‘महारानी’ विद्या

आइतबार, १९ भदौ २०७३, १० : ०१ शुक्रवार , Kathmandu
‘महारानी’ विद्या

‘महारानी’ विद्या
२०६२/०६३ को जनआन्दोलनले राजाको अधिकार खोसेर जनतामा ल्याएको धेरै वर्ष भएको छैन । आन्दोलनका उपलब्धिहरू अझै संस्थागत भइसकेका छैनन् । तर, राजाको ठाउँमा पुगेका जनताका छोरा÷छोरी आफैँ राजा बन्ने क्रम सुरु भएको छ । मुलुकमा गणतन्त्र स्थापनाको एक दशक पुग्दानपुग्दै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी महारानी बन्ने बाटोमा अघि बढेकी छिन् । सूचना पाउने संविधानको व्यवस्थाविपरीत राष्ट्रपति भण्डारीले मन्त्रीहरूको शपथग्रहणमा सञ्चारकर्मी प्रवेश रोक लगाएकी छिन् । त्यो पनि स्थान अभाव देखाएर । यसअघि राष्ट्रपतिले त्यही शीतलनिवासमा मन्त्री वा अन्य विशिष्ट व्यक्तिहरूको शपथमा सञ्चारकर्मीलाई सहज र सम्मानजनक प्रवेश दिए पनि उनले भने रोक लगाइन् । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रलाई मात्र प्रवेश दिएर राष्ट्रपति भण्डारी राजा/महाराजाकै बाटोमा अघि बढेकी छिन् । केही समयअघि पत्रकारहरूलाई शीतलनिवास नै बोलाएर आफ्नो तस्बिर र भाषणलाई महŒव नदिएको र अग्रभागमा नराखेको गुनासो गर्न भ्याएकी राष्ट्रपतिले आफूलाई महारानी नै ठानेकी हुन् कि कसो ?
कति खाने बधाई ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएको एक महिना पुग्न लाग्यो । दाहालको एकमहिने कार्यकालमा के भयो भन्नेर लेखाजोखा गर्न थालिसकिएको छ । तर, उनलाई भने अझै बधाई र शुभकामना ग्रहण गर्न भ्याइनभ्याइ रहेछ । दाहालकै सचिवालयले दिएको जानकारीअनुसार उनले अझै दैनिक एक घण्टा बधाई ग्रहणका लागि समय छुट्याएका रहेछन् । नौमहिने सरकारको नेतृत्व गरेका दाहालले बाँकी समय पनि बधाईमै बिताउलान् जस्तो छ । संविधानप्रति असन्तुष्ट दललाई कहिले सहमतिमा ल्याउने, निर्वाचनमा कानुन बनाउने र चुनाव गराउने त कहिले हो कहिले ? रिबन काट्न जान्न भन्ने उनको घोषणाले केही गर्लान् भनेको त घरमै बधाई र शुभकामना ग्रहण गर्न नभ्याएर पो बाहिर जान्न भनेका रहेछन्  ।
बद्नाम सहयोगी   
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका दुई चर्चित मन्त्री हुन् गगनकुमार थापा र अर्जुननरसिंह केसी । ज्वाइँ–ससुरा नै मन्त्री बन्ने सौभाग्य पाएका यी दुईका सहयोगी पनि एकै व्यक्ति छन् कि क्या हो ? मन्त्री भएका दिन दुवैको छेउमा एकै व्यक्ति छाएका थिए, सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म । देश बनाउँछु, युवाहरूको सपना साकार पार्छु भन्ने स्वास्थ्यमन्त्री थापा र शहरी विकास मन्त्री केसीसँगै देखिएका ती व्यक्ति कुनै बुद्धिजीवी होलान् भनेको त ठगी आरोपमा १३ महिना जेल बसेका व्यक्ति दीपक मुड्भरी पो रहेछन् । नुवाकोट घर भई वीर अस्पतालमा कार्यरत मुड्भरी किर्ते कागजात बनाई ६० लाख रुपैयाँ असुलेको अभियोग खेपेका व्यक्ति हुन् । देश बनाउने र युवाको सपना पूरा गर्ने बताउँदै आएका ज्वाइँ–ससुरा मन्त्रीलाई मुड्भरीको त्यस्तो के आवश्यकता परेको रहेछ ?

Leave A Comment