दाइजात्रा

शुक्रबार, १० भदौ २०७३, १२ : ५५ शुक्रवार , Kathmandu
दाइजात्रा

दाइजात्रा
नेपाली कांग्रेसका दाइहरूकै कारण विगत नौ वर्षदेखि नेपाल विद्यार्थी संघको
महाधिवेशन भएको थिएन । पार्टीको १३ औँ महाधिवेशनपछि संघका साथै अन्य
संगठनको महाधिवेशन गराउने पार्टी निर्णयपछि संघले पनि मिति तय ग¥यो । एक
दर्जन जिल्ला अधिवेशन भएको थिएन । विवाद जारी थियो । के निहुँ पाऊँ र कनिका चपाऊँ भनेर बसेका गगनकुमार थापाहरूलाई त्यही विषय खुदो बन्यो । प्रक्रियागत रूपमा अधिवेशन हुँदा आफ्ना केटाहरूले कतै चुनाव जित्ने अवस्था नरहेको निष्कर्षपछि
विधिवत अधिवेशनको नारा दिएर दुई थान केटालाई उनले अनशनमा राखे । दाइ भन्दै
आएका प्रतिनिधिलाई १२ दिनसम्म झुलाएर भागबण्डा मिलाए । अनि, सँगै सभापति
शेरबहादुर देउवासँग भाग पनि मागे । हातै पसारेर माग्न थालेपछि केही न केही त
पाइने नै भयो । त्यही क्रममा संघको सहमहामन्त्रीमा मधेशी कोटाबाट परमेश्वर
साहसहित छ जना निर्विरोध निर्वाचित भए । साह निर्विरोध निर्वाचित भएको खुशीमा गगनदा पो सयपत्रीको माला लगाएर गाईजात्राको अघिल्लो दिन दाइजात्रा देखाउँदै थिए ।
तीन दिनका लागि भनेर आएकालाई १२ दिन झुलाएर आफैँ चुनाव जितेजसरी
खादा र माला लगाएका गगनदाको तमासा देखेर कांग्रेसभित्रबाट उनलाई कुरी कुरी भन्न
थालिएको छ ।

मन्त्री हुनुअगावै भोज
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको एक महिना पुग्न लाग्यो । उनी नेतृत्वको सरकारले पूर्णता पाइसकेको छैन । पाउने क्रममा भने छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले आफ्नो प्रमुख भ्रातृ संगठनको महाधिवेशनलाई देखाएर सरकारमा सहभागी हुने नेताहरूको नाम दिएन । निर्वाचनअघि नै नेताहरूको सूची बुझाउँदा असन्तुष्टि बढ्ला र संघको नेतृत्व आफ्नो पक्षमा नपर्ला भनेर सभापति शेरबहादुर देउवाले सूची दिन आनाकानी गरे । सरकारमा सहभागी हुने नेताको नाम देउवाले नदिँदा कति नेताको नयाँ दौराको इस्त्रीको धार जानेबेलासम्म संघको महाधिवेशन सकिएन । महाधिवेशन प्रतिनिधि विवादले साउन २३ देखि तीन दिनका लागि तोकिएको अधिवेशन झन्डै १३ दिनपछि अर्थात् भदौ २ गते विनाबन्दसत्र नेतृत्व चयन गरेर सकियो । परिणाम पनि देउवाले चाहेजस्तो आएपछि चुनाव गराउने जिम्मा पाएका निकट नेता प्रकाशशरण महतले संघको अधिवेशन गराएको निहुँमा मन्त्री हुनुपहिले नै सबैलाई रात्रिभोज दिन भ्याए । आफ्नो पक्षमा परिणाम आउने अवस्था नहुँदासम्म प्रतिनिधि बढाइरहेरै भए पनि चुनाव गराएपछि उनको मन्त्री पद कसले खोस्न सक्ने ? त्यो पनि सभापति देउवा आफ्नो हात जगन्ननाथ भन्ने अवस्थामा भएको बेला ! तर, उनकै जिल्लाका अर्का नेता भने देउवा समूहमा लागेकोमा पछुतो मान्न थालेका छन् । गृह मन्त्रालय नपाए सरकारमा नजाने बताउँदै आएका अर्जुननरसिहं केसीको घुर्कीलाई देउवाले मतलव नगरेपछि केसी शिक्षा मन्त्रालयमै चित्त बुझाउन बाध्य भएका छन् । अझै बटारिँदा त्यो पनि गुम्ने खतरा बढेपछि उनी मन्त्री बन्ने तरखरमा छन् । तर, जिल्ला सभापतिहरूको दुईदिने भेलाको उद्घाटनसत्र चलिरहेका बेला अर्का नेता गोपालमान श्रेष्ठसँग गोप्य कुराकानी गर्न कुना पसेका केसी भन्दै थिए रे, ‘व्यर्थै देउवाको पक्षमा लागेछु ।’ अब के गर्ने होला भन्दै उनी राय माग्दै थिए भन्ने सुनिन्छ ।


नमिलेको बसाइ
स्थानीय निकायको पुनर्संरचनालाई लिएर प्रमुख राजनीतिक दलहरूबीच मतभेद बढिरहेको बेला नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला काठमाडौँमा सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाले उद्घाटन र समापन गरेको कार्यक्रममा एउटा अनौठो दृश्य देखियो । पार्टी पूर्वपदाधिकारीलाई दर्शकदीर्घामा राखेर कोषाध्यक्ष सीतादेवी यादव, सभापति देउवा, नेता रामचन्द्र पौडेलसँगै पदाधिकारीको लहरमा अर्का एक व्यक्ति देखिए । पार्टी उपसभापति, महामन्त्री,सहमहामन्त्री नियुक्त गर्न बाँकी रहेका बेलामा नयाँ व्यक्ति मञ्चमा देखिएपछि कांग्रेसका कतिपय नेता झस्के । पार्टी पदाधिकारीसँग लस्कर मिलाएर मञ्चमा बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेल रहेका छन् । देउवा सभापतिमा निर्वाचित भएपछि मुख्यसचिवको जिम्मेवारीमा पुगेका पौडेलको अस्वाभाविक बसाइप्रति पार्टीका नेताहरूले असन्तुष्टि जनाइरहेका देखिन्थे भने कार्यालयका उनका
सहयोगीसमेत उनको बसाइलाई लिएर आश्चर्य प्रकट गरिरहेका थिए । हुन त उनले पार्टी केन्द्रीय कार्यालयमा पनि सभापति, महामन्त्रीसहित पदाधिकारीको कार्यकक्षभन्दा आफ्नो कार्यकक्ष एक तलामाथि बनाएका छन् । सबैभन्दा ठूलो कुरा लाज हो । त्यही पचाएपछि कसको के लाग्यो र ?

ओलीले गरेछन् चाहिँ के ?
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नौ महिने सरकारले राष्ट्रवादको बाँसुरी बजाएर बिदा भयो । मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा ओलीले रेलदेखि पाइपबाट घरघरमा ग्यास पु¥याउनेसम्मका मीठा सपना देखाए । कति त सपनालाई पनि विपनै ठानेर बुरुक्क उफ्रे । जसले जे बुझे, त्यही गरे । तर, ओली नेतृत्वको सरकारले जनताको पक्षमा नौ महिनामा के के काम ग¥यो होला भन्ने जान्न उनकै घर पुग्ने बाटो हेरे पुग्छ भन्छन् स्थानीय । बालुवाटार छिरेदेखि एकैपटक बाहिरिएसँगै ओली भक्तपुर, बालकोटस्थित निवास पुगेका रहेछन् । ओली बालकोट आउने भएपछि सरकारले उनको घर पुग्ने बाटोको खाल्टाखुल्टी गिटी हालेर टालटुल गरेको रहेछ । तर, ओली पार्टी
स्थायी कमिटी बैठकमा आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गरेको दाबी गरिरहेका छन् । लामो समयपछि प्रतिपक्षमा पुगेर फुर्सदिलो भएको एमालेले साताव्यापी वक्तृत्वकला प्रतियोगिताजस्तो स्थायी कमिटीको बैठकमा ओली नेतृत्वको सरकारको
बचाउमा कोही पनि उभिएनन् । भनेपछि उनले कस्तो र कसका लागि काम गरेछन् ?

Leave A Comment