चितुवा पाल्ने सेना प्रहरी हिरासतमा

पोल्यान्डका एक पूर्व सैनिकको ठूलो सोख भनेको चितुवासँग दौडने थियो। त्यसका लागि उनले चितुवाको बच्चालाई पालेका थिए। गएको साता उनी चितुवासँग दौडदै गर्दा प्रहरीको फन्दामा परेका छन्।

खासमा उनका छिमेकी चितुवासँग दौडदै गरेको पूर्वसैनिक देखेर डराए। के थाहा, कुन बेला चितुवाले आफ्ना सन्तानमाथि आक्रमण गर्ने हो? यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। तर कसोकसो उनले यसबारे जानकारी पाइहाले। उनी तत्काल भूमिगत भए, चितुवाको बच्चासहित।

तीन दिन लामो खोजी र दुई सयभन्दा बढी प्रहरीको खोजी तैनाथीपछि अफगानिस्तान युद्धमा होमिएका ती सेनालाई चितुवासहित फेला पारिएको छ। 

कामिल स्टानेकलाई प्रहरीले खोजी गरेर फेला पारेको भने होइन। उनी स्वयं प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। सामान्य सोधखोजपछि कामिललाई प्रहरीले छाडिदिएको छ। कामिलले आफूले पालेको चितुवाको बच्चालाई नजिकैको चिडियाखानालाई जिम्मा लगाउने भएपछि प्रहरीले उनलाई छाडिदिएको हो। 
चितुवाको नाम कामिलले नुबिया राखेका थिए। 

घरमा खतरनाक जनावरलाई पाल्नु पोल्यान्ड मात्र होइन, नेपालजस्तै संसारका कयौँ देशले प्रतिबन्ध लगाएका छन्। प्रहरीले कामिलले जस्तै अन्यले पनि यस्ता खतरनाक जनावर पालिरहेका सर्वसाधारणलाई त्यसो नगर्न सचेत गराएको छ।

‘यो तपाईंले भनेजस्तो गर्ने खेलौना होइन है!’ पोल्यान्ड प्रहरीले आफ्नो फेसबुकमा पछि लेखेको छ, ‘यो त संसारकै खतरनाक जनावरमध्येमा पर्छ। मानिसको जीवनका लागि यी खतरनाक हुन्छन्।’

शुरुमा प्रहरीले उनको घरमा चितुवा पालिएको थाहा पाएपछि चिडियाखानाका केही कर्मचारी चितुवा लिन भनी गएका थिए तर पूर्व सेना कामिलले त चक्कु र छुरी देखाउँदै तिनलाई धपाएका थिए। यसपछि दुई सयभन्दा बढी प्रहरी त्यहाँ खटाउनु परेको थियो।

कामिलले यो चितुवालाई ६ महिनाअघि चेक रिपब्लिकबाट किनेर ल्याएका थिए। त्यसयता उनले घरैमा पालिरहेका थिए।

त्यसो त कामिलको यस प्रयासलाई राम्रो मान्नेहरुको पनि कुनै कमी छैन। फेसबुकमा उनका समर्थकहरुले लेखेका छन्, ‘अदालतको निर्णय गराएर कामिलबाट नुबियालाई खोस्नु कठोर मुटुका मानिसले मात्र सक्छन्।’

हुन पनि कामिलले अदालतबाट आदेश ल्याए मात्र आफूले नुबियालाई त्याग्ने बताएपछि उनीहरु घरबाट फिर्ता गएका थिए। त्यसपछि उनी नुबियालाई लिई जंगलतर्फ भागेका थिए। कामिल र नुबिया खोज्न त्यसपछि प्रहरीले दुई सयभन्दा बढी जवान खटाएको थियो।

 

Leave A Comment