खेलाडी र प्रशिक्षकको खराब सम्बन्ध

सोमबार, २० भदौ २०७३, १० : ०३ शुक्रवार , Kathmandu
खेलाडी र प्रशिक्षकको खराब सम्बन्ध

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रमुख प्रशिक्षक जोसे मोरिन्हो र मिडफिल्डर बास्टियन स्वाइन्सटाइगरबीचको सम्बन्ध बिग्रिएको छ । मोरिन्होले फ्रेन्च स्ट्राइकर पोग्बालाई १० करोड ५० लाख डलरमा अनुबन्ध गरेपछि स्वाइन्सटाइगरसँगको सम्बन्ध चिसिएको हो । प्रशिक्षकसँगको सम्बन्ध खराब भएका कारण उनले अब पहिलो सेटमा मौका पाउन मुश्किल देखिएको छ । खेलाडीसँगको सम्बन्ध सुमधुर नभए पनि प्रशिक्षक मोरिन्होले उनीहरूसँगको सम्झौता नतोड्ने तर खेलाडीले चाहेमा क्लब छाडेर जान सक्ने स्पष्ट पारेका छन् । स्वाइन्सटाइगरले तत्काल युनाइटेड छाड्न चाहेका छैनन् । उनले अमेरिकी लिगमा खेल्न अफर आएको भए पनि म्यानचेस्टर युनाइटेडबाट खेल्नु नै आफ्नो सपना भएको बताउँदै आएका छन् । बायर्न म्युनिखबाट गएको सिजनमा युनाइटेडमा आबद्ध हुँदा स्वाइन्सटाइगरले प्रतिहप्ता १ लाख ६० हजार पाउन्डको सम्झौता गरेका थिए । अहिले पहिलो सेटबाट खेल्न नपाए पनि उनले सम्झौताअनुसारकै रकम हात पारिरहेका छन् । मोरिन्होले युनाइटेडमा युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेका छन् । जसका कारण पनि उनले ३२ वर्षे स्वाइन्सटाइगरलाई पहिलो सेटमा नै मैदान उतार्न नचाहेका हुन् ।

Leave A Comment