पूउप्रको कुर्सी

बुधबार, २२ भदौ २०७३, ०९ : ४० ईश्वर दाहाल , Kathmandu
पूउप्रको कुर्सी

अस्पतालको वातावरण एकाएक तरंगित भयो । पूर्वउपप्रधानमन्त्री (पूउप्र) उपचारका लागि अस्पताल आएपछि अस्पतालमा दौडधुप देखिनु स्वाभाविकै थियो । विशेषज्ञ डाक्टरहरू आकस्मिक कक्षमा तम्तयार थिए । पूउप्र गाडीबाट झरेर आकस्मिक कक्षमा छिरे । हिँडाइ हेर्दा सिकिस्त बिरामी होइनन् भन्ने स्पष्ट थियो । अनुहार भने अति मलिन र ऊर्जाहीन देखिन्थ्यो ।
पूउप्रलाई डाक्टरले बेडमा सुत्न आग्रह गरे । तर, उनी भने सुनेको नसुन्यै गरी कुुर्सीमा बसे । डाक्टरले फेरि भने, ‘मन्त्रीज्यू, यता खाटमा सुत्नुस् न ।’ पूउप्रले सुनेको नसुन्यै गरे । डाक्टर अलमलमा परेपछि पूउप्रकी श्रीमतीले दिक्क मान्दै भनिन्, ‘डाक्टरसापले भन्नुभएको यता बेडमा सुत्नू रे । जाँच गर्नुप¥यो रे ।’ श्रीमतीको आग्रहलाई पनि उनले हावामा उडाइदिए । सबैको ध्यान पूउप्रमा थियो । तर, उनी भने आफ्नै धुनमा देखिन्थे । उनको अनुहारमा गहिरो थकान र उदासी थियो । उनी टोलाइरहेका थिए । डाक्टर र श्रीमतीको केही सीप नलागेपछि पार्टी नेता अघि सरे र भने, ‘अध्यक्षज्यू, ‘तपार्इं यता बेडमा सुत्नुप¥यो ।’
‘म सुत्दिनँ ।’ उनको दृढ जवाफ थियो ।
‘बेडमा नसुती कसरी चेकअप गर्ने ?’ नेताले भने ।
‘म बेडमा त सुत्दै सुत्दिनँ । यहीँ ठिक छ ।’ पूउप्रले झर्कंदै भने । नेता र अर्काे एकजना सहयोगीले जबर्जस्ती उठाउन खोजे । पूउप्र जंगिनुभयो,  ‘तपाईंहरू पनि मलाई कुर्सीबाट उठाउन खोज्ने ? म मरे पनि याँ’बाट उठ्दिनँ ।’ नेताले नम्र स्वरमा सम्झाए, ‘भनेको मान्नुस् न, उपचार गर्नुप¥यो नि ।’ पूउप्रले कुनै प्रतिक्रिया जनाउनुभएन । बरु झन् दह्रो गरी कुर्सी समाएर बस्नुभयो । नेताले हार माने र डाक्टरलाई भने, ‘यसो गरौँ डाक्साप, अध्यक्षज्यूलाई कुर्सीमै उपचार गरौँ ।’ डक्टर तीनछक परे । आफ्नो दशकौँ लामो करिअरमा उनले यस्तो घटना कहिल्यै देखेका थिएनन् । बेड नपुगेर बरु एउटै बेडमा दुईतीनजना बिरामीलाई उपचार गरेका थिए । कतिपय अवस्थामा भुइँमै बिरामीको उपचार गर्नुपरेको थियो । तर, बिरामी भएर आकस्मिक कक्षमा ल्याइएको बिरामीलाई कुर्सीमा बसालेर उपचार गरेको अनुभव उनीसँग थिएन ।
‘खाना नर्मल नै खानुहुन्छ ?’ डाक्टरले श्रीमतीजीलाई सोधे ।
‘काँ खानु ? पन्ध्रबीस दिन भइसक्यो । खानामा पटक्कै रुचि छैन ।’ पूउप्रकी श्रीमतीले भनिन् ।
‘अनि निन्द्रा नि ?’
‘निदाउन त उहाँले बिर्सिसक्नुभए जस्तो छ । पछिल्ला दश रात त आँखा झिमिक्क पनि गर्नुभएको छैन ।’
डाक्टरले श्रीमती र नेतालाई अर्काे कोठाएमा बोलाए । ‘उहाँलाई भएको चाहिँ के ?’ डाक्टरले श्रीमतीजीलाई सोधे । अघि सर्दै नेताले भने, ‘अघि बाहिर देखिहाल्नुभयो नि । लक्षण त्यही हो ।’
‘मतलब ?’ डाक्टरले आश्चर्य मान्दै सोधे ।
यसपटक श्रीमतीजीले जवाफ दिइन्, ‘केही बोल्नुहुन्न, टोलाएर मात्रै बस्नुहुन्छ । सबैभन्दा समस्या चाहिँ कुर्सीले पा¥यो । कुर्सीबाहेक कहीँ बस्न मान्नुहुन्न । बीसपच्चिस दिन अगाडिसम्म त अलि बढी कुर्सीमा बस्न खोज्नुहुन्थ्यो । तर, हिजोआज त एक मिनेट पनि कुर्सी छाड्दै छाड्नु हुन्न । खान खान भान्छामा जाऊँ भन्दा पनि नमानेपछि हामीले अग्लो र राम्रो कुर्सीको व्यवस्था ग¥यौं । कुर्सीको व्यवस्था गरेपछि किचनमा त छिर्नुहुन्छ तर पटक्कै खाना खानुहुन्न । चारपाँच रातदेखि त राति सुत्न समेत बेडमा जानुहुन्न, कुर्सीमै बसिरहनुहुन्छ । निदाउनुभयो भने पनि कुर्सीमै निदाउनुहुन्छ । अस्ति राति त कुर्सीमै बरबराउनुभयो ।’
‘बरबराउँदा के भन्नुभयो ?’ लक्षण नोट गरिरहेका डक्टरले लेख्न रोकेर सोधे ।
‘धेरै कुरा त बुझिएन । तर, यो मोर्चालाई मैले जान्या छु भन्दै दाह्रा किट्नुभयो । त्यसपछि मधेशी कार्ड पनि काम नलाग्ने भयो, थारु कार्डले पनि काम गरेन भन्नुभयो ।’ श्रीमतीजीले पुलुक्क डक्टरको अनुहारमा हेर्दै थप भन्नुभयो ‘त्यसपछि निन्द्रामै कुर्सीलाई च्याप्प समातेर म छाड्नेछैन,  छाड्नेछैन भन्दै चिच्याउनुभयो र ब्युँझनुभयो ।’
डाक्टरले अरू पनि केही लक्षण छ कि भन्ने शैलीमा श्रीमतीजीको अनुहारमा हेरे । श्रीमतीजीले ठूलै कुरा सम्झिएजसरी भन्नुभयो ‘अनि अर्काे कुरा, कतै साइरन बजेको आवाज सुनेपछि जुरुक्क कुर्सीबाट उठ्नुहुन्छ र ल अब सिंहदरबार जाऊँ भन्नुहुन्छ । फेरि के सोच्नुहुन्छ कुन्नि, थ्याच्च कुर्सीमै बस्नुहुन्छ ।’ श्रीमतीजीले चिन्तित अनुहार थप चिन्तित बनाउँदै भन्नुभयो, ‘खाना पनि खानुहुन्न । सुत्दा पनि सुत्नुहुन्न । गलेर निकै कमजोर भइक्नुभयो ।’
डाक्टर सोचमग्न देखिए । व्यथा पहिचान गर्न उनलाई मुश्किल परेको उनको अनुहारमा प्रस्ट देखिन्थ्यो ।

Leave A Comment