पूर्वका तीज गायिका

शनिबार, १८ भदौ २०७३, १० : ५१ गोपाल दाहाल , Kathmandu
पूर्वका तीज गायिका

चुलोचौका मात्र होइन राष्ट्र हाँक्नुपर्छ
कुरीति र विसंगति हामीले फ्याँक्नुपर्छ
उठ न ठूल्दिदी अघि बढ न
दिन्छौँ साथ हामी सबै हिम्मत गर न ।
झट्ट सुन्दा कुनै जनवादी गीतजस्तो लाग्ने यो गीत इटहरीकी गायिका गंगा गौतम आचार्यको तीज गीत हो । यस्तै प्रगतिवादी र मनोरञ्जनात्मक तीज गीत गाउने गंगा यो तीजमा पूर्वका विभिन्न कार्यक्रममा व्यस्त छिन् । उनी तीज गीत गाउन पूर्वका धरान, इटहरी, विराटनगरलगायत पूर्वी शहरमा दौडधुप गरिरहेकी छिन् ।
लाइभ दोहोरीसमेत गाउने गंगा २०६७ सालमा आयोजित पूर्वाञ्चल लोकगीत प्रतियोगितामा दोस्रो र सुनसरी जिल्लास्तरीय लोकगीत प्रतियोगितामा पहिलो भएकी थिइन् । लोक तथा तीज गीतका चार एल्बम बजारमा ल्याइसकेकी गंगा भन्छिन्, ‘पूर्वेली लोकगीत मन पराउने धेरै छन् । तर, तीज गीत गाउने पूर्वेलीहरू कम छन् ।’
    छमछम नाच न, कम्मर भाँच न
    लाउने छैन कसैले हामीलाई शासन...
इटहरीकी गायिका अञ्जु गौतम पनि तीजको यो बेला यस्तै गीत गाउन व्यस्त छिन् । बजारमा अनेक थरी तीज गीत चलेका बेला अञ्जु गीतमार्फत नारी अधिकारका कुरा उठाउँछिन् । तीजलाई विषय बनाएर सांस्कृतिक र प्रगतिशील गीत आउने अञ्जु कहिले धरान, कहिले विराटनगर त कहिले झापा पुग्छिन् । भन्छिन्, ‘तीजका नाममा अश्लील गीत गाएर रातारात चर्चा कमाउन मन छैन । राम्रा गीत गाउँदै बिस्तारै अघि बढ्दैछु ।’
पूर्वमै बसेर गायनमा व्यस्त अञ्जु पछिल्लो समय तीज गीतबाट चिनिएकी छिन् । सानैदेखि लोकगीत गाउने अञ्जुको २०६८ सालमा पूर्वाञ्चलव्यापी लोकगीत प्रतियोगितामा चौथो भएपछि गायनमा झनै हौसला बढ्यो । हालसम्म सातवटा लोक, तीज र आधुनिक गीतका एल्बम बजारमा ल्याएकी अञ्जुको व्यस्तताले पनि पूर्वेली लोकगायिकाको बजार बढ्दै गरेको देखिन्छ ।
पहिला पूर्वमा तीज कार्यक्रम आयोजना गर्नेहरूले तीज गीत गाउन कि कोमल वली, कि त सिन्धु मल्ल निम्त्याउँथे । तर, केही वर्षयता पूर्वमै तीज गायिकाहरू सक्रिय बन्न थालेपछि अचेल उनीहरूको ठाउँ इटहरीका अञ्जु गौतम, गंगा गौतमले लिन थालेका छन् । पूर्वमा भइरहेका कार्यक्रममा उनीहरू नै छाइरहेका छन् ।
अञ्जु र गंगाजस्तै इटहरीकै चन्दा खड्का पनि केही वर्षयता तीज गायिकाका रूपमा परिचय बनाउँदै छिन् । उनले यसपटक तीजको मौकामा ‘बाबाको आँगनीमा’ तीज गीत सार्वजनिक गरिन् । सञ्चारकर्मीसमेत रहेकी चन्दा पनि यसपटक तीजमा विभिन्न कार्यक्रममा व्यस्त बनेकी छिन् । झापाकी प्रजिता दंगाल, धरानकी हर्षु राई, मिरा धमला लगायतले पनि तीज गीत गाएका छन् । तीज गीत गाउनेहरूको संख्या बढेसँगै पूर्वका तीज कार्यक्रममा स्थानीय गायिकाहरूको माग बढ्दो छ ।
तीज गीतका नाममा देशमा छाडा र अश्लील लाग्ने गीतको बाढी चलेका बेला पूर्वेली गायिकाहरूले भने तीजका सांस्कृतिक र मौलिक गीत गाउने गरेका छन् । तीज गीतमार्फत समाज परिवर्तनको सन्देशसमेत छर्दै आएका पूर्वेली गायिकाहरू तीजबाहेक अरू बेला भने व्यावसायिक रूपमा खासै अघि बढ्न सकेका छैनन् । वर्षौंदेखिको गायन क्षेत्रमा लगानी गरेका पूर्वेली लोकगायिकाहरू आर्थिक रूपमा सन्तुष्ट नभए पनि उज्ज्वल भविष्यको पर्खाइमा छन् । गायिका अञ्जु भन्छिन्, ‘एल्बम नबिक्ने र कार्यक्रममा पनि पैसा कम पाइने हुँदा टिक्न गाह्रो छ । तर, बिस्तारै बजार राम्रो हुँदै गएकाले आशावादी छौँ ।’

 

Leave A Comment