वर्गीय प्रेम

बुधबार, ०८ भदौ २०७३, ०९ : ४४ ईश्वर दाहाल , Kathmandu
वर्गीय प्रेम

पत्रकार महोदयलाई प्रधानमन्त्रीको समय पाउन ठूलै साधना गर्नुप¥यो । भर्खरै कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्रीको समय पाउन कठिन हुनु अस्वाभाविक थिएन । धेरैतिरबाट भनसुन गर्न लगाएपछि बल्लतल्ल समय मिल्यो । अन्तर्वार्ता छपाएर प्रधानमन्त्रीसँग आफ्नो विषेश सम्बन्ध रहेको लोकलाई देखाउन उनलाई चर्काे हतारो थियो । त्यसैले उनले प्रधानमन्त्रीसँगको अन्तर्वार्तालाई जीवन–मरणकै सवाल बनाएका थिए ।
साँझ, आधा घण्टालाई प्रधानमन्त्रीको समय मिलेको खबर पाएपछि पत्रकार महोदयले अहोभाग्य महसुस गरे । उनलाई जीवनकै महŒवपूर्ण उपलब्धि हात पारेजस्तो भयो । कुरो देशका प्रधानमन्त्रीसँगको अन्तर्वार्ताको थियो । सोध्ने सवाल र सन्दर्भका लागि उनले दिनभर तयारी गरे । अक्सर ठूलाबडाहरूसँगको अन्तर्वार्तामा जाँदा बोल्ने लवज, शारीरिक हाउभाउ र सोध्ने प्रश्नहरूको पनि ख्याल गर्नुपर्छ । मलखाद नपाएको किसान, पेट्रोलको लाइनमा बसेको ड्राइभर र फुटपाथमा मकै बेचिरहेकी आमैसँग जस्तो जे सोधे पनि हुने शैलीमा प्रधानमन्त्रीसँग कुरा गर्न पनि मिलेन । अक्सर पत्रकारहरू रिपोर्टिङ वा अन्तर्वार्ताका लागि ठूला मान्छेहरूसँग कुरा गर्दा धेरै सोचविचार गर्छन् । तर, आम मानिससँग भने उनीहरूले खासै सोच्नु, विचार्नु पर्दैन । सोधाइले आमहरूको आत्मसम्मानमा ठेस पु¥याउँदा खास असर पर्दैन । किनकि, उनीहरूसँग कुनै भनसुनको अपेक्षा हुँदैन । कुनै शुभलाभको आशा हुँदैन । उनीहरू त मात्र समाचारका कच्चापदार्थ हुन् । जसको दुःखको कथाले पत्रकार हिट हुन्छ । त्यसपछिबाट उनीहरूसँग खासै लेनादेना हुँदैन । तर, प्रधानमन्त्री, मन्त्री, नेता वा ठूलाबडाहरू पत्रकारको जीवनमा कहाँ कसरी ठेस लाग्छन्, पत्तो हुँदैन । त्यसैले उनीहरूसँग संवाद गर्दा खूबै होश पु¥याउनुपर्छ । आखिर उनी पनि एक पत्रकार न थिए । त्यसैले यी सब विषयलाई मध्यनजर गर्नु उनको स्वाभाविक कर्म थियो ।
बोलाएको समयभन्दा २० मिनेटअगाडि एकजना फोटो पत्रकारलाई लिएर उनी प्रधानमन्त्री निवास पुगे । एक त उनी निर्धारित समयभन्दा छिटै पुगेका थिए, अर्काेतर्फ प्रधानमन्त्रीलाई बधाई दिन आएका लब्धप्रतिष्ठितहरूको घुइँचो थियो । कलाकार, उद्योग व्यवसायी, कानुनकर्मी, नेता–कार्यकर्ता र समाजसेवीहरू खादा र पुष्पगुच्छा लिएर बधाई दिने लाइनमा थिए । देशको कार्यकारीलाई बधाई दिनु स्वाभाविक कर्म थियो । अनि, आफूलाई आफ्ना ठान्नेहरूले दिएको बधाई लिनु पनि प्रधानमन्त्रीको स्वधर्म नै थियो । फेरि, जो नजिक छन्, उनीहरूले नै बधाई दिने हुन् । शहीदकी वृद्ध आमा बधार्ई दिन गाउँबाट गाडी चढेर आउने कुरा पनि भएन । सेल्टर दिने दूरदराजका गाउँलेहरूलाई बधार्ई दिनुपर्छ भन्ने मेलोमसो पनि छैन । उनीहरू कसरी आऊन् ? उबेला युद्ध लडेको छापामार हिजोआज गाउँमै बेरोजगारीसँग कुस्ती खेलेर निर्वाहमुखी जिन्दगी बाँचिरहेको छ । उसले कसरी फुर्सद पाओस् ? त्यसैले जो नजिक थिए, उनीहरू नै बधार्ई दिन आए । अनि नजिक भएकाहरूले अर्पण गरेको अपनत्व प्रधानमन्त्रीले नस्विकारेर के गर्नु ?
झण्डै डेढ घण्टा कुरेपछि पत्रकार महोदयको पालो आयो । महोदय बडो गम्भीर भएर कोठामा छिरे । प्रधानमन्त्रीले सामान्य हालचाल सोधेर विषयतर्फ प्रवेश गर्न हतारो गरेपछि पत्रकार महोदयले रेर्कडर तेस्र्याएर  मधुरो स्वरमा पहिलो प्रश्न सोधे, ‘पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउन के कारणले आवश्यक ठान्नुभयो ?’
‘धेरैले सोचेका छन्, प्रधानमन्त्रीका लागि हतार गरेर सरकार ढालियो भन्ने । तर, कुरो त्यसो होइन । खास कुरा के हो भने, यो देशका शोषित, पीडितलाई मुक्तिको सपना हामीले देखाएका हौँ । देशको समृद्धि र विकासको सपना पनि हाम्रै हो । अझ भनौँ, नयाँ नेपालको सपना पनि हामीले नै देखेका हौँ । यसरी हेर्दा समग्र सपनाको अधिकार हाम्रो हो र यसमा हामीले दाबी गर्नु पनि गलत होइन भन्ने हामीले महसुस गरेका छौँ । तर, हामीले के बुझ्दै गयौँ भने हाम्रै आडभरोसामा टिकेको सरकार, अझ भनौँ, सरकारको नेतृत्वबाट हाम्रा सपनाहरू नजानिँदो रूपमा कहीँ न कहीँबाट चोरी भइरहेका छन् । यसरी प्रचार गरियो कि सपनाहरू तत्कालीन प्रधानमन्त्रीले मात्रै देख्नुहुन्छ । अरू कसैले देख्न सक्दैन । विषयलाई यसरी बंग्याइयो कि उहाँसँग मात्र सपनाको कारखाना छ । अरूसँग त खुद्रापसलसम्म छैन । आफ्ना सपनाहरूको अरू कसैले स्वामित्व लिँदा चुप लागेर बस्नु कुनै पनि अर्थमा सही थिएन । त्यसैले हामी तत्कालीन गठबन्धन तोड्न बाध्य भयौँ र सपनाहरूको रक्षा गर्न अर्काे नयाँ गठबन्धन बनायौँ ।’
‘तपाईले निजी सचिवालय गठन गर्दा दक्ष र अनुभवीहरूका सट्टा आफ्ना र आफन्तहरू छान्नुभयो भन्ने आरोप लगाइँदै छ नि ?’ पत्रकारले डराई–डराई सोधे ।
‘आरोपै लगाउनका लागि मात्र आरोप लगाइन्छ भने त हामी केही भन्न सक्दैनौँ । तर, आफन्त र आसेपासेमात्र सचिवालयमा राख्यो भन्नेहरूले हाम्रो राजनीतिक दर्शन र आदर्शलाई बुझ्न नसकेका हुन् । हामीले बोकेको सिद्धान्तले वर्गीय पक्षधरतालाई सम्मान गर्छ वा हामीहरू वर्गीय राजनीति गर्छौं । वर्गीय भनेको सापेक्ष कुरा होइन कि जसले सबैलाई समान किसिमको व्यवहार गरोस् । सर्वहारा तथा श्रमजीवीलाई हामीले गर्ने व्यवहार एउटा हुन्छ भने शोषक तथा पुँजीपति वर्गलाई गर्ने व्यवहार अर्काे हुन्छ । हाम्रो मान्यता, प्रेम, व्यवहार र दृष्टिकोण पनि वर्गीय हुन्छ । तसर्थ हामीले हाम्रो सचिवालयमा हाम्रो वर्गको वा नजिकको मान्छे राख्नु कुनै पनि अर्थमा गलत होइन । हाम्रो सिद्धान्त र आदर्शको आधारमै हामीले सचिवालयको व्यवस्थापन गरेका छौँ । अर्काे कुरा के पनि हो भने शान्तिपूर्ण राजनीतिमा आएपछि हामीले परिवारको महŒवलाई झनै राम्रो गरी बुझ्यौँ । परिवारलाई समय दिनुपर्ने रहेछ, नत्र सबै डामाडोल हुने रहेछ भन्ने कुरा विभिन्न घटनाक्रमले सिकायो । राजनीति गर्ने मानिसले स्वाभाविक रूपमा परिवारलाई समय दिन सक्दैन भन्ने सबैलाई थाहा छ । त्यसैले परिवारकै सदस्यलाई सचिवालयमा राखियो भने परिवारलाई समय छुट्याइरहनु परेन । फेरि, परिवारका सदस्यहरू आफूसँगै भएपछि उनीहरूले बारम्बार गल्ती गर्ने अवस्था पनि नआउन सक्छ ।’
‘तपाईं प्रधानमन्त्री भएपछि सोझा कुरा गर्ने एकजना सञ्चारकर्मीको जागिर गयो । उनी आफ्नो जागिर जानुका पछाडि प्रधानमन्त्रीको हात छ भनिरहेका छन् ? यसबारे के भन्नुहुन्छ ?’ पत्रकारले सोधे ।
प्रधानमन्त्री मुसुक्क मुस्काउनुभयो र भन्नुभयो, ‘मैले अघि नै भनिसकेँ कि हामीहरू वर्गीय राजनीति गर्छौं र आफ्नो वर्गलाई अगाध महŒव दिन्छौँ वा  प्रेम गर्छौं । यो विषयलाई पनि वर्गीय विषयका रूपमा बुझनुपर्छ ।’
‘प्रधानमन्त्री हुने दिन तपाईंले संसद्मा नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर बुभ्mन शान्ति प्रक्रियापछिका दश वर्ष लाग्यो भनेर भन्नुभएको थियो । तपाईंले यो दश वर्षमा के के बुझ्नुभयो ?’ पत्रकारले अदब राखेर सोधे ।
‘तपाईंले महŒवपूर्ण प्रश्न गर्नुभयो । शान्ति प्रक्रियामा आउँदा हामीसँग अदम्य साहस र जोश थियो । यो देशलाई रातारात परिवर्तन गर्न सकिन्छ भन्ने आँट थियो । जनताले हाम्रो आँट र भरोसालाई पनि पत्याए । हामीहरू  संविधानसभाको ठूलो दलको रूपमा पनि विजयी भयौँ र मेरै नेतृत्वमा सरकार बन्यो । सरकार बनेपछि कति महिना टिक्यो ? त्यसबीचमा के के भयो भन्ने कुरा त नेपाली जनताको सामु घामजत्तिकै छर्लङ्ग छ । हामीलाई समयक्रमले के सिकायो भने जोश देखाएर मात्र नेपालमा राजनीति गर्न नसकिने रहेछ । सबै काम नयाँ गर्छु भनेर मात्र नहुने रहेछ । पुरानाहरूसँगको सम्बन्ध र सहकार्य पनि आवश्यक पर्दाे रहेछ । यही बुझेर नै हामीले अझ विशेषगरी मेरै जोडबलमा अख्तियार प्रमुखको रूपमा पुराना र अनुभवी मानिसलाई नियुक्त गरेका हौँ । नेपाली कांग्रेस नेपालको पुरानो राजनीतिक शक्ति भएका कारण हामीले ऊसँग नै सहकार्य गरेका छौँ । सिंहदरबारभित्रको पुरानो प्रशासनिक शैलीलाई अब हामी तोडमोड गर्ने भन्दा पनि सहकार्य र सम्झौता गर्ने पक्षमा छौँ । किनकि, योसँग लडेर जितिन्छ भन्ने हामीलाई लागेन । यी सबै कुरा बुझ्न हामीलाई दश वर्षजति नै लाग्यो ।’
पत्रकार महोदय अन्तर्वार्ता सकेपछि गद्गद् भए । हतारहतार उनी बालुवाटारबाट निक्लिए । किनकि, भोलिको अखबारमा प्रधानमन्त्रीको अन्तर्वार्ता छाप्न उनलाई निकै थोरै समय थियो ।

 

Leave A Comment