बलिउडकर्मीका आनीबानी

शुक्रबार, १० भदौ २०७३, १२ : २२ शुक्रवार , Kathmandu
बलिउडकर्मीका आनीबानी

बलिउड कलाकार विभिन्न कार्यक्रममा अनौठो व्यवहार देखाइरहेका हुन्छन् । हालै एक कार्यक्रममा रणवीर सिंह स्टेजमै सुते भने ओम पुरी तीन कुर्सीको ओछ्यान बनाएर सुते । यसरी नै अन्य कलाकारले पनि मिडियासामु अनौठा व्यवहार गर्ने गरेका छन् ।
सलमान खान राम्रो ‘मुड’ मा भए हाँसेर कुरा गर्छन् । उनको ‘मुड’ ठीक छैन भने उनी पत्रकारहरूलाई आँखा तरेर हेर्छन् । कति पटक त उनी मजाक उडाउँदै भन्छन्– ‘बिहे र कोर्ट केसको प्रश्न सोध्यो भने म कार्यक्रम समाप्त गरिदिन्छु ।’ यी दुई विषयमा सलमान कुरा गर्न चाहन्नन् । यदि कसैले भुलेर सोधिहाल्यो भने उनी कार्यक्रमस्थल छोडेर हिँडिहाल्छन् । उनले कार्यक्रमको मञ्चबाटै सहकलाकार र मिडियाको मजाक पनि उडाउने गरेका छन् । कहिलकाहीँ सलमान ग्रिन टी वा डाइट कोक हातमा समातेर मञ्चमा आइपुग्छन् । केही वर्षअगाडि उनले बियर पिउँदै अन्तर्वार्ता दिएका थिए । तर, फोटो खिच्ने अनुमति चाहिँ थिएन ।
आमिर खान, शाहरुख खान र प्रियंका चोपडाको एउटै किसिमको बानी छ । यी तीनजना मिडियासँग लामो समयसम्म कुरा गर्छन् । कार्यक्रम समाप्त हुँदासम्म यिनीहरूले हरेक प्रश्नको उत्तर दिने गरेका छन् । शाहरुख र प्रियंका कार्यक्रममा तीन घण्टा ढिलो पुग्छन् । आमिर चाहिँ धेरैजसो समयमै पुग्छन् । ढिलो भइहाले पनि आधा घण्टाभन्दा ढिलो उनी हुँदैनन् । प्रियंका र शाहरुखको हातमा कफीको कप हुन्छ । आमिरले भने कहिलेकाहीँ चियाको माग गर्छन् ।
अक्षय कुमार चाहिँ आफ्नो स्वभावअनुसार सीमित बोल्छन् । उनी धेरैजसो कार्यक्रम बिहानको समयमा गर्छन् । अक्षय कार्यक्रम राखिएको समयभन्दा आधा घण्टा ढिलो आउँछन् । कार्यक्रममा उनी विवादित कुरा बोल्नबाट बच्ने गर्छन् । अक्षयका धेरैजसो जवाफ ‘वान लाइनर’ हुन्छन् । अन्तर्वार्ताको क्रममा उनी जुस पिउँछन् ।
अजय देवगन पनि विवादित कुरामा ‘वान लाइनर’ नै बोल्छन् । अन्तर्वार्ता दिँदा पनि अजय पर्दामा जस्तै शब्दले कम र आँखाले बढी जवाफ दिन्छन् ।
दीपिका पादुकोण, रणवीर सिंह, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा र वरुण धवनलगायत कलाकार कार्यक्रममा एकदेखि डेढ घण्टा ढिलो पुग्छन् । सामाजिक सञ्जालमा आफ्ना अफेयरदेखि ब्रेकअपका कुरा लेखर आफ्नो प्रचार टिमका माध्यमले यी कलाकार चर्चामा रहे पनि कार्यक्रममा मिडियाका सामु कुरा गर्दा अप्ठ्यारो मान्छन् । उत्तर दिन खोज्दैनन् । त्यस्तै प¥यो भने म्यानेजरलाई उत्तर दिन लगाउँछन् ।
अमिताभ बच्चन एकमात्र यस्ता कलाकार हुन्, जो कार्यक्रममा समयमै पुग्छन् । कार्यक्रममा सवालको जवाफ दिँदा ‘पोलिटिकल्ली करेक्ट’ हुनमा एकदमै ध्यान दिन्छन् । अमिताभविपरीत जया बच्चन भने केही न केही विवादित कुरा बोलिहाल्छिन् । मिडियासँग रिसाउँछिन् पनि । गत वर्ष जयाले एउटा फोटोग्राफरको कलर समातेर धक्का दिएकी थिइन् । अमिताभ कार्यक्रममा मञ्चमा कहिल्यै पानीसमेत पिउँदैनन् । आफ्नो अफिस जलसामा अन्तर्वार्ता दिँदा भने जुस वा पानी पिउँछन् ।
ओम पुरी हालै एउटा कार्यक्रममा सुते नै । यस वर्ष उनी तीनचार कार्यक्रममा नशा गरेको अवस्थामा पुगेका थिए । फिल्म प्रमोसनको नाममा उनी पाँच मिनेटभन्दा बढी बोल्दैनन् । फिल्म ‘जय हो डेमोक्रेसी’ को कार्यक्रममा उनी बीचमै मञ्चबाट बाथरुम जाने इसारा गर्दै कार्यक्रमबाट हिँडेका थिए ।

 

Leave A Comment