सात बार सातै मायालु

आइतबार, १२ भदौ २०७३, १० : ४४ हिमाल लम्साल र सन्जिना श्रेष्ठ , Kathmandu
सात बार सातै मायालु

शहरी युवा पुस्तामा एउटा यस्तो जमात पनि छ, जो प्रेम र सम्बन्धलाई साह्रै हलुका ठान्छ । दुईचार जना गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड बनाउनु उनीहरू सामान्य मान्छन् । प्रेम निःस्वार्थ हुन्छ, निःसर्त हुन्छ भन्नेजस्ता पुराना कुरामा उनीहरूलाई कुनै रुचि छैन । प्रेमलाई सपिङ, घुमफिरजस्ता आफ्ना इच्छा र आवश्यकता पूर्तिका औजार बनाउनुमा उनीहरू कुनै खराबी देख्दैनन् । ‘सात बार, सातै मायालु !’ सम्म भन्न पछि पर्दैनन् । हिमाल लम्साल र सन्जिना श्रेष्ठले उनीहरूका सोच, प्रवृत्ति र व्यवहार बुझ्ने प्रयत्न गरेका छन् ।

पात्र १
उनीसँग विद्यार्थी परिचयपत्र मात्रै चारवटा क्याम्पसका छन् । आवाज सुन्दा अत्यासलाग्दो, ‘लुक्स’ हेर्दा डरलाग्दो, बाइकमा सवार हुने उनी ती सबै सरकारी क्याम्पसमा मज्जैले घुसपैठ गर्छन् । एक निजी क्याम्पसको ब्याक पेपरवाला विद्यार्थी हुन् उनी । नियमित  नपढे पनि आफ्नो जिन्दगीले खासै गुमाइहाल्ने केही छैन भन्ठान्ने उनी ‘फस्ट क्लास’ ठेकेदारका छोरा हुन् । कहिलेकसो ठेक्का लागेको साइटमा गएर यसो यताउता गरिदिए ‘बाउ’ खुशी, कलेज जाने भन्दै बिहानै घरबाट निस्केपछि ‘मम’ पनि ढुक्कै !
केटाहरूलाई परिचय दिँदा आफूलाई डिकेश बताउने उनी केटीहरूमाझ डीआर नामले परिचित छन् । सुरुमा मिलनसार, दयालु, सहयोगी यस्तैयस्तै स्वरूपमा प्रस्तुत हुनु उनको मौलिक ‘ट्रिक’ हो । उनको सोख हो, धेरैभन्दा धेरै केटीहरूसँग न्यानो सम्बन्ध बनाउने । उनकै शब्दमा ‘वार्म रिलेसन’ । ‘सीधै भन्दा सकेसम्म धेरै केटी पट्याउने,’ डिकेशसँग परिचितहरू भन्छन्, ‘एक आँखा झिम्क्याएकै भरमा केटी पट्याउँछु भन्छ ।’ प्रेमको नाटक एकैपटक धेरैसँग गर्न सक्ने खुबी भएका उनी क्याम्पस पढ्ने छात्राहरूलाई ‘टार्गेट’ बनाउँछन् । ‘हाल छजना जति लाइनमा छन्,’ उनी निर्धक्क र गर्वसाथ बोल्छन्, ‘सबैलाई समय दिन भ्याइएकै छैन ।’

पात्र २

बीबीएस दोस्रो वर्ष अध्ययनरत करिश्मालाई नयाँ ठाँउ घुम्न, नयाँ फिल्म हेर्न र रेस्टुरेन्ट जान असाध्यै मन पर्छ । शुक्रवार हिन्दी फिल्म हेर्न एउटासँग हलमा पुग्ने उनी शनिवार अर्कैसँग कुम जोडेर नेपाली फिल्म हेर्न हल पुगेकै हुन्छिन् । फेसनमा ‘अपडेटेड’ छिन् । यो सबै तामझामका लागि उनलाई पैसाको खाँचो नपर्ने कुरै रहेन । उनीसँग रोजगारी छैन । कलेज खर्चसमेत बेहोर्न सक्दैनौँ भन्ने परिवारले उनको यो तामझाम कसरी जुटाइदिन सक्ने ?
यो सब खर्च आफ्नै परिश्रमले जुटाउँछिन् उनी । परिश्रम भन्नाले ब्वाइफ्रेन्डहरूको व्यवस्थापन । आफूलाई ‘बिन्दास पाराले जिउने केटी’का रूपमा साथीहरूमाझ प्रस्तुत हुने उनलाई धेरैले ‘रेफ्री’ भन्छन् । रेफ्री अर्थात् धेरैलाई खेलाउने । उनी आफ्ना मिल्ने साथीहरूसँग भन्ने गर्छिन्, ‘अहिलेको जमानामा ब्वाइफ्रेन्ड चेन्ज गर्नु ठूलो कुरै होइन नि ।’ आफूजस्तै सोच्ने साथीहरू टन्नै भएको उनी बताउँछिन् । ‘हामी त ‘सात बार, सातै मायालु’ भन्ने खालका मान्छे हौँ,’ उनी भन्छिन्, ‘एउटैलाई सात दिन झेल्दा त बोरै हुन्छ नि ।’    
    
करिश्माको शैलीलाई उनका केही साथीले पनि पछ्याउन थालेका छन् । उनलाई कलेज बंक गर्न शान्ताले साथ दिन्छिन् । उनीहरू करिअरमा चिन्तित छैनन् । ‘ब्वाइफ्रेन्ड बनायो, रमायो,’ शान्ता भन्छिन्, ‘दुई दिनको जिन्दगीमा भेटेजति रमाइलो गर्ने हो ।’ २२ वर्षकी करिश्मा आफूले  अहिलेसम्म सातजना ब्वाइफ्रेन्ड बनाइसकेको बताउँछिन् ।
पात्र ३
हिजो अर्कैसँग देखेँ, आज अर्कैसँग देखेँ... यशकुमारले यो गीत आफ्नै लागि गाएका रहेछन् जस्तो लाग्छ, राहुल गौचनलाई । ‘सिरियस्ली’ सोचेर ‘लभ’ गरिरहेकी केटीको वास्तविकता खुलेपछि उनी छाँगाबाट खसेझैँ भएछन् । ‘आफ्नो जिन्दगी ठानेको मान्छेले त्यस्तो गरेको थाहा पाएपछि कसलाई सह्य हुन्छ ?’ उनी ‘सक्ड’ छन्, ‘फरकफरक सिम राखेर धेरैसँग रिलेसन राख्दिरहिछ । अस्ति फिल्म हलमा अर्कै केटासँग देखेपछि उसको अनुहार हेर्न नपरोस् भनेर फिल्मै नहेरी फर्कें ।’ यसअघि पनि उनै गर्लफ्रेन्डका विषयमा एक जना केटासँग विवाद भइसकेको उनले बताए । ‘त्यो केटी त डेली केटा चेन्ज गर्छे’, ‘त्यो पैसाका लागि सम्बन्ध जोड्छे’, ‘दर्जनौँ केटा घुमाउँछे’ यस्ता गाइँगुइँ सुन्दासुन्दा राहुल वाक्क भइसके । अचेल पश्चात्तापमा छु भन्छन् । ‘त्यस्ता खराब चरित्र भएका केटीसँग जोडिएकोमा अहिले पछुतो छ,’ उनले भने, ‘मेरो धेरै कुरा लस भयो । पैसा, इज्जत, समय, सारा... ।’
०००
यस्ता पात्रहरूको अभाव छैन यो शहरमा । चुट्कीका भरमा जोडी बनाउन सक्ने ध्वाँस दिनेहरू सम्बन्धलाई आफू अनुकूल प्रयोग गर्न माहिर हुन्छन् । यस्ता सम्बन्धले कुनै बेला आफैँलाई संकटको सिलमा उनेको पत्तो पाउँदैनन् । भनिन्छ– प्रेम निःस्वार्थ हुन्छ । तर, शहरको प्रेम गर्ने शैली हेर्दा लाग्छ– अब त्यो परिभाषाको कुनै अर्थ छैन । पैसा र मोजमस्ती भइसक्यो प्रेमको परिभाषा । फुटबलमा कसले कति गोल हान्ने भनेजस्तै प्रेममा कसले कति ब्वाइफ्रेन्ड र गलफ्रेन्ड बनाउने भन्ने प्रतियोगिता चल्न थालिसक्यो । युवायुवतीहरू धक नमानीकन ‘धेरैसँग लभ गर्नु मेरो सोख हो’ भन्न थालिसके । कोही कोही त ‘लभ नै जीविका चलाउने माध्यम हो’ सम्म भन्छन् । एकैपटक धेरैसँग अफेयर चलाउनेहरू आफू सच्चा प्रेमी वा प्रेमिका भएको ढोँग रच्न भने पछि पर्दैनन् ।
सपिङका लागि अफेयर
१२ कक्षा पढ्ने शीतल (नाम परिवर्तन) लाई महँगा कस्मेटिक सामानमा औधी रुचि छ । चर्चित ब्रान्डका पफ्र्युम, लिपस्टिक, नेल पोलिस, आई–लाइनर, क्रिम, गरगहना, कपडामा उनको नजर परिरहन्छ । शीतल ती सामान आफैँ किन्न सक्दिनन् । उनले एउटा जुक्ति निकालेकी छन्, ब्वाइफ्रेन्ड । आफ्नो इच्छा पूरा गरिदिने धनी ब्वाइफ्रेन्ड बनाउने गरेकी छिन् । अहिले कलेजमै आफूभन्दा सिनियर विद्यार्थीको नजिक छिन् । ती युवाले शीतलको चाहनाअनुसार महँगो सपिङ गराइदिन्छन् । यसअघि पनि शीतलले कस्मेटिककै लागि धेरै केटाहरूसँग सम्बन्ध बनाएको र टुटाएको उनका साथीहरूलाई थाहा छ ।
सुन्धारामा फेन्सी पसल सञ्चालक धिरेन शहरको यो ‘लभ ट्रेन्ड’सँग परिचित छन् । परिचित भएर पनि उनी समयसमयमा ‘नक्कली’हरूसँग अफेयर चलाइरहेकै हुन्छन् । विवाहित उनी पैसा खर्च गर्न सक्ने हर कसैले शहरमा जोडी बनाउन गाह्रो छैन भन्छन् । ‘पैसा भएसम्म गर्लफ्रेन्डको कुनै कमी हुँदैन,’ उनी भन्छन्, ‘सपिङ गराउनकै लागि भेट्ने एउटीसँग अहिले हल्का चलिरहेको छ ।’ सपिङ उनी आफ्नो पसलमा होइन्, मलहरूमा गराउँछन् । फिल्म हेराउँछन् । मनग्गे खर्च गर्न सक्छन् उनी ।
लभको बाजी
बाजी राखेर लभ गर्ने तन्नेरी पनि भेटिन्छन् । कक्षा ११ मा भर्ना भई भर्खरभर्खरै कलेज जान थालेका सन्देशलाई कृषाले प्रेम प्रस्ताव राखिन् । प्रस्तावको कारण बाजी थियो । केटोको आकर्षक शारीरिक बनावट, मीठो बोली, मिलनसार व्यवहार देखेर कृषाका साथीहरूले उनलाई ‘ल बाजी, त्यो केटालाई पट्याएर देखा त’ भनिहाले । सन्देशले केही दिनमै प्रस्ताव स्विकारे । मोबाइल नम्बर साटासाट भयो । यो चक्कर केही महिना भन्दा टिकेन । अर्कै केटासँग लसपस गर्न थालिसकेको बुझेर सन्देशलाई पीडा भयो । ‘उनले मलाई पंगु बनाएको देखेर एकदम चित्त दुख्यो,’ सन्देशले पीडा पोखे, ‘अब भुलेर पनि त्यस्तासँग लागिन्न ।’ करिअरको चिन्ता गर्दै छन् अहिले उनी ।
बाजी राख्ने मात्र होइन, लहैलहैमा लभ गर्नेहरू पनि छन् । स्कुले विद्यार्थीहरू धेरैजसोले साथीकै लहलहैमा लागेर प्रेम गर्छन् । ९ कक्षा पढ्दादेखि प्रेमको चक्करमा परेकी रमा आफ्नो अनुभव सुनाउँछिन्, ‘साथीको ब्वाइफ्रेन्डसँग आउने केटासँग गफगाफ हुन्थ्यो । खै कसरी कसरी लभ प¥यो । दुई महिना पनि टिकेन । मोरो स्वार्थी रहेछ ।’
देखासिकीमा प्रेम गर्नेहरू पनि छन् । साथीहरूबीच लभ गर्ने प्रतिस्पर्धा नै चल्छ भन्छन्, प्लस टू पास गरेका सञ्जोग श्रेष्ठ । ‘हाम्रा साथीहरू लभको प्रतिस्पर्धा गर्छन् । कसले धेरै केटी पट्याउने ?’ उनले भने, ‘मैले पनि ख्यालख्यालमै पाँच जनाजतिसँग अफेयर चलाइसकेँ ।’
लुट्ने लभ !
पोखराका उमेश पौडेललाई अचेलका लभमा धेरैले लुट्न मात्र खोज्छन् भन्ने लाग्छ । यस्तै प्रेमिकाको शिकार उनी आफैँ बनिसके । दुई वर्षअघि भेट भएकी सरु अहिले उनीसँग छैनन् । ‘उनले दिएका पीडा अझै भुल्न सकेको छैन,’ उमेशले ‘धनी बाउकी छोरी’बारे गुनासो सुनाए, ‘सुरुसुरुमा मेरा लागि धेरै खर्च गरेको देखाई । पछि त मेरो व्यवसाय नै चौपट हुने गरी धुतेर गई ।’ रेस्टुरेन्ट व्यवसायी उमेश प्रेमिकाकै कारण आफ्नो व्यवसाय खलबलिएको आरोप लगाउँछन् ।
प्रेमिका वा प्रेमीले ठगेको गुनासो गर्ने दर्जनौँ युवा पोखरामा भेटिन्छन् । त्यस्तै मध्येकी एक हुन्, सिम्रोन । उनको लभ दुई महिना चल्यो । यसबीचमै उनले दुई लाख रुपैयाँ ‘लस’ गरिसकेको बताइन् । ‘बिरामी परेको भनेर सिक्री बेचेर सापट दिएको पैसा फिर्ता नै गरेन,’ उनले भनिन्, ‘त्यत्रो विश्वास गरेर जीवन अर्पण गर्न खोजेको मान्छेले यसरी ठग्ला भन्ने के सोचियो ? मुद्दामामिला गरौँ भने आफ्नै इज्जत जान्छ । अहिले मोरो सम्पर्कमै छैन ।’
काठमाडौँका अमित शाह प्रेमलाई ‘टाइम पास’का रूपमा लिन्छन् । अहिलेसम्म दर्जनौँ केटीसँग अफेयर गरेको अनुभव हासिल गरिसकेको बताउने उनी प्रेमलाई गम्भीरतापूर्वक लिने मान्छे शहरमा हुँदैनन् भन्छन् । ‘लभ त रमाइलो मात्र हो,’ उनी भन्छन्, ‘परिवारले मागेको मान्छेसँग बिहे गर्ने हो । त्यतिबेलासम्म के गरेर बस्नु ?’
‘शहरमा सजिलो’
डिकेशको अनुभव फरक छ । गाउँबाट आएका केटीहरू गम्भीर हुने  हुँदा चाँडै छोड्दा केही ‘रिस्क’ हुने ठान्छन् उनी । ‘यस्ता कुरालाई सामान्य ठान्ने आधुनिक केटीहरूसँग लभ ब्रेक गर्न सजिलो हुन्छ,’ उनले भने, ‘रिलेसन बनाउँदा सुरुमै सोच्नुपर्छ, यसबाट भोलि गाह्रो पर्ला कि नपर्ला ?’
काठमाडौँका दिनेश शाही प्रेमलाई गहन तरिकाले लिने केटीहरू मनै पराउँदैनन् । लभलाई टाइमपास ठान्नु समयको माग भन्ठान्छन् उनी । ‘दुवैलाई गाह्रो नपर्ने गरी रमाइलो गर्ने हो,’ उनी भन्छन्, ‘मेरा साथीहरू त सबै बिन्दास छन् । भेटेजतिलाई लभ गर्ने हो ।’ उनले अचेल तीनजनाका लागि तीनटा मोबाइल बोक्ने गरेको बताए । ‘एकलाई अर्काको कुनै चासो हुँदैन,’ उनी ढुक्क छन्, ‘कसैसँग लभ गर्दैमा अर्कोसँग सम्बन्ध हुनु हुँदैन भन्ने दिन गए । रातमा एउटासँग दिनमा अर्कोसँग सम्बन्ध पनि स्विकार्नुपर्ने बेला आयो ।’    
व्यक्ति एक, स्वार्थ अनेक
व्यक्तिले कोसँग के स्वार्थमा सम्बन्ध राख्छ भन्ने पत्तो हुँदैन । यहाँ यस्ता २२ वर्षे पात्रको कुरा गर्न खोजिएको छ, जो उमेर अनुसारका महिलासँग फरकफरक स्वार्थमा सम्बन्ध कायम गर्न माहिर छन् । आफूभन्दा १५ वर्ष जेठीसँग पनि उनको सम्बन्ध छ । त्यो सम्बन्धबाट प्राप्त प्रतिफल आफूले मनैदेखि चाहेकी केटीका लागि खर्चन्छन् । ‘त्यो आन्टीले मलाई मायाले दिने पैसा गर्लफ्रेन्डलाई खर्च गरिन्छ,’ उनले भने, ‘रिलेसनलाई मेन्टेन गर्न सक्नुपर्छ । मेन्टेन गर्न र चाहेका बेला सहजै छुट्न पनि कला चाहिन्छ ।’
उता केटीहरू पनि कम छैनन् । आफूलाई मोडलिङमा स्थापित ठान्ने प्रिया पनि सम्बन्धहरू भजाउन तगडा मानिन्छिन् । वयस्क उमेरका व्यापारीहरूसँग गुपचुप सम्बन्ध राखेर आर्जन गरेको सम्पत्तिले आफ्नो मन खाएका केटाहरूलाई खर्चन्छिन् । क्लब र पार्टीहरू धाइराख्छिन् । हप्तैपिच्छे सपिङ गइरहन्छिन् । ‘मेरो जालमा त एटीएम नै परेको छ,’ उनी ठट्टा गर्दै भन्छिन्, ‘उसबाट झारेको पैसाले मेरो र ब्वाइफ्रेन्डको जिन्दगी बिन्दास चलिरहेको छ ।’ पछि अप्ठ्यारो पर्ला भन्ने कुनै भय छैन उनलाई । भन्छिन्, ‘भोलिको बारे सोचेर बस्ने फुर्सद कसलाई छ र ?’

ब्वाइफ्रेन्ड बनाउने रहर
–सविता सापकोटा
भर्खर कक्षा ६ मा उक्लिएकी छिमेकमा बस्ने नानीले सोधिन्– ‘दिदी हजुरको ब्वाइफ्रेन्ड छ ?’
मैले जवाफ दिइनँ ।
त्यसअघि आन्टीको छोराले भनेको थियो, ‘मैले हिजो हजुरलाई ब्वाइफ्रेन्डसँग देखेको ।’ कति निर्धक्कसँग भन्यो उसले मलाई ब्वाइफ्रेन्डसँग देखेको !
सायद हिजो केटासाथीको बाइकमा आइरहेको देखेर उसले त्यसो भनेको हुनुपर्छ । मैले उसलाई जिस्केर भनिदिएकी थिएँ– ‘कस्तो छ ?’ उसले ‘राम्रै छ तर अलि काले रहेछ’ भन्यो ।
यति साना केटाकेटीलाई प्रेमप्रति कति चासो ! जमाना कहाँदेखि कहाँ पुगिसक्यो । मेरी आमाको पालामा प्रेम भन्ने शब्दै थाहा नपाई अपरिचित मेरा बासँग बिहे भयो । तर, अहिले भने भर्खर ५, ६ कक्षा पढ्दै गरेका नानीबाबुहरू लभको कुरा गर्छन् ।
हामी स्कुल पढ्दासमेत ‘लभ’ भन्ने यति खुलेआम भइसकेको थियो । ९, १० कक्षा पढ्दा भने कक्षामा एक–दुई जोडी थिए । जिस्काउन खूब रमाइलो लाग्थ्यो ।
उमेरसँगै बढ्दै गरेका रहरमा एक चाहना थियो, अनि डुलिहिँड्ने रहर पनि । कहिलेकाहीँ मेरी साथी आफ्नो ब्वाइफ्रेन्डको बाइकमा चढेर आउँदा मलाई पनि ब्वाइफ्रेन्ड बनाऊँजस्तो कहाँ नलागेको हो र ?
धेरै बेरसम्म कुर्नुपर्ने पब्लिक बस, अनि गुन्द्रक खाँदेजसरी खाँदिनुपर्ने मान्छे । बाख्राको खोरजस्तै लाग्थ्यो माइक्रो त । उभिएर खुट्टा दुख्दा बाइकको पछाडि बसेर सरर गुड्ने  रहर कहिलेकाहीँ जाग्थ्यो । तर, हरेक कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । ब्वाइफ्रेन्ड बनाएर उसको बाइकमा कुदेको भए मैले त्यो माइक्रोबसमा हिँड्दा भोग्ने दुःखको सामना कहाँ गर्न पाउँथे र ! एक्लै बसमा जता पनि पुग्न सक्ने आत्मविश्वास कसरी विकसित हुन्थ्यो र ! जीवनमा जति दुःख आइलाग्छ, त्यति नै सुख मिल्छ रे ।
कहिलेकाहीँ कलेजमा केटा साथीहरूले आफ्नी गर्लफ्रेन्डको असाइन्मेन्ट गरिदिँदा मलाई पनि एउटा केटो पट्याऊँ भन्ने रहर पलाएकै हो । इख पनि लागेकै हो ।  आखिर म पनि उनीहरू जस्तै टिनएजमा थिएँ । खोइ किन हो, रहर जाग्यो तर मन लागेन ।
केही दिनअघि माइक्रोबसको अघिल्लो सिटमा बसेर एउटा युवकले आफ्नी गर्लफ्रेन्डको कपाल सुमसुम्याउँदा मलाई पनि कसैको हात मेरो टाउकोमा आएको सपनाले सताएकै हो ।
कहिलेकाहीँ रोमान्टिक स्टोरी पढ्दा आफैँलाई त्यसका पात्रहरूसँग दाँजेर कल्पनाको सागरमा हराएकी हुन्छु । कसैको अँगालोमा बेरिएर शरीरको स्पर्शले यो दिलमा बास गर्न आउँदाको पलले मनमनै थपडी मार्छ । केही फिल्मका दृश्यले आफैँलाई गिज्याएजस्तो लाग्छ ।
जीवन चाहनाको भण्डार हो । बोटमा लटरम्म फलेका फलजस्तै हुन् चाहना पनि । एकपछि अर्को गर्दै झर्दै जान्छन् या त झारिन्छ कसैले हानेर या वर्षातसँगै आउने असिनाले चुटेर ।
कसैलाई माया गर्नु, मनका भावना साट्नु, घुम्न जानु गलत कुरा होइनन् । तर, मायालाई नै सबैथोक सम्झेर बिछोडको घडीमा पागलपन देखाउनु या त आफ्ना जन्म दिने बाबुआमाभन्दा अरूलाई नै सर्वस्व ठान्नु गलत होजस्तो लाग्छ । जन्मँदा एक्लै जन्मिने हो । मर्दा एक्लै मर्ने हो भने जीवन पनि एक्लै बाँच्न सकिन्छ भन्ने अति आदर्शवान् पनि हुन चाहन्नँ । जीवनमा कसैको साथको आवश्यकता पर्दैन भन्ने मलाई लाग्दै लाग्दैन । तर, सबै आवश्यकतामा अरूको भर पर्नु राम्र्रो होइन भन्ने पनि लाग्छ ।
केही युवती देख्दा अचम्म लाग्छ, जो जीवनका स–साना आवश्यकता पूर्तिका लागि केटाको भर पर्छन् । सानो चिम्टी काँटा किन्न जान समेत उनीहरूलाई ब्वाइफ्रेन्डको सहायता चाहिन्छ । बिहे गरेका केही महिला देख्छु, जो आफूले गर्न सक्ने काममा पनि श्रीमान्को भर पर्छन् । यसरी हरेक काममा पुरुषको हात समाउनुपर्ने महिलाहरू कहिले सक्षम बन्छन् होला भनेर आफैँलाई सोध्छु । अनि, त्यो सहयोगी ब्वाइफ्रेन्डको सपना थाती राख्छु ।
युग परिवर्तन भइसक्यो । आजकल महिलाहरू पनि सक्षम बन्न थालेका छन् । आफ्नै खुट्टामा उभिएर आफ्नो बेग्लै पहिचान बनाउन अगाडि बढेका छन् । तर, त्यस्ता महिलाहरूको कमी छ, जसले पहिला आफ्नो श्रीमान्लाई बाइक, स्कुटी या कारमा अफिस छोडेर आफ्नो अफिस जान्छन् । सायद यस्ता प्रेमिकाको चाहिँ अभाव नै होला शहरमा, जो आफ्नो प्रेमीलाई बाइक, स्कुटी या कारमा राखेर घुमाउँछन् । एउटा प्रेमीले प्रेमिकाको लवाइ, खुवाइदेखि लिएर सबै खर्च बेहोर्न सक्छ भने प्रेमिकाहरूले आफैँ कमाएर किन गर्न सक्दैनन् ?

यसरी अरूको कमाइमा गरेको मोजमस्तीले क्षणिक आनन्द दिए पनि भविष्यमा सकारात्मक प्रभाव पार्ला त ? के सोच्छन् दिवा सपनामा रुमलिएर हिँड्ने पे्रमिकाहरू ? केही दिनको मोजमस्तीले भविष्यमा अत्याचार र दमनको अवस्था सिर्जना गर्ला भन्ने सोच्दैनन् । लाग्छ, आफू सक्षम नभई ब्वाइफ्रेन्ड बनाउनुको आनन्द बेला–बेला झुल्किने इन्द्रेणीमात्रै पो हो कि ? त्यसैले तत्कालका लागि स्थगित गरेकी छु, ब्वाइफ्रेन्ड बनाउने रहर । लाग्दै छु, आत्मनिर्भर बन्ने बाटोमा ।

 

 

Leave A Comment