शासकका विशेषता

बुधबार, ०८ भदौ २०७३, ०९ : २७ कणिकनीति , Kathmandu
शासकका विशेषता

शासक सोझो र नरम भयो भने सबैले हेला गर्छन् । कठोर भयो भने पनि सबै उनीदेखि डराएर आत्तिन थाल्छन् । तसर्थ, शासकले समयानुसार आफ्नो स्वभाव कायम राख्नुपर्छ । अर्थात्, कडा हुनुपर्ने बेलामा कडा र नरम हुनुपर्ने बेलामा नरम हुनुपर्छ ।  नरमपनले गरमपनलाई मत्थर गर्छ । नरमपनद्वारा कठोरता दब्दछ । शासक नरम मिजासद्वारा नै सबै काम गर्न सफल हुन्छन् । नरमपना सफलताको उपाय हो । यसद्वारा गर्न नसकिने भन्ने कुनै काम छैन । नरमपनले नै कठोरताले गर्न नसक्ने काम सफल पार्ने हुनाले कार्यसिद्धिको निम्ति यसको ठूलो महŒव छ । समयानुसार नरम र कठोर बन्न जान्ने व्यक्तिले आफ्ना सबै काम सफल पार्छन् । साथै, शत्रुउपरसमेत उनीहरूको नियन्त्रण रहन्छ । भित्रभित्रै रिस उठिरहे पनि देखावटीमा नरिसाएको जस्तो हुनुपर्छ र मुस्कुराएर कुराकानी गर्ने बानी बसाल्नुपर्छ । रिसको आवेगमा आएर अरूलाई तिरस्कार गर्नु हुँदैन । शत्रुलाई प्रहार गर्दागर्दै र आक्रमण गर्नुअघि मीठो वचन बोल्नुपर्छ । शासकले अरूका दोष, अवगुणलाई प्रकट गर्नु हुँदैन । गोप्य विषयहरूमा गोपनीयता राख्न सँधै नै प्रयत्न गर्नुपर्छ । अरूका देशका गुप्तचरहरूसँग आफ्नो अनुहार पनि गुप्त राख्नुपर्छ । रिस, खुशी प्रकट हुने व्यवहार वा चेष्टासम्म पनि गर्नुहुँदैन । साथै, आफ्ना गुप्तचरसँग समेत आफ्ना गुप्त कुरालाई गोपनीय राख्नुपर्छ । मौका हेरेर करजोरी नमस्कार गर्नु, शपथ लिनु, आश्वासन दिनु, खुट्टामा लम्पसार परेर ढोग्नु, आशान्वित तुल्याउनु आदि कार्य ऐश्वर्य चाहने शासकले गर्नुपर्छ । शासकले कुराकानी गर्दा अत्यन्त विनयशील हुनुपर्छ । तर, मनभित्र छुराजस्तो धारिलोपन राख्नुपर्छ । अत्यन्त भयानक काम गर्दै छ भने पनि शासकले मुस्कुराएरै कुराकानी गर्ने गरोस् ।
 

Leave A Comment