‘एसिड छ्याप्नेलाई कस्तो सजाय दिने ?’

बुधबार, २१ साउन २०७७, ०१ : २९ शुक्रवार
‘एसिड छ्याप्नेलाई कस्तो सजाय दिने ?’

अचेल हाम्रो देशमा चेलिबेटीलाई तेजाब छ्याप्ने विकृति बढेको छ। यस्तो अपराध गर्नेलाई हाम्रो कानुनले कस्तो सजाय दिने व्यवस्था गरेको छ ? यस्तो किसिमको अपराधमा हद म्याद तोकिएको हुन्छ कि हुँदैन ?

कसैको अंगभंग हुने गरी कुनै पनि किसिमको कार्य गर्नु अमानवीय व्यवहार हो र कानुनी अपराध पनि। हरेक व्यक्तिको स्वतन्त्र भएर हिँड्न पाउने अधिकार हुन्छ, कसैले कसैलाई कुनै पनि किसिमको शारीरिक या मानसिक तनाव दिनु गैरकानुनी कार्य हो। अझ कसैको शरीरमा तेजाब नै फ्याँकेर चोट पु-याउनुलाई मानवीय प्रवृत्ति मान्नै मिल्दैन। मुलुकी फौजदारी संहिता,२०७४ अनुसार कसैले कसैको अङ्गभङ्ग गर्न वा गराउन हुँदैन। कुटपिट गर्नु वा अंगभंग हुने गरी कुनै काम गर्नु फौजदारी अपराधअन्तर्गत पर्दछ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १४ मा कुटपिट वा अंगभंगसम्बन्घी कसुरको बारेमा उल्लेख गरिएको छ। कसैले कसैलाई जानीजानी कुटपिट गर्दा यदि कुटपिट गरिएको व्यक्तिको आँखाको हेर्ने शक्तिहीन गरी वा आँखा फोरी दृष्टिविहीन भएमा, नाकको सुँघ्ने शक्तिनाश भएमा, कानको सुन्ने शक्तिनाश भएमा,  जिब्रोको बोल्ने शक्ति नाश भएमा,  महिलाको स्तन काटिदिएमा, महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा, मेरुदण्ड, डँडाल्नु, हात खुट्टा वा त्यस्ता अंगको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएमा, कुटपिटको कारणबाट आफ्नो पेशाको काम गर्न नसक्ने गरी अक्षम बनाइदिएमा अङ्गभङ्गको कसुर गरिएको मानिन्छ।

त्यसैगरी तेजाब छ्यापेर कसैलाई हानि पु-याउनु पनि जघन्य अपराध हो। मुलुकी फौजदारी संहिता, २०७४ को दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरेर कसैलाई कुरुप बनाउन पाइँदैन। कसैले कसैलाई जेसुकै कारणले होस् तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन। यदि कसैले त्यस्ता क्रुर काम गर्छ भने कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पु-याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था कानुनमा रहेको छ। यस्तो प्रकृतिको घटनामा पिडकबाट प्राप्त जरिवाना पूरै रकम पीडितलाई क्षतिपूर्ति वापत दिइने चलन छ।

कुनै पनि घटना घटिसकेपछि न्यायका लागि पहल गर्ने हो भने हदम्याद कहिलेसम्म छ बुझिहाल्नु जरुरी हुन्छ किनभने हदम्याद नाघेपछि गरिएको गुहारले न्याय पाइँदैन र कानुनको अज्ञानता क्षम्य पनि हुँदैन। त्यसैले यस्ता किसिमको कसुर गरेमा बेलैमा उजुरी गरिहाल्नु पर्दछ किनभने त्यस्तो कसुर भएको मितिले एक वर्ष नाघेपछि उजुर नलाग्ने कुरा ऐनमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

Leave A Comment