तीज गीतः स्तरहीनताको अर्काे नाम

आइतबार, १९ भदौ २०७३, ०४ : ३९ शुक्रवार
तीज गीतः स्तरहीनताको अर्काे नाम

विवाहित महिलाले आफ्नो श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने र अविवाहित नारीले असल पति मिलोस् भन्ने कामनासहित भक्तिभाव देखाउने पर्वका रूपमा लिइँदै आएको हरितालिका पर्वमा गीतको भूमिका प्रमुख मानिन्छ । नेपाली मौलिक गीतहरूको सूचीमा पर्व गीतको छुट्टै विशेषता रहँदै आएको छ । तीज, दशैँ, तिहार, असारे गीतहरू समय सन्दर्भ मिलाएर रेडियो र टेलिभिजनबाट प्रसारण हुँदा ती गीतले चाडबाडको रौनक झनै बढाउँछन् । झमझम पानी परिरहेको बेला असारे गीत सुनियो भने त्यसको आनन्द छुट्टै हुन्छ । तीज नजिकिँदै जाँदा सम्बन्धित संगीतले हाम्रो मनस्थिति पनि तीजमय बनाइदिन्छ । बाह्रमासे गीतबाहेक अन्य सिजनअनुसारका गीत समयअनुसार बजाउँदा जति सान्दर्भिक लाग्छन्, अन्य समयमा बजाउँदा तिनको महत्व त्यति रहँदैन ।
सानो सानो खुर्सानीको बिरुवा
रिमझिमे पानीमा सारौँ बरी लै
टाढा भइगयो माइतीको देश
के गरी नजिकै सारौँ बरी लै

(स्वरः चन्द्रकला शाह /सावित्री शाह, संकलनः चन्द्रकला शाह)

विसं २०४० को दशकको सुरुतिर रेडियो नेपालमा रेकर्ड गरिएको यो तीज भाकाको दुई लाइनले नै विरह र बाध्यताभित्र रहेकी नेपाली नारीको धेरै कुरा बोलेको छ । गीतमा रिमझिम पानीको प्रसंग आउनुले यो बर्खे याम हो भन्ने बुझाउँछ । पानी पर्दाको माहौल आफ्नो माइतीघर छोडेर कर्मघर बसेकी चेलीलाई साह्रै अत्यासलाग्ने बेला भन्ने बुझाउँछ । दोस्रो लाइनमा टाढा भएको माइती देशलाई कसरी सारौँ भन्ने चिन्ता व्यक्त भएको छ । यस गीतमा तीज पर्वलाई मात्रै केन्द्रमा राखेर गीत बनेको छैन, त्यो पर्व आसपासको समयको पनि पूर्ण रूपमा व्याख्या गरिएको छ । र, यसरी गीत सशक्त बनेको छ ।

तीज गीतमा नारीहरूको सुखदुःखको अनुभव नै प्रस्तुत हुनुपर्छ । यसमा पुरुष आवाजलाई समावेश गर्नै नमिल्ने भन्ने त हुँदैन तर समावेश गर्दा गीतको कथा मिलेको हुनुपर्छ ।

तीज सम्बन्धित गीतहरूको रेकर्ड पहिलेदेखि हुँदै आए पनि यसलाई सिंगो क्यासेटका रूपमा भर्न थालिएको भने २०५० को दशकसँगै देखिन्छ । रेडियो नेपालमा बमबहादुर कार्की, चन्द्रकला शाह, शिवा आले, हरिदेवी कोइराला, ज्ञानु राणा, तारादेवीलगायत कलाकारले तीज गीतहरूलाई क्यासेटमार्फत बजारमा पठाउन सुरु गरेको पाइन्छ । सुरुमा राष्ट्रिय प्रसारणको एकमात्र माध्यम रेडियो नेपाल थियो । एउटा संस्थाबाट मात्रै गीतहरू पालैपालो बज्थे । संगीत व्यवसाय वा व्यापार बनिसकेको थिएन । रेडियो नेपालले कलाकारहरूको गीत रेकर्ड गथ्र्याे र बजाउँथ्यो । व्यावसायिक नबनुन्जेल गीतमा स्तरीयता पनि झल्किन्थ्यो ।

पचासको दशकपछि क्यासेटमा भरिएर बजार छिरेका गीतले केही हदसम्म व्यापार गर्न थाले  र आम संगीतकर्मीलाई यो गरिखाने पेशा हो भन्ने थाहा हुन थाल्यो । जब गीतहरूले एल्बमको रूप लिन थाले, बिस्तारै तिनले मौलिकता गुमाउँदै गए । गीत बेचेर पैसा कमाउन सकिन्छ भन्ने ज्ञान हुन थालेपछि आम संगीतकर्मी रातारात छोटो समयमा गीत रेकर्ड गर्दै बजार पठाउँदै गर्न थाले । लोकगीत संकलन गर्न छाडियो । बजारमा बसेका संगीतकर्मीलाई छिटो–छिटो चर्चित बन्ने ध्येयले गीतको मूल थलोतर्फ जाने फुर्सद भएन । रातारात कसरी सेलिब्रिटी बन्ने भन्ने सोचमा बगेकाहरूको दिमागमा लोकजीवनका शब्दहरू फुर्नै छाडे । लय र शब्दहरू पूर्ण रूपमा कृत्रिम हुन थाले । तर पनि, संगीतकर्मीले चाडबाड र सिजन अनुसारका गीतहरू भने रेकर्ड गर्दै गए । यसको कारण हाम्रो संस्कृतिको संरक्षण गर्ने भन्दा पनि चाडबाडको अवसरमा थप व्यवसाय गर्ने सोच हो भन्ने तथ्य त्यतिबेलाका गीत सुन्दा प्रस्ट हुन्छ ।
फरक भूगोल र फरक हावापानीमा बसेको कोही नेपालीलाई कुनै पर्व विशेष गीतको धुनमात्र बज्दा पनि अब देशमा फलानो चाड सुरु भएछ भन्ने थाहा हुन्थ्यो, कुनै बेला । तर, हिजोआज गीतको लय सुनेर मात्रै पटक्कै थाहा हुँदैन, यो कुन पर्वको गीत हो भनेर । धेरै नारीहरू एकै ठाउँ जम्मा भएर रातो पहिरनमा तीज भन्ने शब्द नै गीतमा उच्चारण गरेर नाचेको दृश्य हेरेर मात्रै यो तीज पर्व हो भन्ने थाहा हुन्छ ।

पछिल्लो डेढ दशकदेखि तीज गीतमा पुरुषहरूको उपस्थिति हुन थाल्यो । तीज गीतको कथामा पुरुष पात्र आउनु स्वाभाविक मानिन्छ, तर पुरुष पात्र नै प्रस्तुत भएर त्यसैको हालीमुहाली रहनु भनेको त्यति सुहाउँदिलो लाग्दैन । गीत सन्देशमूलक र समसामयिक छ भने त्यसमा पुरुषको सहभागिता स्वाभाविक लाग्छ ।
हिजोआजका तीज गीतहरू अति नै सामान्य (मिडिओकर) सिर्जना लाग्छन् । स्तरहीनताको अर्काे नाम नै तीज गीत भएको छ भन्दा पनि हुन्छ । यो तीतो भए पनि निर्मम सत्य हो ।

राम्रो शब्द, संगीत र स्वर भरिएको गीतको भिडियो नबने पनि स्रोताले गीत सुन्दै जाँदा आफ्नो मस्तिष्कमा सो गीतको भिडियो तयार गरिसकेको हुन्छ ।
हामफालेर मरौँ कि त्रिशुलीको पानीमा
घरमा बसौँ सौता छ, माइत सानीमा  

यो गीत ६२÷६३ सालतिर शर्मिला गुरुङले गाएकी हुन् । यो गीतको अडियो सुन्दा नै हाम्रो कल्पनामा गीतको परिस्थिति, कथा र व्यथा भिडियोसरी पूरै झल्किन्छ ।

 हिजोआज अन्य सिजनमा गाउँदा पनि मिल्ने मायाप्रेमका भनिएका उत्ताउला शब्दहरू प्रयोग भएका गीतहरूमा धेरै महिलाको बीचमा एउटा हास्यास्पद लाग्ने पुरुष पात्र अप्ठ्यारो मानीमानी उफ्रेको दृश्य टीठलाग्दो हुन्छ । अझ गाउँघरमा रत्यौलीमा पुरुष पात्र बनेर नाचेकी महिलाजस्तो लाग्छ त्यो पुरुष ।

रातारात हिट हुने, देशविदेशका स्टेजमा प्रस्तुति दिन पाइने प्रलोभनले आधुनिक शब्दहरूको नमिल्दो जालमा अप्ठ्यारो लयलाई जेलेर गीत बनाउँदा केही समय त स्रोता दर्शकले अनौठो मानेर सुन्लान् तर यस्ता गीतको आयु अति नै छोटो हुन्छ । यसको उदाहरण ती गीत हुन्, जो एक सिजन चर्चित त हुन्छन् तर त्यसपछि तिनलाई कसैले सम्झँदैन । एउटा वर्ष चर्चित भनिएका तीज गीतहरू पछिल्लो वर्ष नामोनिशान नै नरहने गरी हराउँछन् ।
हामी नेपालीको आफ्नो संगीत भनेको लोकसंगीत नै हो । हाम्रो आफ्नोपन यसैमा सहजतासाथ देखाउन सकिन्छ । लोकगीतका भिडियो पनि लोक परिवेशमै बन्नु आवश्यक छ । हिजोआज युट्युबमा भ्युअर्स बढाउन र रातारात चर्चित बन्नका निम्ति जुन अभ्यास कलाकार तथा भिडियो निर्माता–निर्देशकले अवलम्बन गरेका छन्, त्यसले नेपाली संगीतको नै गलत व्याख्या गरिरहेको छ । हरेक कलाकारले आफूखुशी गीत बनाउन पाउनुपर्छ र हरेक खालको संगीत सिर्जना गर्न उसलाई छुट छ । तर, यसैको बहानामा समाजमा विकृति बढाउने र आफ्नै परिवारसँग बसेर हेर्न नसकिने भिडियो प्रस्तुत गर्नाले स्वयं व्यक्तिको विवेक र ज्ञानको दायरामाथि प्रश्न त उठ्छ नै, हाम्रा भावी सन्ततिले नेपाली संगीतको गलत परिचय पाउने खतरा पनि रहन्छ ।

(लोकगायक अञ्जान बाबुका ‘चरी लैजा समाचार’, ‘मै उडी जाने कहाँ’ लगायत गीत चर्चित छन् । उनले हिट्स एफएम म्युजिक अवार्ड २०७१ र ७२ प्राप्त गरेका छन् ।)  

 

Leave A Comment