उद्योग वाणिज्य महासंघको निर्वाचन नेतृत्व लिन रस्साकस्सी

मङ्गलबार, १३ साउन २०७७, १२ : ४८ दिलीप पौडेल
उद्योग वाणिज्य महासंघको निर्वाचन नेतृत्व लिन रस्साकस्सी .नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको प्यानल

कोभिड–१९को प्रकोप नआएको भए नेपाल उद्योग वाणिज्य महासंघले गत चैतमा नै नयाँ नेतृत्व पाउँथ्यो। कोरोनाको कारण गत चैत्र २८ र २९ गतेका निर्धारित ५४औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम स्थगित भएपछि नेतृत्व चयन हुन पाएन।

कोरोनाको संक्रमण घट्दै गएपछि निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघको साधारण सभा साउन २६ र २७ गते गर्ने मिति तय भएको छ। साधारण सभा हुने भएपछि महासंघमा नेतृत्व लिन रस्साकस्सी सुरु भएको छ।

महासंघको प्रचलित विधानअनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुन पाइन्छ। अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुँदैछन्। आगामी अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षको निर्वाचन पेचिलो बनेको छ। महासंघ उद्योगी, व्यवसायीको छाता संस्था भए पनि राजनीतिक दाउपेच सुरु भएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको प्यानल

नेतृत्व आफ्नो पक्षमा पार्न अहिलेका उपाध्यक्ष द्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आफ्ना प्यानल नै बनाएर वरिष्ठ उपाध्यक्षका लागि चुनावी मैदानमा होमिने तयारी गरेका छन्।

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकालको समूहले बालुवाटारको परेली ब्यांकेटमा मंगलबार प्यानल घोषणा गरेको केही घण्टा अर्का प्रत्यासी किशोरकुमार प्रधानको समूहले ललितपुरको याक प्यालेसबाट प्यानल घोषणा गरे। ढकाल प्यानलबाट उद्योग वाणिज्य संघ जिल्ला, नगर समूहको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत संघको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दिने घोषणा गरेका छन्। 

प्रधान प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतीले उम्मेदवारी दिने भएका छन्। ढकालको उम्मेदवारी घोषणामा महासंघको निर्वाचनमा खेलाडी मानिँदै आएका पूर्व अध्यक्ष चण्डीराज ढकाललगायत उपस्थित थिए भने प्रधानको उम्मेदवारी घोषणामा महासंघको भावी अध्यक्ष हुन निस्चित भैसकेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा थिए।

आफ्नो उम्मेदवारी घोषणामा चन्द्र ढकालले वरिष्ठ उपाध्यक्ष गोल्छालाई कटाक्ष गरेको केही घण्टामै गोल्छाले अर्को मञ्चबाट जवाफ फर्काए। उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बन्ने प्रावधान हटाउने बहस चलेको थियो। गोल्छा अर्का उम्मेदवारलाई सघाउने संकेत पाएपछि गोल्छाप्रति लक्षित गर्दै ढकालले भने, ‘वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव हटाउनु हुँदैन भनेर लविङ गर्ने को हो ? ढकाल त्यतिमै रोकिएनन् र उनले भने, ‘शेखर गोल्छाले नै नेतृत्व पाउनुपर्छ भनेर मेहनत नगरेको भए अहिलेको वातावरण के हुन्थ्यो ? ढकालले भने, ‘शेखरजीले यो कुराको हेक्का राख्नुपर्छ।’ 

ढकालले गोल्छालाई प्रश्न तेस्र्याएको केही घण्टामा गोल्छाले त्यसको जवाफ ललितपुरको एक होटलबाट दिए। गोल्छाले भने, ‘विधान संशोधनको तरबार घाँटीमा राखेर हटाउन चाहनेलाई धन्यवाद दिन चाहन्छु।’ चन्द्रको पक्षमा खुलेर लागेका चण्डी विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउने लबिङमा लागेका थिए। त्यो प्रस्ताव अस्वीकृत भैसकेको छ। गोल्छाले आफूलाई ६ महिनामा हटाउने योजना बुनेको भन्ने सुनेको भनेर पनि कटाक्ष गरे। ‘म अध्यक्ष भएपछि ६ महिनामा हटाउने योजना बनेको सुनेको छु। यस्ता प्रवृत्तिविरुद्ध लड्न हामी सबै एकजुट हुन आवश्यक छ,’ गोल्छाले भने। यो भनाइ चण्डीराज ढकालप्रति लक्षित थियो।

यसले के देखाउँछ भने महासंघको निर्वाचनमा नेतृत्व लिन ठूलो रस्साकस्सी भैरहेको छ। गोल्छाले कठिन परिस्थितिमा अध्यक्षको नेतृत्व लिन लाएको बताउँदै निजी क्षेत्रलाई डो¥याउने रोडम्याप तयार पारेको दाबी गरे। ‘हामी इतिहासकै कठिन अवस्थामा छौं,’ गोल्छाले भने, ‘मेरो कार्यकालका लागि रोडम्याप तयार पारिसकेको छु।’ आफू महासंघमा राजनीतिक गर्न आएको नभई उद्योगी व्यवसायीको संर्घष र पीडामा साथ दिन आएको दाबी गरे।

उम्मेदवारी घोषणा गर्दै ढकालले आफ्नो समूहमा साना तथा मझौला व्यवसायदेखि ठूला व्यावसायिक घरानासम्मको प्रतिनिधित्व गरेको ढकालको दाबी छ। निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा भएको बताउँदै समृद्धिको यात्रामा निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन नसकेको गुनासो गरे। ‘औद्योगिक र व्यापारिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ,’ ढकालले भने, ‘सरकारले निजी क्षेत्रलाई सघाउनु पर्छ।’  मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आफूले पहल गर्ने ढकालले बताए। प्रधानले आफू निर्वाचित भए व्यवसायीको भवनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। महासंघमा लामो समयदेखि आफ्नो योगदान रहेको उनले दाबी गरे।

दुई प्यानल
वरिष्ठ उपाध्यक्ष– चन्द्रप्रसाद ढकाल
जिल्ला, नगर उपाध्यक्ष– गुणनिधि तिवारी
वस्तुगत संघ उपाध्यक्ष– उमेशलाल श्रेष्ठ
एसोसिएट उपाध्यक्ष– रामचन्द्र संघई

वरिष्ठ उपाध्यक्ष–किशोर प्रधान
जिल्ला, नगर उपाध्यक्ष– दिनेश श्रेष्ठ
वस्तुगत उपाध्यक्ष– अन्जन श्रेष्ठ
एसोसिएट उपाध्यक्ष– सौरभ ज्योती

Leave A Comment