नारीको कटाक्ष

सोमबार, १३ भदौ २०७३, ०८ : ५६ भर्तृहरिको शृंगारशतक , Kathmandu
नारीको कटाक्ष

जतिसुकै चलाख मानिसको विवेक पनि अर्थात् सत्, असत् छुट्ट्याउन सक्ने सामथ्र्यरूपी दीप मृगनयनीहरूको चञ्चले आँखाको कटाक्ष नपरुञ्जेलसम्म मात्र बलिरहन्छ । नारीको कटाक्ष पर्न थालेपछि जतिसुकै बुद्धिमान भए पनि मानिस विवेकशून्य हुन पुग्दछ ।
नित्य वेदाध्ययन गर्ने र षट्शास्त्र जान्ने विद्वान्हरूका बीच विषयभोग र वासनामा नलाग्ने र नारीको संगत छोडिदिने भन्ने सम्बन्धमा कुराकानीमात्र हुन्छ । नारी–संगत छाड्ने काम भने कसैले पनि गर्न सक्दैन । पद्मरागमणि जडिएको सुनजस्तै सर्वांगसुन्दरी ठूलो र आकर्षक तिघ्रा भएकी नारीलाई कसले छाड्न सक्ला र ?
शास्त्रको रहस्य थाहा नपाउने आफूले आफैँलाई ठूलो विद्वान् सम्झँदै हिँड्ने जुन मानिस छ यदि उसले युवतीलाई जथाभावी भनेर निन्दा गर्छ र युवतीसँगको साहचर्य छोड्छ भने ऊ स्वयम् ठगिन्छ र अरूलाई पनि ठग्दछ ।
यस संसारमा मानिसले त्यतिबेलासम्म (कामिनीको कटाक्षमा नपरेसम्म) सन्मार्गमा अड्न सक्छ, इन्द्रियलाई नियन्त्रण गर्न सक्छ, लाज मान्छ, विनयपूर्ण भई नम्र व्यवहार गर्छ । कानसम्म फैलिएको कालो आँखीभुइँरूपी धनुद्वारा प्रहार गरिएको विलासिनी युवतीको कर्केनजररूपी बाण लागेर उसको हृदय घायल हुँदैन अर्थात् युवतीको अंगलाई देख्ने बित्तिकै मानिसको धैर्य टुट्न जान्छ र सन्मार्गमा रहन पुरुषलाई धौ–धौ पर्छ ।
उत्कट कामातुरताका कारणले प्रेमको वेगले हानिएका युवतीहरूले जुनसुकै उचित वा अनुचित काम पनि गर्न थाल्छन् । युवतीका यस्ता कार्यमा ब्रह्माजी पनि विघ्न पार्न डराउँदै असमर्थ हुन्छन् भने अरूको के कुरा भयो र ?

 

Leave A Comment