‘घामपानी’मा दयाहाङ र केकी

शनिबार, १८ भदौ २०७३, ०९ : ४२ शुक्रवार , Kathmandu
‘घामपानी’मा दयाहाङ र केकी

पत्रकार तथा फिल्म समीक्षक दीपेन्द्र लामाले फिल्म निर्देशन गर्ने भएका छन् । लामाले निर्देशन गर्न लागेको फिल्म ‘घामपानी’को बुधवार राजधानीस्थित मण्डला थिएटरमा एक कार्यक्रमबीच घोषणा गरियो ।

लामाकै पटकथामा बन्ने यो फिल्ममा दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा रहनेछन् । यसअघि ‘नागबेली’को पटकथा लेखेका लामाले फिल्म निर्देशन गर्ने आफ्नो योजना दश वर्षदेखिको रहेको बताए । एक वर्ष लगाएर ‘घामपानी’को पटकथा तयार पारेपछि उनले निर्माता खोज्न थालेका थिए । र, अन्ततः उनको फिल्मको निर्माण सिनेमा आर्ट प्रालिले गरिदिन लागेको हो ।
यसअघि ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘पुरानो डुंगा’ निर्माण गरेको सिनेमा आर्टलाई ‘घामपानी’को निर्माण कार्यमा हाइलाइट नेपालको साथ मिलेको छ । हाइलाइट नेपाली फिल्महरूको अनलाइन कारोबारमा परिचित नाम हो ।
सिनेमा आर्टका रामबाबु गुरुङले समीक्षक लामाको सोचाइ र पटकथा मन परेर आपूmहरू निर्माण कार्यमा सहभागी भएको बताए । फिल्मको निर्माणमा कुनै पनि कम्प्रमाइज नहुने उनले जनाए । अहिलेसम्म सिनेमा आर्टले बटुलेको अनुभवले ‘घामपानी’लाई फाइदा पुग्ने विश्वास निर्देशक लामाको छ ।
लामाका अनुसार फिल्ममा अन्तरजातीय प्रेमविवाहको कथा हेर्न पाइनेछ । दयाहाङ तामाङ युवक र केकी अधिकारी बाहुन युवतीको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा दुवै समुदायका सांस्कृतिक पक्षलाई पनि समेटिने लामाले अवगत गराए ।  असोजको पहिलो हप्ता सुरु हुने फिल्मको छायांकन सिन्धुली जिल्लाका ग्रामीण क्षेत्रहरूमा गरिनेछ । छायांकन लगभग ३० दिन लामो हुनेछ ।
दयाहाङ र केकीबाहेक यस फिल्ममा अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, प्रेमवर्षा खड्का लगायतले अभिनय गर्ने जानकारी निर्माण पक्षले दिएको छ ।

 

Leave A Comment