कलाकारका श्रीमतीका तीज

आइतबार, १९ भदौ २०७३, ०५ : ३७ शुक्रवार
कलाकारका श्रीमतीका तीज

सपना भण्डारी, आर्यन सिग्देलकी श्रीमती
बिहेअघिदेखि नै तीजको व्रत बस्थेँ । तीजको दिन बिहान नुहाइधुवाइ गरी मन्दिर जाने, पूजाअर्चना गर्ने, नाचगान गर्ने र साँझ फेरि पूजा गरी पानी र फलफूल खाने गर्छु । विवाहपछि चाहिँ श्रीमान्को सुस्वास्थ्य, उन्नति, प्रगतिका लागि व्रत बस्ने गरेकी छु । विवाहअघिदेखि नै तीजका दिन घरका अरू सदस्यसँग फिल्म हेर्न जान्थ्यौँ । एक पटक उहाँको ‘कोही मेरो’ भन्ने फिल्म हेर्न पुगेकी थिएँ । त्यो फिल्मपछि म उहाँलाई मन पराउन थालेँ । र, आज म उहाँको श्रीमती भएकी छु ।
विवाहपछिको मेरो पहिलो तीजमा उहाँले मलाई सुनको गहना उपहार दिनुभएको थियो । अहिले उहाँ अस्ट्रेलियामा हुनुहुन्छ । तर, अस्ट्रेलिया जानुअघि नै तीजको गिफ्ट सारी दिएर जानुभयो । यसपालि तीजमा पनि सधैँझैँ व्रत बस्ने र साँझमा उहाँसँग स्काइपमा कुरा गरेर मात्र पानी खाने योजना छ । तीजका बेला उहाँ प्रायः सुटिङमै व्यस्त हुने भएकाले उहाँसँग तीज मनाउने अवसर जुटेको छैन ।

रमिला पाठक, हरिवंश आचार्यकी श्रीमती

मलाई तीज रमाइलो लाग्छ । दिदीबहिनी, परिवारका हरेक सदस्यसँगै मीठामीठा परिकार खान र नाचगान गर्न पाइने भएकाले तीज विशेष लाग्छ । विवाहपछिको पहिलो तीज मैले श्रीमान्सँगै घरमै मनाएको थिएँ । मलाई बाहिरभन्दा घरकै सदस्यहरूसँग रमाइलो लाग्छ । मलाई मिठाइमा रसवरी एकदमै मन पर्ने हुँदा उहाँले रसवरी, फलफूल, मिठाइ ल्याइदिनुहुन्छ । तीजमा व्रत बस्ने, मन्दिर जाने र बेलुका श्रीमान्को हातबाट पानी र फलफूल खाने गरेको छु ।

मुना नेपाल, जीतु नेपालकी श्रीमती

विवाहपछि मात्र मैले तीजको व्रत बस्न थालेकी हुँ । दर खान माइत गइन्छ तर तीज चाहिँ श्रीमान्कै घरमा मनाइन्छ । दिउँसो पानी पनि नखाई व्रत बस्छु र बेलुका उहाँको खुट्टाको पानी खान्छु । त्यसपछि उहाँले मलाई जुस खुवाउनुहुन्छ । तीजमा उहाँले गिफ्टभन्दा पनि आफूलाई मन पर्ने सामान किन्नका लागि पैसा नै दिनुहुन्छ । दर खाने दिनमा पनि विभिन्न मासुका परिकार बनाएर खुवाउनुहुन्छ ।

प्रस्तुति : सन्जिना श्रेष्ठ

Leave A Comment