जुनु–रामचन्द्रको यसपालीको तीज

आइतबार, १९ भदौ २०७३, ०६ : ११ शुक्रवार
जुनु–रामचन्द्रको यसपालीको तीज

गायिका जुनु रिजाल र गायक रामचन्द्र काफ्ले जोडीको यो दशौँ तीज हो । प्रायः तीज सँगसँगै मनाउने अवसर जुट्छ उनीहरूलाई । ‘दुइटा तीजमा चाहिँ सँगै भइएन,’ जुनुले यसपालिको तीज पनि सँगसँगै गाउँदै, नाच्दै मनाउने योजना सुनाइन् । जुनु प्रायः व्रत बस्छिन् । पूरा दिन बस्न भने सक्दिनन् । बिहेअघि कैयौँपटक पानी नखाएर व्रत बसेकी उनी बिहेपछि कठोर व्रत बस्न आवश्यक ठान्दिनन् । ‘आफूले चाहेको मान्छे पाइसकेपछि किन कठोर व्रत बस्नु ?’ उनी भन्छिन्, ‘फेरि कार्यक्रमहरू परिराख्छन् । कार्यक्रममा जाँदा भोकै बोल्न, गाउन सकिन्न ।’

रामचन्द्र पनि तीजमा असाध्यै रमाउँछन् । उनलाई तीज दसैँभन्दा रमाइलो लाग्छ । ‘बिहेअघिका तीज खल्ला हुन्थे,’ उनी भन्छन्, ‘जुनु घरमा आइसकेपछि हरेक तीज रमाइला लाग्छन् ।’ रामचन्द्रलाई जुनुले बनाउने ‘चिकेन अचार’को स्वाद लिन तीजै कुर्नुपर्छ । रामचन्द्र र जुनु यसपालि तीजको हप्ता दिनअघि नै विराटनगरस्थित माइती पुगे । कार्यक्रमका शिलशिलामा उनीहरू विराटनगरबाट फर्केर चितवनस्थित घरमा पनि जाँदै छन् । ‘तीजको दिन स्याङ्जामा कार्यक्रम परेकाले घरमा तीज मनाउन पाइने छैन,’ रामचन्द्रले भने, ‘जता भए पनि तीज रमाइलो गरी मनाइन्छ ।’ रामचन्द्र घर, माइती सबैतिर दिदीबहिनी, आमाहरूलाई तीजमा गिफ्ट दिन्छन् । गिफ्ट किन्ने जिम्मा जुनुको हुन्छ । उनी त्यही गिफ्ट किन्दै गर्दा आफूलाई पनि सारी, चुरालगायत सपिङ गरिहाल्छिन् ।     
 

 

Leave A Comment