महिला नाच्ने, पुरूष सघाउने

आइतबार, १९ भदौ २०७३, १० : ०५ अजित तिवारी , Kathmandu
महिला नाच्ने, पुरूष सघाउने

विराटनगरस्थित बुद्धोदय सहकारीका अध्यक्ष गोविन्द दाहाल कार हाँक्दै बजार पुगे । गुदरीमा पुगेर तरकारी पसलेलाई लिस्ट थमाए । र, किराना पसलमा छिरे । किनेको सामान कारको डिक्कीमा राख्दै उनले मोबाइलमा कसैलाई भन्दै थिए, ‘तीजका नयाँनयाँ गीत पनि पेन ड्राइभमा हालेर ल्याउनु, माइक र स्पिकर गजबले बज्नुपर्छ ।’
महिला सेयर सदस्यका लागि भन्दै आयोजना गरिएको तीज महोत्सवमा बुद्धोदयका अध्यक्ष दाहाल मात्र हैन । तीजलाई भव्य बनाउन थुप्रै पुरुष सदस्य लागिपरेका छन् । उपाध्यक्ष राजेन्द्र खनालले महिला सेयर सदस्यलाई मीठो दर खुवाउन क्याटरिङसँगै आफैँ खटिरहेका थिए । ‘वर्षमा एक पटक महिलाहरूले मनाउने पर्व हो, तीज,’ अध्यक्ष दाहालले भने, ‘हामीले सघाइदिँदा उनीहरू दिल खोलेर पर्व मनाउँन पाउँछन् ।’ गायक सुमित खड्का र मणिराज दाहाल भने गीत गाएर महिलाहरूलाई नचाउने योजनामा छन् ।
‘तीज । ‘ती’ भनेको तिघ्रा नथाक्कुञ्जेल । ‘ज’ भनेको जल पनि नखाइकन नाच्ने’ इटहरीकी गायिका चन्द्रा खड्काले तीजलाई अर्थयाउँदै यसो भनेपछि त्यसपछिको गीतमा नाच्ने महिला थपिदै गए । विराटनगरकी कविता घिमिरेले तीजमा मन फुकाएर नाच्ने गरेको बताइन् । ‘साथीसंगी सबैले दर खान बोलाउँछन्,’ उनले भनिन्, ‘दर पनि खाइन्छ, मस्तले नाचिन्छ ।’
विराटनगरका होटल, पार्टी प्यालेस र हल तीजकै कार्यक्रमले भरिभराउ छन् । महिला पत्रकारहरूको समूहले आयोजना गरेको तीज कार्यक्रममा पुरूष पत्रकार पनि सहभागी थिए । पुरुष पत्रकारहरूका लागि म्युजिकल चेयर प्रतियोगिता नै आयोजना गरिएको थियो । तीजको गीतमा पुरूष पत्रकार पनि रमाउँदै नाँचे । ‘महिलाको पर्व भनिए पनि तीजमा पुरुषको सहभागिता पनि बढिरहेको छ,’ पत्रकार इन्दिरा भट्टराईले भनिन्, ‘जसले गर्दा तीज पर्वको महŒव अझै बढाइदिएको छ ।’
व्यक्तिगत, छिमेकी, नातेदार, संघसंस्था, टोल, आफू आबद्ध दल । एउटा महिलाले कम्तीमा छ पटक तीज मनाउने अवसर पाउँछिन् । ‘बोलाएपछि जानैप¥यो । आफू पनि आयोजना गरेर साथीसंगीलाई बोलाउनै पर्छ,’ राधिका शर्माले भनिन्, ‘भड्किलो र खर्चिलो पनि हुँदै गएको छ तीज ।’
ट्रेड युनियन कांग्रेसले विराटनगरको हरियाली पार्कमा आयोजना गरेको तीज कार्यक्रममा कांग्रेस नेतृ सुजाता कोइराला मज्जाले नाचिन् । ब्युटिसियन एसोसिएसनले यसै साता विराटनगरमा आयोजना गरेको तीज कार्यक्रममा पुरुषको सहभागिता बढी थियो ।
दिदीबहिनीहरू तीजकै मौकामा जमघट भएर दुःखपीडा, हाँसोखुशी साट्ने गर्छन् । ‘सबै जातिका महिलाबीच सद्भाव बढाउन पनि तीजले मद्दत गर्छ,’ नीतु कार्कीले भनिन् । विराटनगरमा मधेसी र मारवाडी महिलाको पनि तीजमा सहभागिता बढ्दो छ । तीज नमनाउने समुदायका महिलाहरू पनि तीजको दिन व्रत बस्ने, रातो सारी लगाउने गर्न थालेका छन् । तीज पर्वले सामाजिक सद्भाव मजबुत पार्न सघाएको धेरैको बुझाइ छ ।

Leave A Comment